ललितपुर । उद्यमशीलता र नीतिनिर्माणबीचको दूरी घटाउने उद्देश्यसहित Nepalese Young Entrepreneurs’ Forum (NYEF) को ललितपुर च्याप्टरले “Discussion to Policy: Shaping Policy Through Entrepreneurial Voices” शीर्षकमा एक संवाद कार्यक्रम आयोजना गरेको छ।
ललितपुरस्थित Himalayan Java मा सम्पन्न उक्त कार्यक्रममा विभिन्न क्षेत्रका उद्यमी, व्यवसायी तथा सरोकारवालाहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रममा नेपालको उद्यमशील वातावरणमा देखिएका प्रमुख चुनौतीहरू र सम्भावनाहरूका विषयमा गहन छलफल गरिएको थियो।
छलफलका क्रममा व्यवसाय विस्तारमा देखिएका नियामक जटिलता, नवउद्यमीहरूका लागि वित्तीय पहुँचको अभाव, नवप्रवर्तनमैत्री नीति निर्माणको आवश्यकता तथा सार्वजनिक–निजी सहकार्यलाई प्रभावकारी बनाउने विषयमा सहभागीहरूले आफ्ना अनुभव र सुझाव राखेका थिए।
कार्यक्रममा उत्पादन, सेवा, प्रविधि, पर्यटन तथा हस्तकला लगायतका क्षेत्रहरूमा रहेका अवसरहरू उजागर गरिएको थियो। सहभागीहरूले ती क्षेत्रहरूको विकासका लागि नीतिगत सहजीकरण, बजार पहुँच विस्तार, डिजिटलीकरण तथा सीप विकासमा जोड दिनुपर्ने आवश्यकता औंल्याए। विशेषगरी हस्तकला क्षेत्रलाई नेपालको सांस्कृतिक पहिचानसँग जोडिएको उच्च सम्भावनायुक्त क्षेत्रका रूपमा उल्लेख गर्दै यसलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्न थप नीति समर्थन आवश्यक रहेको धारणा व्यक्त गरिएको थियो।
कार्यक्रमको मुख्य उद्देश्य संवादलाई ठोस नीतिगत सिफारिसमा रूपान्तरण गर्नु रहेको आयोजकले जनाएको छ। सोहीअनुसार कार्यक्रममा संकलित सुझावहरूलाई NYEF ले सरकारसमक्ष प्रस्तुत गर्ने “Memorandum of Request” मा समावेश गर्ने तयारी गरिएको छ।















प्रतिक्रिया दिनुहोस्