Advertisement
Advertisement
Corporate Samachar
२५ असार २०८३, बिहीबार
Advertisement

जेठ १७ को घटनामा जाँचबुझ समितिको निष्कर्ष– ‘मर्यादा उल्लंघन भयो, कडा कदम चाल्नुपर्छ’

जेठ १७ को घटनामा जाँचबुझ समितिको निष्कर्ष– ‘मर्यादा उल्लंघन भयो, कडा कदम चाल्नुपर्छ’
विज्ञापन
Advertisement

काठमाडौं । प्रतिनिधिसभाको जेठ १७ गते भएको घटनाको छानबिन गर्न गठित जाँचबुझ समितिले संसद्मा संसदीय मर्यादा उल्लंघन भएको निष्कर्ष निकाल्दै सभामुखलाई प्राप्त विशेषाधिकार तत्काल प्रयोग गर्न सुझाव दिएको छ ।

विज्ञापन
Advertisement
Advertisement

समितिले अमर्यादित तथा उत्तेजक अभिव्यक्ति प्रयोग भएको अवस्थामा प्रतिनिधिसभा नियमावलीको प्रभावकारी कार्यान्वयन गर्दै त्यस्ता अभिव्यक्ति संसद्को अभिलेखबाट हटाउनेदेखि बैठकबाट निष्कासन गर्नेसम्मका व्यवस्था सभामुखले कठोर रूपमा लागू गर्नुपर्ने सुझाव दिएको हो । सभामुख सचिवालयले सार्वजनिक गरेको प्रतिवेदनअनुसार समितिले सांसदहरूले पालना गर्नुपर्ने आचारसंहिता र नियमको पूर्ण कार्यान्वयनमा स्वयं सांसद, संघीय संसद् सचिवालय र सभामुखले गम्भीर भूमिका निर्वाह गर्नुपर्ने औंल्याएको छ ।

समितिले संसद्मा अनुशासन कायम गर्न अभिमुखीकरण तथा आचारसंहिता सम्बन्धी सचेतना वृद्धि गर्ने, दलीय नेतृत्व र प्रमुख सचेतकहरूको भूमिका प्रभावकारी बनाउने, सुरक्षा तथा प्रविधि व्यवस्थापन सुधार गर्ने, अन्तर्राष्ट्रिय असल अभ्यास अवलम्बन गर्ने, आचरण अनुगमन समितिलाई सक्रिय बनाउने तथा संसद् सचिवालयको जनशक्ति र प्रविधि क्षमता सुदृढ गर्न सुझाव पनि दिएको छ । त्यस्तै, सिसिटिभी निगरानी, अभिलेख व्यवस्थापन, नजिर व्यवस्थापन, राजनीतिक दलहरूको आन्तरिक अनुशासन र उत्तरदायित्व वृद्धि तथा कार्यव्यवस्था परामर्श समितिको भूमिकालाई थप प्रभावकारी बनाउनुपर्ने प्रतिवेदनमा उल्लेख छ ।

विरोधका क्रममा भएको गतिविधि मर्यादाविपरीत

समितिले जेठ १७ गतेको घटनाको अध्ययनका क्रममा प्रहरी मुचुल्का, श्रव्यदृश्य सामग्री, प्रत्यक्षदर्शीको बयान तथा अन्य दस्तावेजहरूको विश्लेषण गरेको थियो ।

प्रतिवेदनअनुसार प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रमपछि विपक्षी दलका सदस्यहरूले विरोध सुरु गरेका थिए। त्यसक्रममा सभामुखले सदस्यहरूलाई मर्यादित व्यवहार गर्न पटक–पटक आग्रह गरे पनि केही सदस्यहरूले नाराबाजी गर्दै वेल घेराउ गरेका थिए । समितिका अनुसार विरोधका क्रममा केही सदस्यहरू टेबलमाथि चढेर नाराबाजी गरेको, सभामुखको डायसतर्फ अघि बढ्ने प्रयास गरेको, मर्यादापालकसँग धकेलाधकेल भएको र संसद् भवनभित्रका केही भौतिक संरचनामा क्षति पुगेको देखिएको छ ।

समितिका अनुसार विरोधका क्रममा सभामुखको डायस अगाडिको टेबलको बार फुटेको, माइक स्ट्यान्ड ढलेको, माइकका तारहरू अव्यवस्थित भएको, ढोकामा क्षति पुगेको तथा केही सामग्री फुटेको पाइएको छ । मर्यादापालकबाट प्राप्त जानकारीअनुसार केही सदस्यहरूले टेबलमाथि चढेर नाराबाजी गरेका थिए भने केहीले डायसतर्फ जाने प्रयास गरेका थिए । सो क्रममा सदस्यहरूबीच धकेलाधकेल हुँदा सभामुखको आसन अगाडिको संरचनामा क्षति पुगेको र केही मर्यादापालक सामान्य घाइते भएको समितिको भनाइ छ।

घटना व्यवस्थापनमा कमजोरी देखिएको निष्कर्ष

समितिले घटनामा संसदीय मर्यादा उल्लंघन मात्र नभई नियमावली कार्यान्वयनमा कमजोरी, संयमताको अभाव र व्यवस्थापकीय चुनौतीसमेत देखिएको निष्कर्ष निकालेको छ । प्रतिवेदनअनुसार पहिलो बैठक दिउँसो १ः२५ बजे सुरु भएको थियो । प्रधानमन्त्रीसँगको प्रश्नोत्तरपछि सुरु भएको विरोधका कारण बैठक बेलुका ७ः४० बजे स्थगित भएको थियो । त्यसपछि राति ८ः५० बजे पुनः सुरु भएको बैठकमा पनि विरोध जारी रहेपछि दोस्रो र तेस्रो बैठकसमेत छोटो समयमै स्थगित भएका थिए ।

१७ गते के– के भयो ?

