काठमाडौं। नेपालको डिजिटल शिक्षा क्षेत्रमा नयाँ युगको सुरुवात गर्दै डिजि स्कुल र बेलायतस्थित इन्स्टिच्युट अफ एनालिटिक्स (आईओए) बीच डाटा, एनालिटिक्स तथा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) सम्बन्धी शिक्षा तथा प्रमाणीकरण कार्यक्रम विस्तार गर्ने उद्देश्यसहित व्यावसायिक साझेदारी सम्पन्न भएको छ।
काठमाडौंमा आयोजित एक विशेष समारोहमा डिजि ग्रुपका प्रमुख कार्यकारी अधिकृत राजु बानियाँ र आईओएका ग्लोबल कमर्सियल डाइरेक्टर ओल्गा साराले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन्।
यो सहकार्य पूर्ण रूपमा डिजि स्कुल र आईओए बीचको प्रत्यक्ष अन्तर्राष्ट्रिय साझेदारी हो। यद्यपि डिजि स्कुलले विगत पाँच वर्षदेखि विद्यालय तहमा एनसीसी एजुकेसन युकेसँगको सहकार्यमा सूचना प्रविधि कार्यक्रम सञ्चालन गर्दै आएको भए पनि, स्नातक तह लक्षित यो नयाँ कार्यक्रम आईओएसँगको प्रत्यक्ष सहकार्यमा सञ्चालन हुनेछ।
सहकार्यअनुसार नेपालमा पहिलो पटक आधिकारिक रूपमा ‘आईओए नेपाल च्याप्टर’ स्थापना हुने बाटो खुलेको छ। यसले नेपाली विद्यार्थी, शिक्षक तथा डाटा र एआई क्षेत्रमा कार्यरत पेशेवरहरूलाई अन्तर्राष्ट्रिय व्यावसायिक समुदायसँग जोड्ने अपेक्षा दुवै साझेदारको रहेको छ।
सम्झौताअनुसार विद्यार्थीहरूले आईओए अन्तर्गत उपलब्ध ६०० भन्दा बढी अन्तर्राष्ट्रिय स्तरका कोर्स अध्ययन गर्न सक्नेछन्। साथै, उनीहरूले विश्वव्यापी रूपमा मान्यता प्राप्त प्रमाणपत्र, व्यवहारिक सीप, तथा उद्योग–आधारित ज्ञान हासिल गर्ने अवसर प्राप्त गर्नेछन्।
विद्यार्थीहरूलाई सेल्फ–स्टडी प्रणालीमार्फत लचिलो रूपमा अध्ययन गर्ने सुविधा उपलब्ध हुनेछ। साथै अन्तर्राष्ट्रिय विशेषज्ञहरूसँग नेटवर्किङ, व्यावसायिक समुदायमा सहभागिता र करियर विकासका अवसरहरू समेत विस्तार हुनेछन्। यो नयाँ सहकार्यले नेपालको शैक्षिक प्रणाली र अन्तर्राष्ट्रिय उद्योगको आवश्यकताबीचको खाडल घटाउने अपेक्षा डिजी स्कुलको रहेको छ ।
सम्झौतापछि दुवै संस्थाका प्रतिनिधिहरूले नेपालका युवाहरूलाई डाटा–आधारित विश्व अर्थतन्त्रमा प्रतिस्पर्धी, सक्षम र नेतृत्वदायी बनाउन आवश्यक ज्ञान तथा सीप प्रदान गर्ने लक्ष्य रहेको बताएका छन्। यस ऐतिहासिक साझेदारीले नेपालमा डाटा, एनालिटिक्स तथा एआई शिक्षाको पहुँच विस्तार गर्दै देशको डिजिटल रूपान्तरण र दक्ष जनशक्ति विकासमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरिएको छ।















प्रतिक्रिया दिनुहोस्