Advertisement
Advertisement
Corporate Samachar
४ असार २०८३, बिहीबार
Advertisement

भन्सार कडाइसँगै भद्रपुर बजारमा चहलपहल, नेपाली व्यवसायीमा आशा

भन्सार कडाइसँगै भद्रपुर बजारमा चहलपहल, नेपाली व्यवसायीमा आशा
विज्ञापन
Advertisement

झापा  । भद्रपुर वर्षैभरि प्रायः सुनसान देखिने सहर हो। तर पछिल्ला दिनहरूमा यहाँको बजारमा असामान्य चहलपहल देखिन थालेको छ। नेपाल सरकारले सीमावर्ती भन्सार नाकामा कडाइ गरेपछि स्थानीय व्यापारमा नयाँ ऊर्जा आएको छ, जसले यहाँका व्यवसायीहरूमा उत्साह थपेको छ।

विज्ञापन
Advertisement
Advertisement

लामो समयदेखि भारतीय बजारमा निर्भर उपभोक्ता र व्यापारीहरू क्रमशः स्वदेशी बजारतर्फ फर्किन थालेपछि भद्रपुरको व्यापारमा सकारात्मक संकेत देखिएको हो। भारतबाट ल्याइने रु एक सयभन्दा बढी मूल्यका सामानमा भन्सार लाग्न थालेपछि उपभोक्ताको किनमेल बानीमा परिवर्तन आउन थालेको स्थानीयहरू बताउँछन्।

भद्रपुर आसपासका बासिन्दाका लागि भारतको गलगलिया बजार प्रमुख किनमेल केन्द्र थियो। दैनिक उपभोग्य सामग्रीदेखि लत्ताकपडासम्म सस्तोमा पाइने भएकाले नेपाली उपभोक्ताको आकर्षण त्यतैतिर केन्द्रित हुने गर्थ्यो। तर अहिले सीमामा कडाइ बढेपछि यसको प्रत्यक्ष असर व्यापारिक गतिविधिमा देखिन थालेको छ।

भद्रपुर–६ स्थित ‘रवि वस्त्रालय’का सञ्चालक रवि गुप्ता केही समयअघिसम्म व्यापार निकै सुस्त भएको सम्झिन्छन्। उनका अनुसार अवस्था यति कमजोर थियो कि व्यापार छोड्ने सोचसम्म आउन थालेको थियो। तर पछिल्ला दिनहरूमा व्यापारमा सुधार आएको छ, र अहिले कारोबार ३० देखि ४० प्रतिशतसम्म बढेको उनको अनुभव छ। यही प्रवृत्ति कायम रहे व्यापार पूर्ण रूपमा पुनर्जीवित हुन सक्ने उनको अपेक्षा छ।

उही क्षेत्रमा ‘राजेश स्टोर’ सञ्चालन गर्दै आएका शत्रुधन प्रसाद पनि पछिल्लो व्यापारिक अवस्थालाई सकारात्मक रूपमा लिन्छन्। केही दिनको कारोबारले बजारमा आशा जगाएको उनी बताउँछन्, यद्यपि यो अवस्था दीर्घकालीन रूपमा कति टिकाउ हुन्छ भन्नेबारे अझै निश्चितता छैन। भन्सार कडाइ निरन्तर रह्यो भने व्यापार अझै बढ्न सक्ने उनको विश्वास छ।

भद्रपुरका पुराना पत्रकार देवेन्द्रकिशोर ढुङ्गानाले यस क्षेत्रको ऐतिहासिक व्यापारिक महत्व सम्झन्छन्। उनका अनुसार २०३४ सालसम्म झापाको प्रमुख भन्सार कार्यालय भद्रपुरमै थियो। पछि कार्यालय काँकडभिट्टा सरेपछि यहाँको व्यापारिक गतिविधि क्रमशः घट्दै गएको थियो। अहिलेको कडाइले पुरानो रौनक तुरुन्त फर्काउने अवस्था नआए पनि केही सकारात्मक प्रभाव भने देखिएको उनको भनाइ छ।

