Advertisement
Advertisement
Corporate Samachar
९ जेष्ठ २०८३, शनिबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

जलजला आलुको बीउमा आत्मनिर्भर, पालिकाको अनुदानले किसानलाई ढुवानी र भण्डारणमा सहज

जलजला आलुको बीउमा आत्मनिर्भर, पालिकाको अनुदानले किसानलाई ढुवानी र भण्डारणमा सहज
विज्ञापन
Advertisement

म्याग्दी । जिल्ला सदरमुकाम बेनीबजारसँगै रहेको पर्वतको जलजला गाउँपालिका बीउ आलुमा आत्मनिर्भर बनेको छ। राष्ट्रिय आलु बाली अनुसन्धान केन्द्रसँग समन्वय गरेर कम उत्पादन क्षमता भएको पुरानो बीउलाई विस्थापित गरी गुणस्तरीय बीउ उत्पादन गरिएको हो ।

विज्ञापन
Advertisement
Advertisement

राष्ट्रिय कृषि अनुसन्धान परिषद्ले सिफारिस गरेको रोग प्रतिरोधात्मक क्षमताको पूर्वमूलबीउलाई पिबिएम प्रविधिबाट (बियाँबाट आलुको बीउ उत्पादन) गरेर आत्मनिर्भर बनाइएको गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यले जानकारी दिइ । उनका अनुसार उत्पादन क्षमता कम भएको पुरानो बीउको प्रयोग हुँदा उत्पादन, गुणस्तर र रोगकीराको समस्या देखिएपछि २०७९ सालमा जलजला गाउँपालिका–६ लाम्पाटाको बराहटोलमा खुमल सेतो १, खुमल उज्वल, जनकदेव, खुमल रातो र कार्डनल जातको आलुको ५३ हजार २०० सय दाना रोपेर पहिलो पुस्ताको बीउ उत्पादन थालिएको थियो ।

‘लाम्पाटामा पूर्वबीउका साथै सल्यानलगायतका ठाउँमा उत्पादन हुने दोस्रो र तेस्रो पुस्ताको आलुको बीउ खरिद गरेर चिस्यानगृहमा भण्डारण गरी किसानलाई सहुलियत दरमा उपलब्ध गराएका छौँ’, अध्यक्ष आचार्यले भने, ‘गत वर्ष उत्पादन भएको दुई हजार २५२ बोरा बीउ पालिकाका किसानलाई पुगेर पनि अन्य जिल्लामा बिक्री गरेका छन् ।’ पिबिएम प्रविधिबाट उत्पादन भएको आलुको बीउ पाँच पुस्तापछि खानयोग्य हुन्छ । यसअघि जलजलाका किसानले करिब ५० वर्ष पुरानो बीउ प्रयोग गर्दै आएका थिए । पुरानो बीउ लगाउँदा एक बोराबाट सातदेखि १० बोरासम्म उत्पादन हुने गरेकामा नयाँ बीउ लगाउँदा एक बोराले २० बोरासम्म उत्पादन दिन थालेको किसानले बताएका छन् ।

गाउँपालिकाका उपाध्यक्ष दीपक आचार्यले किसानले उत्पादन गरेको बीउलाई प्रतिकिलो ६५रुपैयाँमा खरिद गरेर ५० प्रतिशत ढुवानीमा अनुदानसहित पोखराको चिस्यानगृहमा भण्डारण गर्ने र प्रतिकिलो १५ रुपैयाँ अनुदान दिएर किसानलाई वितरण गर्ने व्यवस्था मिलाएको बताए । अनुदानमा एक बोरा आलुको बीउ लैजाने किसानले कम्तीमा पाँच बोरा गाउँपालिकालाई उपलब्ध गराउनुपर्ने सर्त छ। गाउँपालिकालाई उपलब्ध गराएर बचेको बीउ किसानले छिमेकी जिल्ला म्याग्दी, बागलुङ, कास्की र पर्वतका अन्य स्थानीय तहमा बेच्छन् । जलजलामा वार्षिक एक हजार ८०० बोरा आलुको बीउ आवश्यक पर्ने गरेको जनाइएको छ ।

जलजलाको बनौ, तारे, शालिजा, लेकफाँट, धाइरिङको धाखेत, धारापानीमा बर्खे र सल्यान, नाग्लीवाङ, मल्लाजमा हिउँदे आलुखेती आलुखेती हुने गरेको छ । राम्रो मूल्य र बजार पाइने भएकाले खानका साथै बीउ उत्पादनमा किसान आकर्षित भएका छन् । जलजला–बाँसबोट कृषक समूहका सचिव कमलनयन आचार्यले ८० रोपनी खेत भाडामा लिएर १६ जनाले सामूहिक बीउका लागि आलुखेती सुरु गरिएको जानकारी दिए । किसानले व्यक्तिगत रूपमा ५० बोरा र समूहले एक सय १५ बोरा आलु रोपेका उनले बताए ।

सामूहिक आलुखेती सुरु भएको खेतमा यसअघि हिउँदमा खेती हुँदैनथ्यो। बाँसबोटमा दुई वर्षअघि पुर्जाखोला सिँचाइ आयोजना निर्माण सकिएपछि बाह्रै महिना सिँचाइ सुविधा पुगेको बाँझो खेतबारी पछिल्लो दुई वर्षयता हराभरा हुन थालेको किसान भोजराज आचार्य बताउँछन् । ‘सिँचाइ सुविधा नहुँदा बाँसबोटका किसानले अकासे पानीका भरमा धानबालीमात्र लगाउँथे। सिँचाइ सुविधा भएपछि बसाइँसराइ र जनशक्ति अभावका कारण हिउँदमा बाँझिने जग्गामा पनि आलुसहित तीन बाली खेती सुरु गरेका छौँ । धान उत्पादन पनि दोब्बरले बढेको छ’, उनले भने।

गण्डकी प्रदेश सरकारले निर्माण गरेको पुर्जाखोला सिँचाइ आयोजनाबाट बाँसबोटका साथै फोक्सिङ, छहरा र एकपाटेका तीन सय घर किसानका छ सय २० रोपनी जमिनमा सिँचाइ सुविधा पुगेको छ। स्थानीय अगुवा किसान लोकराज आचार्यले बाँझिएको जमिनलाई सदुपयोग, रोजगारी सृजना र किसानको आयआर्जन वृद्धिका लागि आलुको बीउ उत्पादन कार्यक्रम प्रभावकारी बनेको बताए ।

उत्पादन बढ्दै गए पनि यहाँ बाँदरको समस्या आलुखेतीका लागि चुनौती बनेको छ। बाँदरका हुलले आलुका बिरुवा उखेल्ने र दाना निकालेर दुःख दिने गरेको जलजला गाउँपालिका–७ का वडाध्यक्ष टुङ्गनाथ आचार्यको भनाइ छ । सामूहिक आलुखेती भएकाले तीन महिनाका लागि बाँदर हेरालु राख्न गाउँपालिकामा समझदारी भएकाले कार्यान्वयनमा आएपछि केही राहत हुने उनले बताए । रासस

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit