images images images
images images images
images
images
images

प्रश्न उठेपछि गृहमन्त्रीको स्पष्टीकरण: “हल्ला धेरै, तर तथ्य फरक छन्”

images

काठमाडौं । पछिल्ला दिनमा आफ्नो नाम जोडेर विभिन्न विवाद र चर्चा सार्वजनिक भएपछि गृहमन्त्रीले विस्तृत स्पष्टीकरण दिएका छन्। उनले उठाइएका आरोपहरूलाई ‘हल्ला आधारित’ भन्दै तथ्य र प्रमाणका आधारमा मूल्याङ्कन गर्न आग्रह गरेका छन्।

गृहमन्त्रीले ‘२५ लाखको सेयर लुकाइएको’ भन्ने आरोप अस्वीकार गर्दै आफूले धितोपत्र बजारमा कारोबार हुने २ करोडभन्दा बढीको लगानी सम्पत्ति विवरणमै स्पष्ट रूपमा उल्लेख गरेको बताए। उक्त विवरण मन्त्रिपरिषद्को वेबसाइटमार्फत सार्वजनिक रूपमा हेर्न सकिने उनको भनाइ छ। स्टार माइक्रो इन्स्योरेन्स र लिबर्टी माइक्रोमा गरिएको लगानी पनि सोही वर्गभित्र पर्ने भन्दै उनले यो लुकाउने होइन, वर्गीकरणको विषय भएको स्पष्ट पारे।

images
images

‘मन्त्री हुनुअघि सेयर किनिएको’ भन्ने आरोपबारे उनले सेयरमा लगानी गर्नु अपराध नभएको उल्लेख गरे। सम्पूर्ण कारोबार बैंकिङ च्यानलमार्फत भएको र त्यसको पूर्ण रेकर्ड उपलब्ध हुने उनले बताए। ‘हिसाब-किताब हुने पैसा लुकाउने सम्भावना हुँदैन,’ उनले भने। लगानीको स्रोतबारे उनले २०८० भदौ २९ गतेको लिखित तमसुकअनुसार कर्जा लिएर लगानी गरिएको जानकारी दिए। उक्त रकम बैंकिङ माध्यमबाट आएको र सोही रकम लगानीमा प्रयोग भएको भन्दै उनले स्रोतबारे कुनै अन्योल नरहेको दाबी गरे।

‘विवादित व्यक्तिसँग साझेदारी’ भन्ने आरोपबारे उनले एउटै कम्पनीमा सयौँ–हजारौँ सेयरधनी हुने उल्लेख गर्दै सेयर किन्नु सबैसँग साझेदारी गर्नु नभएको तर्क गरे। ‘यदि त्यसैलाई आधार मान्ने हो भने त्यही कम्पनीमा लगानी गर्ने सबैलाई दोषी मान्नुपर्ने हुन्छ,’ उनले प्रश्न गरे।

स्वार्थ बाझिने (conflict of interest) विषयमा उठेका प्रश्नबारे उनले छानबिन गर्ने निकाय गृह मन्त्रालय नभई अर्थ मन्त्रालय अन्तर्गतको सम्पत्ति शुद्धिकरण विभाग रहेको बताए। सो निकायले प्रक्रिया अनुसार विषय हेरिरहेको उल्लेख गर्दै उनले आफूले कुनै हस्तक्षेप नगरेको स्पष्ट पारे। लगानी गर्दा पृष्ठभूमि नजाँचेको भन्ने आरोपबारे उनले व्यापारिक निर्णयमा जोखिम स्वाभाविक हुने बताए। ‘पछि भएको घटनालाई अघिको निर्णयसँग जोडेर दोष दिनु तथ्यभन्दा बढी व्याख्या हो,’ उनले भने। प्रतिक्रिया दिन ढिलाइ भएको विषयमा उनले कानुनी रूपमा संवेदनशील विषयमा हतारमा प्रतिक्रिया दिन उपयुक्त नहुने धारणा राखे। ‘हल्ला छिटो फैलिन्छ, तर सत्य प्रमाणसहित मात्र आउँछ,’ उनले उल्लेख गरे।

त्यस्तै, पार्टीको नारा र व्यक्तिगत व्यवहारबीच अन्तर रहेको भन्ने टिप्पणीप्रति उनले व्यक्तिगत लगानीलाई बिचौलियासँगको मिलेमतोसँग जोड्नु अनुचित भएको बताए।

अन्त्यमा गृहमन्त्रीले आरोप र सत्य फरक कुरा भएको उल्लेख गर्दै निर्णय प्रमाणका आधारमा हुनुपर्नेमा जोड दिए। साथै, पार्टीले गर्ने निर्णयलाई पूर्ण रूपमा पालना गर्ने र अनुसन्धानमा आवश्यक सहयोग गर्न आफू तयार रहेको पनि उनले स्पष्ट पारे।

images
images

प्रतिक्रिया दिनुहोस्