काठमाडौं । नेपाली कांग्रेसका उपसभापति एवं केन्द्रीय निर्वाचन परिचालन समिति संयोजक विश्वप्रकाश शर्माले बदलिएको कांग्रेसले देशको आसन, भाषण र शासनमा सुधार गर्ने बताएका छन् ।
सोमबार लमजुङ पुगेका शर्माले सत्तामा एउटै व्यक्तिले निरन्तर आसन जमाउने परम्परा तोड्न कांग्रेसले १, २, ३, ४ को नीति लिएको बताएका हुन् ।
कांग्रेसले अब देशको आसन र शासनमा सुधार गर्न दुई पटक सम्म मात्र प्रधानमन्त्री र मुख्यमन्त्री बन्न पाउने नीति संविधानबाटै सुनिश्चित गर्ने शर्माको भनाइ छ । ‘कुनै पनि व्यक्ति सत्तामा निरन्तर आसन जमाउने परम्परा भत्काएर, हामी १, २, ३, ४ को नीति संविधानमा अंकित गर्नेछौँ’ शर्माले भने,‘ अब उप्रान्त कोही पनि प्रधानमन्त्री र मुख्यमन्त्री दुईपटकभन्दा बढी रहन पाउने छैनन् ।’
कांग्रेसले विशेष महाधिवेशनबाट एकपटक राष्ट्रपति, दुईपटक प्रधानमन्त्री, तीनपटकसम्म मन्त्री र चारपटकसम्म मात्र सांसद बन्न पाउने नीति पारित गरेको छ।

















प्रतिक्रिया दिनुहोस्