संसद् बैठकको क्रममा सभामुखले सदस्यहरूलाई सभाको मर्यादामा रहन निर्देशन दिइरहँदा विभिन्न सांसदहरूबाट अमर्यादित व्यवहार प्रदर्शन भएको देखिएको प्रतिवेदनमा उल्लेख छ। सदन सञ्चालनको ६ घण्टा १० मिनेटको समयमा सदस्य विष्णु बहादुर खड्काले कुर्सीमा खुट्टाले हानेका थिए। सोही क्रममा सदस्य सन्तोष सुब्बा टेबलमाथि चढेर सभामुखतर्फ औंला ठड्याउँदै डायसतर्फ अघि बढ्न खोज्दा मर्यादापालकहरूले उनलाई रोकेको बताइएको छ।

‘यसैबीच, सदस्य रिंगला यादव पनि टेबलमा चढेर मर्यादापालकहरूलाई औंला देखाउँदै ओई मर्यादापालकहरु…भनी कराएको र निरन्तर टेबलमै उभिएर नाराबाजी गरेको देखियो। केही समयपछि उहाँ पुनः टेबलमा चढेर सभामुखतर्फ अगाडि बढ्न खोज्दै मर्यादापालकहरूलाई औंला उठाएर केही भनिरहेको देखियो। समग्रमा, सभामुखको निर्देशनका बावजुद संसद्‌मा टेबलमाथि चढ्ने, भौतिक प्रहार गर्ने र अमर्यादित रूपमा आक्रोश पोख्ने कार्यहरू भएका देखिन्छन्’, समितिले बुझाएको प्रतिवेदनमा भनिएको छ।

यसैगरी, समितिले रास्वपा सांसद गणेश पराजुली दोषी नरहेको स्पष्ट पारेको छ। ‘ सदन सञ्चालन भएको ६ घण्टा १३ मिनेट जाँदा माननीय सदस्य निता घतानीले कुनै वस्तुले सत्तापक्षका माननीय तर्फ प्रहार गरेको देखिएको, ६ घण्टा १३ मिनेट जाँदा विरोधकै क्रममा माननीय सदस्य गणेश पराजुली बसिरहनु भएको कुर्सी धकेलिएपछि उहाँ उठ्नु भएको देखिएको, माननीय सदस्य अशोक कुमार चौधरीपनि सँगसँगै उठ्नुभएको र उहाँ कुर्सी माथि टेकेर टेवल माथि चढ्दै गरेको देखिएको तथा माननीय सदस्य समीक्षा बास्कोटा, गणेश कार्की र प्रकाशचन्द्र परियारले उहाँलाई तानेर तल झारेको देखिएको छ’ समिति प्रतिवेदनमा भनिएको छ, ‘तत्पश्चात् ६ घण्टा १३ मिनेट जाँदा माननीय सदस्य निता घतानीले कुनै वस्तुले सत्तापक्षका माननीय तर्फ प्रहार गरेको देखिएको छ।’

नियमावलीअनुसार हुन सक्ने कारबाही के ?

समितिले सभामुखलाई प्रतिनिधिसभा नियमावली २०८३ अनुसार कारबाही गर्न सक्ने अधिकार प्रयोग गर्न सुझाव दिएको छ । नियमावलीमा अभद्र व्यवहार गर्ने सदस्यलाई चेतावनी दिने, आदेश नमाने बैठक कक्षबाट निष्कासन गर्ने, सभाको काममा जानाजानी बाधा पुर्‍याउने वा सभामुखको आसनको अवहेलना गर्ने सदस्यलाई निलम्बन गर्न सकिने व्यवस्था छ । त्यस्तै, बैठक कक्षमा ध्वंसात्मक गतिविधि गर्ने, बल प्रयोग गर्ने वा भौतिक क्षति पुर्‍याउने सदस्यलाई सभामुखले तत्काल निष्कासन गरी बढीमा १५ दिनसम्म निलम्बन गर्न सक्ने र क्षति भएको सामग्रीको क्षतिपूर्ति भराउन सक्ने व्यवस्था नियमावलीमा रहेको छ ।

जेठ १७ गतेको घटनाको छानबिन गर्न जेठ १८ गते बसेको प्रतिनिधिसभा बैठकले जाँचबुझ समिति गठन गरेको थियो । समितिको संयोजकमा प्रतिनिधिसभाका सचिव प्रकाश अधिकारी तथा सदस्यमा आन्तरिक स्रोत तथा योजना व्यवस्थापन महाशाखा प्रमुख बबिता मिश्र र प्रविधि व्यवस्थापन महाशाखा प्रमुख गोपाल सिग्देल रहेका थिए ।

समितिलाई प्रतिवेदन बुझाउन सात दिनको समय दिइएको थियो। समितिले घटनास्थल अध्ययन, श्रव्यदृश्य प्रमाण संकलन, प्रत्यक्षदर्शीको बयान तथा सम्बन्धित कागजात विश्लेषण गरी प्रतिवेदन तयार गरेको जनाएको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit