काठमाडौं । अमेरिकी रक्षा मन्त्रालय (पेन्टागन) ले इरानसँगको युद्ध तीव्र बन्दै जाँदा ह्वाइट हाउससँग २०० अर्ब डलर भन्दा बढीको आकस्मिक पूरक बजेट कंग्रेसबाट स्वीकृत गराउन माग गरेको छ।
द वासिङ्टन पोस्टका अनुसार, ट्रम्प प्रशासनका एक वरिष्ठ अधिकारीले यस मागको पुष्टि गरेका छन्। यो बजेट हालसम्मकै ठूलो युद्धकालीन मागमध्ये एक हो । द वासिङ्टन पोस्टका अनुसार यो ठूलो रकम विगत तीन हप्तादेखि जारी हवाई आक्रमणमा खर्च भएका अत्याधुनिक हतियारहरूको उत्पादन बढाउन र सैन्य परिचालन जारी राख्न आवश्यक रहेको पेन्टागनको दाबी छ । जसले अमेरिकी संसदमा तीव्र राजनीतिक टकराव निम्त्याउने निश्चित देखिएको छ।
२०० अर्ब डलरले हतियार उत्पादन बढाउने
यस विषयमा जानकार स्रोतलाई उदृत गर्दै वासिङ्टन पोस्टले यो रकम केवल हवाई आक्रमणको लागत मात्र नभई, विगत तीन हप्तामा अमेरिकी र इजरायली सेनाले प्रयोग गरेका हजारौं ‘प्रिसिजन’ (सटिक निशाना लगाउने) हतियारहरूको उत्पादनलाई युद्धस्तरमा बढाउन प्रयोग गर्ने उल्लेख गरेको छ । पेन्टागनका उप–रक्षा सचिव स्टिभन फेनबर्गले यस प्रयासको नेतृत्व गरिरहेका छन्, जसको मुख्य उद्देश्य अमेरिकी रक्षा उद्योगको सुस्त गतिलाई सक्रिय बनाउनु रहेको छ।
ह्वाइट हाउसभित्रै संशय
यति ठूलो रकमको मागलाई लिएर ह्वाइट हाउसकै कतिपय अधिकारीहरू भने सशंकित छन्। प्रशासनका एक अधिकारीले बताए अनुसार, कंग्रेसले यो पूर्ण बजेट स्वीकृत गर्ने ‘वास्तविक सम्भावना’ न्यून छ। ह्वाइट हाउसको व्यवस्थापन र बजेट कार्यालयले पनि आन्तरिक छलफलमा यो रकम धेरै ठूलो भएको भन्दै आपत्ति जनाएको छ।
ट्रम्पको चुनावी बाचा र वर्तमान चुनौती
राष्ट्रपति डोनल्ड ट्रम्पले विदेशमा अमेरिकी सैन्य हस्तक्षेप अन्त्य गर्ने र खर्च कटौती गर्ने बाचाका साथ दोस्रो कार्यकालका लागि चुनाव जितेका थिए। उनले यसअघि बाइडन प्रशासनले युक्रेन युद्धमा गरेको १८८ अर्ब डलर खर्चको पटक–पटक आलोचना पनि गरेका थिए। तर, अहिले अमेरिकाले इरानसँगको युद्धमा पहिलो हप्तामा नै १२अर्ब डलर खर्चिसकेको विवरण बाहिर आएका छन् । जसले गर्दा ट्रम्पलाई यतिबेला आफ्नै निर्णय भारी मात्र परेको छैन् ट्रम्प प्रशासनलाई नै आफ्नै चुनावी एजेन्डा विपरित ठूलो खर्च गर्नुपर्ने दबाबमा सिर्जना गरेको छ ।
राजनीतिक लडाइँको संकेत
यस बजेट मागलाई लिएर डेमोक्र्याटहरूले कडा आलोचना सुरु गरिसकेका छन्। रिपब्लिकनहरूले समर्थनको संकेत दिए पनि सिनेटमा आवश्यक ६० मत जुट्ने कुनै स्पष्ट योजना देखिएको छैन। थिङ्क ट्याङ्क सेन्टर फर स्ट्राटेजिक एन्ड इन्टरनेशनल स्टडीजका वरिष्ठ सल्लाहकार मार्क क्यान्सियनका अनुसार, यो बजेट माग अब युद्धको लोकप्रियताको ‘लिटमस टेस्ट’ हुनेछ। विज्ञहरूका अनुसार, पैसा खन्याउँदैमा हतियार उत्पादन तुरुन्तै बढ्ने छैन। उद्योगमा कामदारको अभाव र कच्चा पदार्थको सीमितताले गर्दा यो प्रक्रिया जटिल बन्न सक्ने अनुमान गरिएको छ।
युद्धको बढ्दो खर्च र ऋणको संकट
अमेरिकी राष्ट्रिय ऋण ३९ ट्रिलियन डलर
यो बजेट माग यस्तो समयमा आएको छ जब अमेरिकाको राष्ट्रिय ऋण बुधबार ३९ ट्रिलियन डलरको चिन्ताजनक विन्दुमा पुगेको छ। इरानसँगको युद्ध सुरु भएयता पहिलो हप्तामा नै ११.३ अर्ब डलर खर्च भइसकेको छ। यद्यपी ह्वाइट हाउसका आर्थिक सल्लाहकार केभिन ह्यासेटका अनुसार इरान युद्ध सुरु भएपछि अमेरिकाले हालसम्म कुल १२ अर्ब डलर बढी खर्च गरेको छ । विज्ञहरूका अनुसार बढ्दो ऋण र ब्याज भुक्तानीले भविष्यमा अमेरिकी नागरिकलाई घर र कार खरिद गर्दा उच्च लागत तिर्नुपर्ने र ज्याला कटौती हुने जस्ता विविध समस्या निम्त्याउनेछ। पिटर जी पिटरसन फाउन्डेसनका अध्यक्ष तथा सीईओ माइकल पिटरसनले एक विज्ञप्तिमा भनेका छन्,‘हामीले ऋण वृद्धिको यो चिन्ताजनक दर र आगामी पुस्तामा पर्ने गम्भीर वित्तीय बोझलाई गम्भीरतापूर्वक लिनुपर्छ।’ उनका अनुसार ट्रम्प प्रशासनको वर्तमान खर्चको अवस्थालाई हेर्दा यसै वर्षको चुनावअघि नै राष्ट्रिय ऋण ४० ट्रिलियन डलरको आश्चर्यजनक स्तरमा पुग्नेछ । उनले भने,‘कुनै स्पष्ट योजनाबिना यति तीव्र गतिमा खर्बौं डलर ऋण लिनु अस्थिरताको परिभाषा हो ।’
गत फेब्रुअरी २८ मा इजराइल–अमेरिकाले इरानमाथि मिसाइल प्रहार गर्दै सुरु गरेको यो युद्धमा हालसम्म इरानका उच्च नेतृत्वसहित १३ सय जनाको मृत्यु भइसकेको छ। यो संख्या निकै उच्च हुनसक्ने अनुमान गरिएको छ। इरानले आफ्नो अस्तित्वको लागि अन्तिमसम्म लड्ने बताउँदै आएका बेला यो युद्ध कहिले अन्त्य हुन्छ भन्ने अझै स्पष्ट भएको छैन।














प्रतिक्रिया दिनुहोस्