काठमाडौं । नेपालको हवाई यातायात क्षेत्रमा यती एअरलाइन्सले २८ वर्ष पूरा गरेको छ।
सन् १९९८ मा व्यावसायिक उडान सुरु गरेको कम्पनीले पछिल्लो एक वर्षमा ९ लाख यात्रुलाई सेवा प्रदान गरेको जनाएको छ। कम्पनीका अनुसार २८ वर्षको यात्रामा यात्रुको विश्वास, उड्डयन सुरक्षा, सेवा गुणस्तर र समग्र यात्रु अनुभवलाई प्राथमिकतामा राख्दै आएको छ। पछिल्लो एक वर्षमा ९ लाख यात्रुलाई सेवा दिन सफल हुनु नेपाली यात्रुमाझ कम्पनीप्रतिको निरन्तर विश्वासको महत्वपूर्ण सूचक भएको यतीको भनाइ छ।
बढ्दो प्रतिस्पर्धा, सञ्चालन लागत, विमानस्थल पूर्वाधार, मौसमजन्य अवरोध तथा सडक यातायातसँगको प्रतिस्पर्धाबीच पनि हवाई सेवा सञ्चालन गर्दै आएको कम्पनीले जनाएको छ। यात्रु संख्या मात्र नभई सेवा विश्वसनीयता, सञ्चालन दक्षता र ग्राहक अनुभवलाई समेत आफ्नो व्यावसायिक सफलताको आधारका रूपमा लिएको यतीले स्पष्ट पारेको छ। यात्रुको बदलिँदो अपेक्षालाई ध्यानमा राख्दै टिकट बुकिङ, विमानस्थल सेवा, सूचना प्रवाह र उडान अनुभवलाई थप सहज बनाउने प्रयास भइरहेको कम्पनीले जनाएको छ।
यात्रुका सुझाव तथा प्रतिक्रियालाई सेवा सुधारको आधार बनाउँदै डिजिटल माध्यम र ग्राहक सम्पर्क प्रणालीलाई प्रभावकारी बनाउनेतर्फ समेत कम्पनी केन्द्रित रहेको छ। यती एअरलाइन्सले उड्डयन सुरक्षालाई आफ्नो व्यवसायको मुख्य आधारका रूपमा राख्दै सञ्चालन प्रक्रिया, प्राविधिक निगरानी, चालक दल तथा प्राविधिक जनशक्तिको तालिम र सुरक्षा व्यवस्थापन प्रणालीमा निरन्तर सुधार गर्दै आएको दाबी गरेको छ । नेपालको पर्यटन, व्यापार, स्वास्थ्य, शिक्षा तथा आन्तरिक आवागमनमा हवाई यातायातको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै कम्पनीले विभिन्न प्रमुख शहर तथा पर्यटकीय गन्तव्यलाई हवाई सेवामार्फत जोड्दै आएको जनाएको छ ।
२८औँ वार्षिकोत्सवको अवसरमा यतीले आगामी दिनमा यात्रुको मागअनुसार सेवा सुधार, सञ्चालन दक्षता अभिवृद्धि, डिजिटल प्रविधिको प्रयोग तथा यात्रु अनुभवलाई थप सहज बनाउने विषयलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाएको छ। सुरक्षित, भरपर्दो र यात्रुमैत्री हवाई सेवामार्फत आफ्नो यात्रालाई निरन्तरता दिने कम्पनीको भनाइ छ ।















प्रतिक्रिया दिनुहोस्