Advertisement
Advertisement
Corporate Samachar
९ असार २०८३, मंगलवार
Advertisement

पर्यटनलाई राष्ट्रिय अर्थतन्त्रको मेरुदण्ड बनाउने कांग्रेसको प्रतिज्ञा

पर्यटनलाई राष्ट्रिय अर्थतन्त्रको मेरुदण्ड बनाउने कांग्रेसको प्रतिज्ञा
नेपाली कांग्रेसले मधेश प्रदेशको राजधानी जनकपुरधामको तिरूहिया गाछीमा आज आयोजना गरेको चुनावी सभा तथा प्रतिज्ञापत्र सार्वजनिकीकरण कार्यक्रममा प्रतिज्ञा पत्र सार्वजनिक गर्नुहुँदै नेका सभापति गगनकुमार थापा। तस्बिरः अजयकुमार साह/रासस
विज्ञापन
Advertisement

काठमाडौं । पर्यटन क्षेत्रलाई राष्ट्रिय अर्थतन्त्र, रोजगारी र उद्यमशीलताको मुख्य आधार बनाउने लक्ष्यसहित नेपाली कांग्रेसले दिगो पर्यटन विकाससम्बन्धी विस्तृत प्रतिज्ञा सार्वजनिक गरेको छ ।

विज्ञापन
Advertisement
Advertisement

पार्टीले आगामी १० वर्षभित्र वार्षिक ३० लाख विदेशी पर्यटक भित्र्याउने तथा पर्यटन क्षेत्रको योगदान कुल गार्हस्थ्य उत्पादनको १५–२० प्रतिशतसम्म पु¥याउने लक्ष्य लिएको जनाएको छ ।

कांग्रेसले नेपालको प्राकृतिक, सांस्कृतिक र आध्यात्मिक विविधतालाई उपयोग गर्दै देशलाई विश्वकै उत्कृष्ट पर्यटन गन्तव्यका रूपमा स्थापित गर्ने सङ्कल्प गरेको छ । पार्टीका अनुसार सन् १९९२ को खुला आकाश नीति, निजी वायुसेवामा लगानीको वातावरण, ‘नेपाल भ्रमण वर्ष १९९८’ जस्ता अभियान तथा हवाई र पर्यटन नीतिगत सुधार कांग्रेसकै पहलमा अघि बढेका थिए।

पार्टीले बुद्ध, सगरमाथा र प्राचीन सभ्यताको देशका रूपमा नेपालको अन्तर्राष्ट्रिय पहिचान बलियो बनाउन जनकपुर–लुम्बिनी–काठमाडौँ आध्यात्मिक करिडोर निर्माण, धार्मिक पर्यटन सर्किट विकास तथा सम्पदाको संरक्षणमा विशेष ध्यान दिने जनाएको छ ।

कांग्रेसले ‘आरोग्य नेपाल’ अभियान सञ्चालन गर्दै योग, ध्यान, आयुर्वेद र प्राकृतिक उपचारलाई पर्यटनसँग जोड्ने योजना अघि सारेको छ । विदेशी पर्यटकका लागि वेलनेस तथा डिजिटल नोम्याड भिसा व्यवस्था गर्ने, प्रमुख गन्तव्यहरूमा वेलनेस जोन स्थापना गर्ने तथा नेपाललाई ‘विश्वको आध्यात्मिक राजधानी’का रूपमा ब्रान्डिङ गर्ने प्रतिबद्धता पार्टीले जनाएको छ ।

पर्यटनलाई स्थानीय रोजगारीसँग जोड्न सामुदायिक होमस्टे, सहरी घरवास कार्यक्रम, सांस्कृतिक भिलेज निर्माण र स्थानीय भेषभूषा, खानपान तथा शिल्पकलालाई पर्यटन प्याकेजका रूपमा विकास गर्ने नीति कांग्रेसले अघि सारेको छ। सामुदायिक वन, सिमसार र ग्रामीण क्षेत्रलाई पर्यापर्यटन केन्द्रका रूपमा विकास गरिने पनि उल्लेख गरिएको छ ।

काठमाडौं, पोखरा, लुम्बिनी, जनकपुर, मुक्तिनाथ र कर्णाली क्षेत्रमा अन्तर्राष्ट्रिय अध्ययन केन्द्र स्थापना गर्ने तथा विभिन्न सांस्कृतिक क्षेत्रलाई पर्यटन सर्किटमा जोड्ने योजना कांग्रेसको छ ।

