काठमाडौं, २२ चैत । सरकारले भोलि सोमबार (चैत २३ गते) देखि सरकारी कार्याल र सबै शैक्षिक संस्थाहरुमा सातामा दुइ दिन शनिबार र आइतबार बिदा दिने निर्णय गरेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले भोलिदेखि लागू हुनेगरी दुई दिन बिदा दिने निर्णय गरेको शिक्षामन्त्री एवं सरकारका प्रवक्ता सस्मित पोखरेलले सञ्चारकर्मीलाई जानकारी दिए ।
बैठकले डिजिटल नेपाल ट्रान्सफरमेसन परियोजनाका लागि एशियाली विकास बैंक र विश्व बैंकबाट प्राप्त हुने ९० मिलियन अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय गरेको छ ।
त्यसैगरी मन्त्रिपरिषद् बैठकले दिगो र समावेशी वित्त परियोजनाका लागि विश्व बैंकबाट प्राप्त हुने ९५ मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय गरेको प्रवक्ता पोखरेलले बताए ।
नेपाल सरकारका सबै मन्त्रालयका सचिवालय, आयोग र अन्तर्गतका निकायहरुको संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम) गर्न पूर्व स्वीकृति दिने निर्णय पनि भएको प्रवक्ता पोखरेलले जानकारी दिए ।
मन्त्रिपरिषद् बैठकले राष्टिय समाचार समिति (रासस) का कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले दिनुभएको राजिनामा स्वीकृत गरेको छ । यस्तै बैठकले डिजेल तथा पेटोलियम गाडीहरुलाई विद्युतीय गाडीमा परिवर्तन गर्नका लागि आवश्यक कानुनी व्यवस्था मिलाउने निर्णय पनि गरेको छ ।
आगामी शैक्षिक शत्र २०८३ वैशाख १५ गतेदेखि शुरु गर्ने निर्णय भएको शिक्षामन्त्री एवं सरकारका प्रवक्ता पोखरेलले जानकारी दिए ।

















प्रतिक्रिया दिनुहोस्