काठमाडौं । मौसमी समयअनुसार घट्नुपर्ने गोलभेँडा, काउली, मटरकोसा र हरियो सागपात लगायतका अधिकांश तरकारीको मूल्य यस वर्ष भने महँगिएको छ। घिल्लो वर्षको यही समयमा निकै सस्तोमा पाइने यी तरकारीहरुको मूल्य यतिबेला छोइनसक्नु रुपमा मूल्य आकाशिएको छ ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको दैनिक मूल्य सुचीअनुसार आज (बिहिबार) भारतीय सानो गोलभेँडा औसत थोक मूल्य प्रतिकिलो ७९ रुपैयाँ छ । यो मूल्य गतवर्षको आजकै दिनको तुलनामा १६३.३३ प्रतिशतले धेरै हो । गतवर्षको माघ १ गते भारतीय सानो गोलभेँडा औसत थोक मूल्य प्रतिकिलो ३० रुपैयाँ मात्र थियो ।
तराईको सानो गोलभेँडाको मूल्य गतवर्ष आजकै दिन प्रतिकिलो ३० रुपैयाँ रहेकोमा यसवर्ष वृद्धि भएर ८६.२५ रुपैयाँ पुगेको छ । यस अवधिमा स्थानीय काउलीको मूल्य ३८१.२५ प्रतिशतले वृद्धि हुँदै प्रतिकिलो ९६.२५ रुपैयाँ पुगेको छ । गतवर्ष आजकै दिन स्थानीय काउलीको मूल्य प्रतिकिलो २० रुपैयाँ रहेको थियो । यस्तै, तराईको काउलीको मूल्य पनि करीब ४०० प्रतिशतले वृद्धि भएको छ। गतवर्षको माघ १ गते १७.६७ रुपैयाँ औसत थोक मूल्य रहेको तराईको काउली यतिखेर बढेर ८८ रुपैयाँ प्रतिकिलो पुगेको कालीमाटीको दैनिक मूल्य सुचिले देखाएको छ ।
यो एक वर्षमा रायोको सागको मूल्य दोब्बर बढीले उकालो लागेर १५ रुपैयाँ किलोबाट यस वर्ष ३२ रुपैयाँ किलो पुगेको पाइएको छ। तर, बजारमा उपभोक्ताले एक मुठा सागलाई कम्तिमा ५० रुपैयाँ देखि ६० रुपैयाँ सम्म तिर्ने गरेका छन् । त्यसैगरी, यस अवधिमा स्कूसको मूल्य पनि करीब १४३ प्रतिशतले बढेको छ । गतवर्ष आजको दिन प्रतिकिलो ३५ रुपैयाँ रहेको स्कुसको मूल्य आज ८५ रुपैयाँ किलो छ । यी त केही उदाहरण मात्र हुन् बजारमा पाइने अधिकांश जसो तरकारीको मूल्य बढेको पाइएको छ ।
समितीका सूचना अधिकारी विनय श्रेष्ठले यतिबेला तरकारीको आपुर्ति घटेकाले मूल्य आकाशिएको बताए। उनका अनुसार सामान्य अवस्थामा कालीमाटी बजारमा दैनिक ६०–७० मेट्रिक टन गोलभेँडा भित्रिने गरेकामा हाल ३५–४० मेट्रिक टन मात्रै आइरहेको छ । तर गोलभेँडा दैनिक उपभोगको प्रमुख तरकारी भएकाले माग भने यथावत् छ । माग उच्च र आपूर्ति कमजोर हुँदा मूल्य घट्न नसकेको उनको भनाइ छ। ‘यस वर्ष वर्षातको प्रत्यक्ष असर तरकारी उत्पादनमा परेको छ । अहिले बजारमा आउने गोलभेँडा साउन–भदौमा रोपिएको हो,’ उनले भने, ‘उक्त समयमा अत्यधिक वर्षाहुँदा धेरै ठाउँमा बाली डुबानमा प¥यो र बिरुवाहरु नष्ट भए, जसको प्रभाव अहिले मूल्यमा देखिएको छ ।’