सीमापारिको अवस्थाले पनि यो परिवर्तन झल्काउँछ। गलगलियामा किराना पसल सञ्चालन गर्ने प्रदीप घोषका अनुसार नेपाली ग्राहक घटेपछि व्यापार ६० देखि ७० प्रतिशतसम्म घटेको छ। उनी भन्छन्, नेपाली ग्राहक नै मुख्य आधार भएकाले उनीहरूको कमीले व्यवसायमा ठूलो असर परेको छ। यस्तो अवस्था लामो समय रह्यो भने विकल्प खोज्नुपर्ने अवस्था आउन सक्ने उनले संकेत गरेका छन्।

यद्यपि सबै व्यापारीको अनुभव उस्तै छैन। त्यही क्षेत्रमा ‘सेवारो कपडा पसल’ सञ्चालन गर्ने नारायण लिम्बूका अनुसार व्यापार पुनः सामान्य हुँदै गएको छ। केही समय असर परे पनि अहिले ग्राहक विस्तारै फर्किन थालेको उनको अनुभव छ। सानो परिमाणमा सामान ल्याउन दिइएको सहुलियतले व्यापारलाई केही सहज बनाएको देखिन्छ।

फुटवेयर व्यवसायी राजन चौधरी भने भारतीय ग्राहकमा निर्भर हुनुपरेको बताउँछन्। नेपाली ग्राहक घटेपछि व्यापारमा ३० प्रतिशतभन्दा बढी गिरावट आएको उनको अनुभव छ।

भन्सार कडाइको असर आवतजावतमा पनि परेको छ। भद्रपुर भन्सार कार्यालयका सूचना अधिकारी प्रेमबहादुर लामाका अनुसार सीमामा मानिसको आवागमन घट्दा राजस्व संकलनमा पनि प्रभाव परेको छ। कम आवतजावत हुँदा राजस्वमा स्वाभाविक रूपमा कमी आउने उनले बताए।

सुरक्षा निकायले सीमामा निगरानी कडा बनाएको छ। सशस्त्र प्रहरी बलका शङ्कर शाहका अनुसार घरायसी प्रयोजनका लागि ल्याइने सामानमा केही सहुलियत भए पनि जाँचपछि मात्र भित्रिन दिइन्छ। व्यापारिक र व्यक्तिगत प्रयोजन छुट्याएर आवश्यक भन्सार तिराउने व्यवस्था गरिएको छ। खुला सीमाका कारण पूर्ण नियन्त्रण चुनौतीपूर्ण भए पनि अवैध कारोबार रोक्न प्रयास जारी रहेको उनको भनाइ छ।

भद्रपुर भन्सार कार्यालयको तथ्यांकअनुसार चालु आर्थिक वर्ष २०८२र८३ को वैशाख १९ गतेसम्म रु १३ करोड ४३ लाख ७९ हजार राजस्व संकलन भएको छ। यहाँबाट कपडा, हार्डवेयर, खाद्यान्न र विद्युतीय सामग्री मुख्य रूपमा आयात हुने गरेका छन्।

समग्रमा हेर्दा भन्सार कडाइले सीमावर्ती व्यापारको स्वरूपमा परिवर्तन ल्याएको छ। एकातर्फ भद्रपुर बजारमा चहलपहल बढेको छ भने अर्कोतर्फ भारतीय बजारमा यसको प्रत्यक्ष असर परेको देखिन्छ। यद्यपि यो अवस्था कति समय टिक्छ भन्ने अझै स्पष्ट छैन। तर कडाइ निरन्तर र प्रभावकारी रूपमा कायम रह्यो भने भद्रपुरजस्ता पुराना बजारहरू पुनः जीवित हुने सम्भावना देखिएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit