काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) का अध्यक्ष चन्द्रप्रसाद ढकालले सहकारी क्षेत्रमा देखिएका आर्थिक अपचलन लगायतका समस्या समाधान गर्न सबै जिम्मेवार नभएसम्म संस्थाको छबी राम्रो नहुने बताएका छन् ।
अन्तर्राष्ट्रिय सहकारी वर्ष २०२५ को अवसर पारेर आयोजित दुईदिने साकोस शिखर गोष्ठीमा उनले सहकारी संस्थाहरुको स्वनियमन महत्वपूर्ण रहेको उल्लेख गर्दै यस्तो बताएका हुन् । ‘सदृढ अभियान सुनिश्चितताका लागि रणनीतिक उन्नयन र नियामकीय अनुकूलन’ भन्ने नारा सहित बिहीबारदेखि सुरु भएको गोष्ठी शुक्रबारसम्म सञ्चालन हुनेछ। उद्घाटन कार्यक्रममा बोल्दै नेफ्स्कूनका अध्यक्ष चन्द्रप्रसाद ढकालले साकोस अभियानले समग्र सहकारी क्षेत्रलाई मार्गदर्शन गर्दै आएको उल्लेख गरे । उनले सहकारी अभियानको इतिहास, वर्तमान र भविष्यलाई सुदृढ बनाउन साकोस शिखर गोष्ठीले महत्वपूर्ण भूमिका खेल्ने धारणा राखे।

दुई दिने गोष्ठीमा सहकारी क्षेत्रमा देखिएका विद्यमान समस्या, त्यसको कारण, सुशासन, स्वनियमनलगायतका विविध विषयमा विज्ञहरुसँग छलफल गरिने जानकारी दिँदै ढकालले आफूहरु सहकारी संस्थाहरु माथि लागेको नकारात्मक छबी बदल्न तत्पर रहेको बताए । ‘हामीले नेतृत्व गरेको संस्था र हामीले सुरु गरेको साकोस अभियान फक्रिएको फूल झैं जतिखेर पनि उदाउँदो सूर्य झैं चम्किलो देख्न चाहान्छौं । त्यसका लागि सबै जिम्मेवार हुनुहुन्छ त ?’ उनले प्रश्न गरे । ढकालले भने, ‘हामी त जिम्मेवार छौं । मैले सधैं भन्ने गरेको छु, सहकारीको इतिहास वर्तमान र भविष्यका लागि पनि हामीले मार्ग प्रशस्त गरेका छौं । तर, जहिले पनि हामीलाई कुनै न कुनै विषयले धमिलो बनाइराखेको छ ।’
यस्तै, उनले सहकारी अभियान दोषमुक्त नहुनुमा यस क्षेत्रमा देखिएको आर्थिक अपचलन लगायतका अनेक समस्याका कारण संस्था र अभियान नै दूषित बनेको र त्यसलाई नियमनको दायरामा ल्याउने कार्य भैरहेको बताए । उनले भने, ‘हामी जिम्मेवार छौँ, तर सहकारी अभियान भित्र लागेको धमिलो बादललाई हटाउन सकेका छैनौं । यहीँ भएको समस्या हामीभित्र जोडिन आएको छ । हामीसँग जोडिन आएको समस्यालाई चिरफार गर्न राष्ट्र बैंकले निर्देशन मापद्दण्ड जारी गर्यो । हामी दोषीमुक्त भई पारदर्शी र उत्तरदायी सहकारी अभियान अगाडि बढाउन चाहन्छौँ, समस्या चिरफारको सुरुवात भएको छ, सरकारले राष्ट्रिय नियमन प्राधिकरणको व्यवस्था गरेको छ । छोटो समयमा यसले निणर्य गर्न थालिसकेको छ ।’

उनका अनुसार सहकारीको समस्या समाधान गर्न बनाइएको नियमन प्राधिकरणलाई अझ सुदृढ कसरी बनाउन सकिन्छ भन्ने सन्दर्भमा आजको पहिलो सत्रमा विज्ञहरुसँग छलफल हुनेछ । अध्यक्ष ढकालले भने, ‘यो अभियानका नेतृत्वहरु आज नियमन प्राधिकरणले तोकेको अभिलेखिकरणको प्रकृयाभित्र प्रमाणीकरण भैसकेका छन् । ६० दिन तोकिएको थियो ६ दिन पनि लागेन । धेरै प्रमाणीकरण भएर सर्टिफिकेट लिने क्रममा छन् । यत्तिकै यो काम भएको छैन्, अझै यसलाई राम्रो कसरी गर्ने भन्ने सन्दर्भमा आज छलफल गर्छौं ।’
नेफ्स्कून विगत ३८ वर्षदेखि बचत तथा ऋण सहकारी अभियानमार्फत समुदायको आर्थिक, सामाजिक तथा सांस्कृतिक जीवनस्तर रूपान्तरणमा क्रियाशील रहँदै आएको केन्द्रीय निकाय हो। नेफ्स्कून अन्तर्गत ५९ वटा जिल्ला बचत तथा ऋण सहकारी संघ, ४ वटा प्रदेश बचत तथा ऋण सहकारी संघ तथा करिब ५९ लाख व्यक्तिगत सदस्यहरू आबद्ध छन्।







कर्पोरेट समाचार 



















प्रतिक्रिया दिनुहोस्