देवदह (रूपन्देही) । लुम्बिनी विश्व शान्ति मञ्चले २५७०औँ बुद्ध जयन्तीका अवसरमा ‘लुम्बिनीको माटो, समृद्धिको बाटो’ अभियान घोषणा गरेको छ । अभियानअन्तर्गत भैरहवा–लुम्बिनी क्षेत्रमा दुई हजार ५७० वटा बिरुवा रोप्ने कार्यक्रम रहेको मञ्चका संस्थापक तथा अध्यक्ष वासु गौतमले बताए ।
अभियानको घोषणा सिद्धार्थनगर नगरपालिका–५ स्थित श्री भैरहवा नमूना माध्यमिक विद्यालयबाट गरिएको छ । आज विद्यालय परिसरमा १०८ वटा विभिन्न फलफूलका बिरुवा रोपिएको गौतमले जानकारी दिए । बाँकी बिरुवा अबको दुई महिनामा रोप्ने कार्यक्रम रहेको उनको भनाइ छ । भैरहवाको पुरानो विद्यालय भैरहवा नमूना माविमा लुम्बिनी विश्व शान्ति मञ्चको आयोजना तथा विभिन्न सङ्घसंस्था र बैङ्क तथा वित्तीय संस्थाको सहयोगमा कार्यक्रम गरिएको उनले बताए । सोही अवसरमा विद्यालय परिसरमा रक्तदान कार्यक्रम समेत आयोजना गरिएको थियो ।
त्यस्तै, शुक्रबार नै लुम्बिनी सांस्कृतिक नगरपालिका–१ स्थित बुद्ध आदर्श माध्यमिक विद्यालय, खुनगाईमा १०० वटा बिरुवा रोपिएको अध्यक्ष गौतमले जानकारी दिए । ‘फलफूलका विरुवा रोप्ने गरेका छौँ, यस्तो कार्यक्रम गर्न पाउँदा निकै खुसी छौं,’ उनले भने ।
लुम्बिनी विश्व शान्ति मञ्चले मुलुकका विभिन्न स्थानमा गरी १० लाख वटा बिरुवा रोप्ने र हुर्काउने अभियानमा रहेको छ । हालसम्म एक लाख ९५ हजार ७०० बिरुवा रोपिसकिएको छ । ‘लुम्बिनीको माटो, समृद्धिको बाटो’ अभियान घोषणा कार्यक्रममा सिद्धार्थनगर नगरपालिका–५ का वडाअध्यक्ष पुरनप्रसाद श्रेष्ठले लुम्बिनी विश्व शान्ति मञ्चले विद्यालय प्राङ्गणमा वृक्षरोपण तथा रक्तदान जस्तो पुनित कार्य गरेको बताए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अमितकुमार गुप्ताले शान्त वातावरणमा सभ्य रूपमा कार्यक्रम भएको उल्लेख गरे ।
यस्तै, रिसाइल टू रिभाइभका कोषाध्यक्ष रमेश खड्काले लुम्बिनी विश्व शान्ति मञ्चसँगको सहकार्यमा आफ्ना बुबा स्व चन्द्रबहादुर खड्काको सम्झनामा भैरहवा नमूना माविमा ५१ हजार १११ को अक्षयकोष स्थापना गरेको सुनाए । विराटनगर निवासी रमेश खड्का हाल अष्टे«लियामा बस्दै आएका छन् । कार्यक्रममा गोलिगढ टोल सुधार समितिलाई टोलको सरसफाइमा सहजता प्रदान होस् भन्ने उद्देश्यले लुम्बिनी विश्व शान्ति मञ्चले सरसफाइ सामग्री हस्तान्तरण गरेको थियो । रासस







कर्पोरेट समाचार 




















प्रतिक्रिया दिनुहोस्