काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको आसन्न ११औँ राष्ट्रिय महाधिवेशनमा सहमति भएमा आफू पार्टीको अध्यक्षमा पुनः रहनसक्ने बताएका छन् ।
प्रेस चौतारी नेपालद्वारा आज आयोजित सम्पादकहरूसँगको संवाद कार्यक्रममा अध्यक्ष ओलीले महाधिवेशनले यथास्थितिमा केही परिवर्तन दिने र नेतृत्वमा क्रमशः पुस्तान्तरण तथा हस्तान्तरण हुने विश्वास व्यक्त गरे । उनले कुनै पूर्वसर्त राखेर आफूले कुनै दबाबमा काम नगर्ने स्पष्ट गर्दै बाहिर प्रस्ताव दिनुभन्दा पार्टीभित्र बसेर सहमतिको पहल गर्न वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललगायतका नेतालाई आग्रह गरे ।
‘अब मेरो अध्यक्ष उठ्ने नउठ्ने भन्ने कुरामा फेरि पनि आशा छ, मेरो विरुद्ध कोही नउठ्ला र म निर्विरोध जित्छु भन्ने छ ।’ उनले यसबारे भोलि बैठक बसेर टुंगिने उनको भनाइ थियो । पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले एमाले लामो इतिहास भएको पार्टीका रूपमा रहेको बताउँदै यो जनचाहना अनुसार चल्ने पार्टी भएकाले यसले देश बनाउने मार्गमा आफूलाई सक्रिय बनाइरहेको उल्लेख गरे । एमालेलाई सिध्यायौँ भन्नेहरूले एमालेको हैसियत हेर्न मङ्सिर २७ गते भक्तपुरको सल्लाघारीमा हुने महाधिवेशनको उद्घाटनसत्रमा आउन आग्रह गरेका छन् ।
अध्यक्ष ओलीले संसद् पुनःस्थापनालगायत राष्ट्रिय राजनीतिका विषयमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँगको भेटमा संवाद भएको जनाउँदै एमाले संसद् पुनःस्थापनाको पक्षमा रहेको पुनः बताए । अदालतको फैसलालाई चित्त नबुझे पनि मान्दै आएको सन्दर्भ उल्लेख गर्दै अध्यक्ष ओलीले गत भदौ २३ र २४ गतेको आन्दोलनबारे छानबिन गर्न गठित जाँचबुझ आयोगमा आफूले बयान दिन जानुपर्ने कानुनी व्यवस्था नभएको जिकिर गरे ।
एमालेको महाधिवेशन यही मङ्सिर २७ गतदेअि २९ गतेसम्म हुँदैछ ।

















प्रतिक्रिया दिनुहोस्