साथै, तराईका जिल्लाहरू-विशेषगरी सर्लाही लगायतबाट आउने उत्पादन पनि अपेक्षाकृत कम भएको र थप रूपमा शीतलहरका कारण गोलभेँडा र काउली समयमै पाक्न नसक्दा बजारमा पर्याप्त आपूर्ति हुन नसकेको उनले जानकारी गराए । गत वर्ष कम मूल्य पाएको अनुभवका कारण कतिपय किसानले यस वर्ष उत्पादन घटाएको हुन सक्ने पनि श्रेष्ठले बताए ।
यद्यपि, आलु लगायतका केही तरकारीको मूल्य भने घटेको छ । सूचना अधिकारी श्रेष्ठले उपभोक्तालाई महँगो भएका तरकारीको सट्टा सस्ता विकल्पतर्फ उपभोग परिवर्तन गर्न सुझाव दिएका छन् । यसो गर्न सके बढेको मूल्यलाई केही हदसम्म न्यूनिकरण गर्न सकिने उनको भनाइ छ ।
थोक बजारदेखि खुद्रासम्म पुग्दा अस्वभाविक मूल्य अन्तर
थोक बजार र खुद्रा बजारमा तरकारी तथा फलफूलको मूल्यमा अत्याधिक अन्तर देखिएको पाइएको छ । थोक बजारमा १०० रुपैयाँ किलोमा पाइने तरकारी खुद्रा बजारमा पुग्दासम्म दोब्बर, वा झन्डै तेब्बरले महँगिने गरेको यर्थाथ रहेको श्रेष्ठ आफैं स्वीकार्छन्।
तर थोकदेखि खुद्रासम्म पुग्दा अत्यधिक मूल्य अन्तर देखिनु भने अस्वाभाविक भएको श्रेष्ठले बताए । विभिन्न तहमा ढुवानी, छाँटाइ, प्याकेजिङ र क्षतिको लागत जोडिए पनि दोब्बरभन्दा बढी मूल्य वृद्धि हुनु जायज नभएको उनको भनाइ छ । काला बजारी तथा नाफाखोरी नियन्त्रण ऐनअनुसार अत्यधिक नाफा लिन नपाइने व्यवस्था भएपनि व्यवहारमा त्यसको प्रभावकारी कार्यान्वयन चुनौतीपूर्ण रहेको उनको भनाइ छ।
समितिले आफ्ना करिब ६ सय व्यवसायीलाई खरिद–बिक्रीको अभिलेख राख्न, कानुनको पालना गर्न र अनुचित नाफाखोरी नगर्न सचेत गराउँदै आएको जनाएको छ। सम्बन्धित निकायबाट अनुगमन र कारबाही पनि हुँदै आएको भएपनि असामान्य अवस्थामा अझ सक्रिय निगरानी आवश्यक रहेको श्रेष्ठको भनाइ छ । समग्रमा, वर्षात् र शीतलहरका कारण उत्पादन घट्नु, आपूर्ति कमजोर हुनु र केही हदसम्म बजार प्रवृत्तिका कारण गोलभेँडा र काउलीजस्ता मौसमी तरकारीको मूल्य यस वर्ष घट्न नसकेको यथार्थ देखिएको उनले बताए ।
मूल्य निर्धारण समितिले गर्दैन, व्यवसायीले नै गर्छन
कालीमाटीमा भित्रिने तरकारीको मूल्य निर्धारणमा समितीको भुमिका हुन्छ भन्ने उपभोक्ताको आंकलन हुने भएपनि समितिले मूल्य निर्धारण नगरी बजारमा भएको वास्तविक कारोबारको तथ्यांक मात्रै संकलन र सार्वजनिक गर्ने श्रेष्ठले बताए । उनका अनुसार कालीमाटी बजारमा बिहान ३ बजेदेखि ८–९ बजेसम्म मुख्य कारोबार हुने भएकाले सोही समयको न्यूनतम, अधिकतम र औसत थोक मूल्य संकलन गरी दैनिक बुलेटिनमार्फत सार्वजनिक गरिन्छ । यी मूल्यहरू प्रायः बोरा वा क्रेटजस्ता थोक परिमाणका आधारमा हुने भएकाले खुद्रा बजारमा फरक देखिनु पनि एक हद सम्म स्वाभाविक छ । नेपाल न्यूज बैंक







कर्पोरेट समाचार 





















प्रतिक्रिया दिनुहोस्