जनकपुर–लुम्बिनी–काठमाडौं आध्यात्मिक करिडोर तथा बुद्ध–टु–शिव डिजिटल करिडोर निर्माण गर्दै धार्मिक गन्तव्यहरूलाई सडक र हवाई सञ्जालबाट जोड्ने लक्ष्य पनि राखिएको छ ।

डिजिटल पर्यटन र सेवा सुधार
पर्यटन सेवालाई आधुनिक बनाउन बहुभाषिक डिजिटल पर्यटन प्लेटफर्म, एकीकृत सेवा पोर्टल, डिजिटल सम्पदा अर्काइभ र मोबाइल एप सञ्चालन गर्ने योजना कांग्रेसले अघि सारेको छ । कला–संस्कृतिको डिजिटल ब्रान्डिङमा युवालाई प्रोत्साहन गर्न विशेष कोष स्थापना गर्ने पनि प्रतिज्ञामा उल्लेख छ ।

सस्तो हवाई सेवा र उड्डयन सुधार
नेपाल आउने पर्यटकका लागि हवाई भाडा प्रतिस्पर्धी बनाउने, विमानस्थल शुल्क र इन्धन अधिभार घटाउने, एयर ट्राफिक व्यवस्थापन सुधार गर्ने तथा नागरिक उड्डयन प्राधिकरणलाई सेवा प्रदायक र नियामक गरी अलग संरचनामा लैजाने कांग्रेसको योजना छ । साथै, युरोपेली हवाई सुरक्षा सूचीबाट नेपाल हटाउन कूटनीतिक पहल गर्ने प्रतिबद्धता पनि व्यक्त गरिएको छ ।

पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालन गर्ने, विश्वका प्रमुख सहरसँग सिधा उडान विस्तार गर्ने तथा नेपाल वायुसेवा निगमलाई सुदृढ बनाउने नीति कांग्रेसले अघि सारेको छ ।

उत्सव, लोककला र खानपानको अन्तर्राष्ट्रिय बजारीकरण
नेपाली जात्रा, पर्व र सांस्कृतिक उत्सवहरूको अन्तर्राष्ट्रिय क्यालेन्डर निर्माण गर्ने, कलाकार र शिल्पकारलाई राष्ट्रिय कला कोषमार्फत प्रोत्साहन गर्ने तथा विदेशस्थित नेपाली दूतावासमार्फत संस्कृति प्रवद्र्धन गर्ने योजना कांग्रेसले सार्वजनिक गरेको छ ।

यसैगरी सातै प्रदेशका रैथाने परिकार समेटिएको राष्ट्रिय गाइड तयार गरी नेपाली स्वादको अन्तर्राष्ट्रिय ब्रान्डिङ गर्ने, अर्गानिक कृषि र स्थानीय उत्पादनलाई पर्यटन आपूर्ति शृङ्खलासँग जोड्ने तथा होटलहरूमा रैथाने मेनु प्रवद्र्धन गर्ने नीति पनि समेटिएको छ ।

हिमाली पर्यटन र जलवायु संरक्षण
उच्च हिमाली क्षेत्रमा ‘सफा हिमाल, सुरक्षित आरोहण’ अभियान सञ्चालन गर्ने, पर्वतारोहण रोयल्टीको ३० प्रतिशत रकम हिमताल संरक्षणमा खर्च गर्ने, खोज तथा उद्धार प्रणाली सुदृढ गर्ने तथा पर्या–मैत्री पर्यटन पूर्वाधार प्रवद्र्धन गर्ने कांग्रेसले जनाएको छ ।

पर्यटनसँग शिक्षा, रोजगारी र सहभागिता जोड्दै युवा तथा महिलालाई तालिम, सहुलियतपूर्ण कर्जा र कर छुटको व्यवस्था गर्ने तथा सार्वजनिक–निजी–सामुदायिक साझेदारी मोडेलमार्फत पर्यटन विकास अघि बढाइने कांग्रेसको प्रतिज्ञा पत्रमा उल्लेख छ ।

कांग्रेसले पर्यटनलाई नेपालको दीर्घकालीन आर्थिक रूपान्तरणको प्रमुख माध्यम बनाउने दाबी गर्दै नीतिगत सुधार, पूर्वाधार विकास र अन्तर्राष्ट्रिय प्रवद्र्धनमार्फत देशलाई विश्व पर्यटन मानचित्रमा मजबुत रूपमा स्थापित गर्ने प्रतिबद्धता जनाएको छ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit