काठमाडौं । नवनियुक्त भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री कुमारसिंह इङनामले नेताहरुले बिचौलियाहरुलाई टाउकोमा राख्दा नागरिकहरुले दुःख पाएको टिप्पणी गरेका छन्। देशमा जमिन बाँझो हुँदै जानुमा सबै दोष नेताहरुको भएको उनको भनाइ छ ।
शुक्रबार सिंहदरबारस्थित मन्त्रालयमा पदभार ग्रहण गर्दै उनले देशमा रोजगारीको राम्रो अवसर नभएकोले नै युवाहरु विदेश जान बाध्य भएको उल्लेख गर्दै जमिनहरु बाँझो हुदैँ गएको धारणा राखे । तर, बाँझो जमिनलाई उब्जाउ भूमिमा परिणत गराउन अघिल्ला नेतृत्वले कुनै काम नगरेकाले त्यसको दोषी उनिहरुनै भएको उनको ठम्याइँ छ ।
उनले भने, ‘अर्को कुरा देशमा रोजगारीको राम्रो अवसर नभएको हुनाले युवाहरु विदेश गएको र त्यसकारणले पनि जमिनहरु बाझो हुदैँ गएको छ । यसमा सबै दोष नेताको छ । मैले कुनै नेतामाथि व्यक्तिगत रुपमा आरोप लगाएको होइन् । नेताको काम नेतृत्व दिने हो जनताको हित कसरी हुन्छ भनेर सोच्ने हो । तर यस्तो कामहरु केही पनि गरेको देखिएन् ।’
यस्तै उनले नेताहरुले कमीशन खानको लागि बिचौलियाहरुलाई टाउको वा गोजिमा राखेर हिड्ने गरेकाले नागरिकहरुले दुःख पाएको बताए ।
उनले भने, ‘नेपाल पहिलादेखि नै कृषिकर्म गर्दै आएको देश हो । कृषि सहजताका साथ गर्न सक्ने अवस्थामा पनि छौं। तर यसको उपयोग हुन सकेन । यसमा केही दोषहरु छन् । उत्पादन भएको सामानलाई बजारीकरण गर्न सकेनौं। दोस्रो कुरा हामीले बिचौलियाहरुलाई धेरै प्राथमिकता दियौं, नेताहरु पनि आफैँ लागे बिचौलियाहरुलाई टाउकोमा राख्न, गोजिमा राखेर हिडे’ मन्त्री इङनामले भने, ‘कमीशन खानको लागि नेताहरुले बाटो विराए । यसले गर्दा नागरिकहरुले दुःख पाएका हुन् ।’
मन्त्री इङ्नामले बाँझो जमिनको अधिकतम उपयोग गर्नुपर्नेमा जोड दिए । ‘नेपालको जमिन उर्बर छन्, भूउपयोग कमजोर छ, कृषिमा धेरै नेपाली आश्रित छन्, किसानलाई सहजीकरण र उत्पादनको बजारीकरणलाई प्राथमिकता दिन्छौँ’, उनले भने।

















प्रतिक्रिया दिनुहोस्