Advertisement
Advertisement
Corporate Samachar
८ असार २०८३, सोमबार
Advertisement

तनहुँमा दूध उत्पादनमा वृद्धि, किसानलाई करिब एक करोड रुपैयाँ अनुदान वितरण

तनहुँमा दूध उत्पादनमा वृद्धि, किसानलाई करिब एक करोड रुपैयाँ अनुदान वितरण
विज्ञापन
Advertisement

दमौली (तनहुँ) । पशुपालनमा कृषकको आकर्षण बढेसँगै तनहुँमा दूध उत्पादनमा वृद्धि भएको छ। जिल्लाका स्थानीय तथा भेटेरिनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्रले अनुदानको कार्यक्रम ल्याएपछि कृषक पशुपालनतर्फ आकर्षित भएका छन् । त्यसकारण जिल्लामा दूध उत्पादनमा वृद्धि भएको छ।

विज्ञापन
Advertisement
Advertisement

आर्थिक वर्ष २०८१/८२ मा जिल्लामा ७४ हजार ७५५ मेट्रिकटन दूध उत्पादन भएको कार्यालय प्रमुख रविनसन अधिकारीले जानकारी दिए । अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा ७३ हजार ५७२ मेट्रिकटन दूध उत्पादन भएको थियो । उनका अनुसार एक हजार १८२ मेट्रिकटन दूध उत्पादनमा वृद्धि भएको छ । जिल्लाभर १३ हजार ९९२ दुधालु गाई, २१ हजार ५०३ दुधालु भैँसीको सङ्ख्या रहेको कार्यालयले जनाएको छ । दुधालु गाईको सङ्ख्या ३०४ र भैँसीको सङ्ख्या २६१ ले वृद्धि भएको छ ।

यस्तै जिल्लामा ऊन उत्पादनसमेत वृद्धि भएको छ। आर्थिक वर्ष २०८१/८२ मा २८९ किलो ऊन उत्पादन भएको छ । आर्थिक वर्ष २०८०/८१ मा २७३ किलो ऊन उत्पादन भएको थियो । जिल्लामा भेडाको सङ्ख्या ७२३ रहेको छ । तनहुँ दूध, मासु र अण्डामा आत्मनिर्भर छ । प्रतिव्यक्ति ९१ लिटर दूध आवश्यकता पर्नेमा ११८ दशमलव ५४ लिटर उपलब्धता रहेको अधिकारीले बताए । त्यस्तै प्रतिव्यक्ति १४ किलो मासु आवश्यक पर्नेमा १४ दशमलव ४१ किलो उपलब्धता रहेको छ। अण्डा ४८ गोटा आवश्यक पर्नेमा ८३ गोटा उपलब्धता छ। दूधमा २७ दशमलव ५४ लिटर, मासुमा शून्य दशमलव ४१ किलो र अण्डामा ३५ गोटाले बढी छ । माछामा भने तनहुँ आत्मनिर्भर बन्न सकेको छैन। प्रतिव्यक्ति सात किलो माछा आवश्यक पर्नेमा शून्य दशमलव २८ किलो मात्रै उपलब्धता छ ।

दूधमा अनुदानबापत ९७ लाख वितरण

कार्यालयले दुग्ध उत्पादक कृषकलाई ९७ लाख ४१ हजार ५३४ अनुदान वितरण गरेको छ। दुग्ध उत्पादक कृषकलाई पशुपालनमा प्रोत्साहन गर्ने उद्देश्यसहित कार्यालयले आर्थिक वर्ष २०८१/८२ मा ११ सहकारीमार्फत उक्त रकम वितरण गरेको हो ।

केन्द्रमार्फत दूधमा अनुदान वितरण कार्यक्रम दोब्बरले वृद्धि भएको छ । गत आर्थिक वर्ष २०८०/८१ मा कृषकलाई ४३ लाख ७३ हजार रुपैयाा अनुदान वितरण गरिएको थियो । अधिकारीका अनुसार उत्पादनका आधारमा अनुदान दिने नीतिका कारण दुग्ध उत्पादनतर्फ कृषक आकर्षित भएका हुन् । ‘दुग्ध उत्पादनमा कृषकलाई आकर्षित गराउने उद्देश्यसहित प्रतिलिटर रु तीनका दरले अनुदान वितरण गरेका छौँ ।’
रासस

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit