काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र मेदान्त द मेडिसिटी हस्पिटल बीच बैंकका कार्डबाहक ग्राहकलाई अस्पताल सेवाशुल्कमा छुट उपलब्ध गराउने सम्बन्धी समझदारीपत्रमा पुनः हस्ताक्षर गरिएको छ।
बिहीबार सम्पन्न सम्झौताअनुसार सिटिजन्स बैंकका कार्डबाहक ग्राहकहरूले अब मेदान्त अस्पतालमा उपचार गराउँदा सेवाशुल्कमा १५ प्रतिशतसम्म छुट पाउनेछन्। यसअघि यो सुविधा केवल मेदान्ता, गुडगाँव मा मात्र लागू हुँदै आएको थियो। नयाँ सम्झौतासँगै छुट सुविधा मेदान्ताका थप ६ अस्पतालमा विस्तार गरिएको बैंकले जनाएको छ।
अब उक्त छुट मेदान्ता नोएडा, मेदान्ता सुपर स्पेशलिटी अस्पताल, लखनउ, जय प्रभा मेदान्ता सुपर स्पेशलिटी अस्पताल, पटना, मेदान्ता सुपर स्पेशलिटी अस्पताल, इन्दौर, मेदान्ता अब्दुर रज्जाक अन्सारी मेमोरियल वीभर्स अस्पताल, राँची र मेदान्ता अस्पताल, राँची मा समेत लागू हुने छ। साथै मेदान्ताका पाँचवटा मेडिक्लिनिकबाट पनि उक्त सुविधा उपलब्ध हुने जनाइएको छ।
समझदारीपत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेलले हस्ताक्षर गरेका छन्। बैंकका अनुसार, यस सहकार्यबाट भारतमा स्वास्थ्य उपचारका लागि जाने ग्राहकहरूले सरल र सुलभ रूपमा लाभ लिँदै आएका छन्। सहकार्यको निरन्तरतासँगै भारतमा उपचार गराउन जाने ग्राहकहरूलाई थप सहज सेवा प्राप्त हुने विश्वास बैंकले व्यक्त गरेको छ।
यसैबीच, बैंकले ‘बैंक अफ द इयर २०२४’ र ‘बैंक अफ द इयर २०२५’ उपाधि प्राप्त गरिसकेको जनाएको छ। साथै, फोनपेसँगको सहकार्यमा नेपालमै पहिलो पटक ‘सिटिजन्स फोनपे क्रेडिट कार्ड’ भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा ल्याएको बैंकले जानकारी दिएको छ।
हालै बैंकले नवयुवालाई लक्षित ‘सिटिजन्स जेन–जी सेभिङ अकाउन्ट’ र ‘सिटिजन्स डिजी बैंक सेवा’ नामक एकीकृत अनलाइन प्लेटफर्म सञ्चालनमा ल्याएको छ। फ्रिलान्सरलाई लक्षित ‘फ्रिलान्सर सेविङ अकाउन्ट’ समेत सुरु गरिएको छ। मोबाइल बैंकिङ एपमार्फत नै शेयर आवेदन र सीआरएन नम्बर सेवा लिन सकिने सुविधा, क्रस बैंक टेलर सुविधा अन्तर्गत अन्य बैंकका ग्राहकले सिटिजन्स बैंकको शाखाबाट टेलर क्यूआर स्क्यान गरी नगद प्राप्त गर्न सक्ने व्यवस्था पनि बैंकले ल्याएको छ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशभर ६१ जिल्लामा फैलिएका २०० शाखा, १६९ एटीएम, ३ विस्तारित काउन्टर र ४२ शाखारहित बैंकिङ इकाइमार्फत १९ लाख ७६ हजारभन्दा बढी ग्राहकलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ।

















प्रतिक्रिया दिनुहोस्