काठमाडौं । गृहसचिव राजकुमार श्रेष्ठले प्रहरी सङ्गठनभित्र सरुवा र बढुवालाई निष्पक्ष तथा अनुमानयोग्य बनाउन निर्देशन दिएका छन्। पेसागत दक्षता र क्षमताको आधारमा वृत्तिविकास सुनिश्चित गरिए असन्तुष्टि घट्ने विश्वास पनि उनले व्यक्त गरेका छन्।
मन्त्रिपरिषद्को वैशाख १४ गतेको निर्णयअनुसार सशस्त्र प्रहरी महानिरीक्षकमा पदोन्नति भएका नारायणदत्त पौडेललाई गृह मन्त्रालयमा आयोजित समारोहमा दज्र्यानी चिह्न प्रदान गर्दै श्रेष्ठले यस्तो धारणा राखेका हुन्। उनले सीमित स्रोतसाधनका बाबजुद सशस्त्र प्रहरी बल नेपालले प्रभावकारी कार्यसम्पादन गर्दै आएको उल्लेख गरेका हुन्।
श्रेष्ठले सरुवा प्रणाली र वृत्तिविकासलाई व्यवस्थित रूपमा सञ्चालन गर्न सके गुनासा न्यून हुने बताउँदै आगामी मनसुनजन्य विपद्मा पूर्वतयारी सहित उद्धार, व्यवस्थापन र राहत कार्यमा सक्रिय रहन निर्देशन दिए। त्यस अवसरमा महानिरीक्षक पौडेलले संविधान, कानुन, राष्ट्रिय हित र जनअपेक्षालाई केन्द्रमा राख्दै इमान्दारिता, निष्पक्षता र दृढताका साथ जिम्मेवारी निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले आफ्नो कार्यकालमा सीमा सुरक्षालाई सुदृढ बनाउने तथा सङ्गठनको नीतिगत, संस्थागत र संरचनागत सुधारका लागि रणनीतिक योजना तयार गरिएको जानकारी दिएका छन्।
उनले नेपाल सरकारले अघि सारेको १०० बुँदे शासकीय सुधार योजनाअनुसार सेवा प्रवाहलाई समय सापेक्ष र जनउत्तरदायी बनाउन आवश्यक कदम चालिने पनि उल्लेख गरे। समारोहमा नेपाल प्रहरी का महानिरीक्षक, अवकाशप्राप्त सशस्त्र प्रहरी महानिरीक्षकहरू, राष्ट्रिय अनुसन्धान विभागका प्रतिनिधि, प्रहरी अतिरिक्त महानिरीक्षकहरू तथा गृह मन्त्रालयका उच्च अधिकारीहरूको उपस्थिति रहेको थियो।
नवनियुक्त महानिरीक्षक पौडेलको परिचय
महानिरीक्षक पौडेलले २०५४ सालमा नेपाल प्रहरी बाट प्रहरी निरीक्षकका रूपमा सेवा सुरु गरेका थिए भने २०५८ सालमा सशस्त्र प्रहरी बलमा स्थानान्तरण भएका थिए।
सुर्खेतको साबिक जर्बुटा गाविस निवासी पौडेलले स्नातकोत्तरसम्म अध्ययन गरेका छन्। नेपाल प्रहरीमा रहँदा रोल्पामा ‘स्ट्राइकिङ’ टोली कमान्डरका रूपमा कार्य गर्दै संवेदनशील अवस्थामा सुरक्षा व्यवस्था मजबुत बनाएका थिए। साथै इलाका प्रहरी कार्यालय बिर्तामोड, झापामा प्रमुखका रूपमा प्रभावकारी नेतृत्व दिएका थिए।
सशस्त्र प्रहरी बलमा आबद्ध भएपछि उनले दाङको तुल्सीपुरस्थित सुरक्षा बेसमा प्रमुखको जिम्मेवारी सम्हालेका थिए। त्यसैगरी बर्दिया सीमा सुरक्षा कार्यालय, नीलबाराही गण र बङ्गलामुखी विशेष कार्यदल गणमा नेतृत्व प्रदान गरेका थिए।
वरिष्ठ उपरीक्षक हुँदा पकलीस्थित पूर्वक्षेत्रीय मुख्यालय बराह वाहिनी र सुदूरपश्चिमको बैद्यनाथ वाहिनीमा सहायक वाहिनीपतिका रूपमा उत्कृष्ट समन्वय गरेका उनले नायब महानिरीक्षकका रूपमा लुम्बिनी र गण्डकी प्रदेशमा नेतृत्व सम्हालेका थिए।
अतिरिक्त महानिरीक्षक हुँदा मानवस्रोत, सीमा तथा कार्य विभागको जिम्मेवारी सम्हाल्दै नीतिगत तथा रणनीतिक कार्यान्वयनमा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए। साथै संयुक्त राष्ट्रसङ्घीय शान्ति स्थापना मिसनअन्तर्गत लाइबेरिया र कोसोभोमा करिब २५ महिना सेवा गरेका अनुभव पनि उनीसँग रहेको छ।







कर्पोरेट समाचार 




















प्रतिक्रिया दिनुहोस्