काठमाडौं। आईसीटी फाउन्डेसन नेपालले टेकस्पायर कलेजको सहकार्यमा आयोजना गरेको ‘बागमती ओरिएन्टेसन सत्र’ सम्पन्न गरेको छ । इन्क्युबेसन तथा उद्यमशीलता विकासलाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ आयोजना गरिएको यस कार्यक्रममा दर्ता भएका १५ मध्ये १२ वटा स्टार्टअप टिमहरूको सक्रिय सहभागिता रहेको जनाइएको छ ।
फाउन्डेसनकी सञ्चार अधिकारी कृष्पना पौडेलका अनुसार कार्यक्रममा सहभागी नवप्रवर्तनकारी उद्यमीहरूले आफ्नो व्यवसायलाई गति दिन सशक्त मेन्टरशिप, लगानीको अवसर र नीतिगत तहमा पहुँचको आवश्यकता रहेको औंल्याएका थिए। कार्यक्रम संयोजक रचना खरेलले व्यवसाय इन्क्युबेसन सेवाको कार्ययोजना र यसले स्टार्टअपहरूलाई गर्ने सहयोगबारे सहभागीहरुलाई विस्तृत जानकारी दिएकी थिइन् । सहभागी १२ टोलीले २–३ आफ्ना नवीन व्यावसायिक योजनाहरू प्रस्तुत गरेका थिए।
अन्तरक्रियात्मक सत्रमा उद्यमी भुषण गिरीले स्टार्टअपका चुनौती र समाधानबारे अनुभव सुनाउँदै भनेका छन्, ‘ उत्पादन पूर्ण हुने प्रतीक्षामा समय खेर नफाल्नुहोस्, प्रारम्भिक चरणमै काम अघि बढाउनुहोस्। साथै, व्यवसायको कानुनी र वित्तीय पक्षलाई सुरुदेखि नै व्यवस्थित बनाउन जरुरी छ।’ उनले सह–संस्थापकहरूबीच स्पष्ट लक्ष्य, जिम्मेवारी बाँडफाँट र ओकेआर अवधारणाको महत्त्वमा समेत जोड दिए । त्यस्तै, अर्का वक्ता रेशम भण्डारीले आइडियालाई मात्र नभई समस्याको समाधानलाई उद्यमीहरुले प्रेम गर्नुपर्नेमा जोड दिँदै व्यवसायिक सोचमा स्पष्ट हुन आग्रह गरे ।
कार्यक्रममा कृषि, प्रविधि, सेवा र अटोमोबाइल क्षेत्रका विभिन्न स्टार्टअपहरूको सहभागिता थियो ।
औद्योगिक उद्यम विकास संस्थानका इन्जिनियर उमेश गुप्ताले ७५ आवेदनमध्ये ४२ संस्था छनोट भएको र तीमध्ये आईसीटी फाउन्डेसन पनि एक रहेको जानकारी दिए । उनले नेपाललाई ‘आईटी इन्जिनियरहरूको देश’ का रूपमा विकास गर्ने लक्ष्य रहेको उल्लेख गरे ।आईसीटी फाउन्डेसन नेपालले यस्ता कार्यक्रममार्फत स्टार्टअपहरूलाई मेन्टरशिप, नेटवर्किङ र लगानीको वातावरण तयार गरी बागमती प्रदेशमा उद्यमशीलताको जग बलियो बनाउने अपेक्षा राखेको जनाएको छ।







कर्पोरेट समाचार 




















प्रतिक्रिया दिनुहोस्