Advertisement
Advertisement
Corporate Samachar
८ जेष्ठ २०८३, शुक्रबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

इभी मोटर क्षमता विवादमा स्पष्ट मापदण्ड माग गर्दै सरकारलाई नाइमाको ध्यानाकर्षण

इभी मोटर क्षमता विवादमा स्पष्ट मापदण्ड माग गर्दै  सरकारलाई नाइमाको ध्यानाकर्षण
विज्ञापन
Advertisement

काठमाडाैं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एशोसिएसन (नाइमा) ले नेपालमा विद्युतीय सवारी साधन (इभी) को मोटर क्षमता सम्बन्धमा पछिल्लो समय भइरहेका टिप्पणी, चर्चा तथा व्याख्याप्रति आफ्नो ध्यानाकर्षण भएको जनाएको छ।

विज्ञापन
Advertisement
Advertisement

शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै नाइमाले इभी मोटर क्षमता परीक्षण, प्रमाणीकरण तथा प्राविधिक मूल्यांकनसम्बन्धी विषयमा स्पष्ट, व्यवहारिक र एकरूप व्यवस्था आवश्यक रहेको बताएको हो।

यस विषयलाई नाइमाले यसअघि अर्थ मन्त्रालय, उद्योग मन्त्रालय तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसँग भएको छलफलमा समेत उठाएको जनाएको छ।

नाइमाका अनुसार नेपालमा आयात भइरहेका विद्युतीय सवारी साधन अन्तर्राष्ट्रिय मान्यता प्राप्त उत्पादक कम्पनीहरूले जारी गरेका आधिकारिक प्राविधिक विवरण, परीक्षण प्रतिवेदन तथा प्रमाणीकरण प्रक्रियाका आधारमा आयात हुँदै आएका छन्।

विश्व अटोमोबाइल उद्योगमा एउटै मोडलका सवारी साधन विभिन्न देश तथा बजार आवश्यकताअनुसार फरक–फरक प्राविधिक स्पेसिफिकेसनमा उत्पादन हुनु सामान्य अन्तर्राष्ट्रिय अभ्यास रहेको संघले उल्लेख गरेको छ।

संघले केवल वेबसाइटमा उपलब्ध विवरण, मोडल नाम वा बाह्य जानकारीका आधारमा मोटर क्षमता सम्बन्धी निष्कर्ष निकाल्नु प्राविधिक रूपमा विश्वसनीय नहुने दाबी गरेको छ।

नाइमाले हाल नेपालमा इभी सवारी साधनसँग सम्बन्धित मोटर क्षमता परीक्षण तथा प्रमाणीकरणका लागि स्पष्ट राष्ट्रिय प्राविधिक मापदण्ड, संस्थागत परीक्षण प्रणाली तथा एकीकृत कार्यविधि पूर्ण रूपमा कार्यान्वयनमा नआएको जनाएको छ। यही अस्पष्टताका कारण विभिन्न तहमा भ्रम, अन्योल तथा फरक–फरक व्याख्या उत्पन्न भइरहेको संघको भनाइ छ।

प्रेस विज्ञप्तिमा इभी सवारी साधनको प्राविधिक मूल्यांकन आधिकारिक उत्पादक कम्पनीबाट जारी प्रमाणित विवरण, अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त परीक्षण निकायका प्रमाणपत्र तथा स्थापित प्राविधिक मापदण्डका आधारमा गरिनुपर्ने उल्लेख गरिएको छ।

साथै सम्बन्धित सरकारी निकायहरूबीच एकरूप व्याख्या तथा कार्यान्वयन सुनिश्चित गर्न स्पष्ट प्राविधिक कार्यविधि, परीक्षण पूर्वाधार तथा प्रमाणीकरण प्रणाली तत्काल विकास गर्नुपर्ने माग गरिएको छ।

नाइमाले विद्युतीय सवारी साधनलाई नेपालको स्वच्छ ऊर्जा उपयोग, दिगो यातायात प्रणाली विकास तथा हरित अर्थतन्त्र प्रवर्द्धन गर्ने महत्वपूर्ण माध्यमका रूपमा व्याख्या गरेको छ।

इभी क्षेत्रको विस्तारले स्वदेशी स्वच्छ ऊर्जाको उपयोग बढाउनुका साथै वातावरणीय प्रदूषण न्यूनीकरण र ऊर्जा तथा यातायात क्षेत्रको दीर्घकालीन दिगोपनामा सकारात्मक योगदान पुर्‍याइरहेको संघको भनाइ छ।

संघले अपुष्ट सूचना वा फरक–फरक व्याख्याले बजारमा अनावश्यक अन्योल सिर्जना गर्नुका साथै उपभोक्ता विश्वास, लगानीको वातावरण तथा विद्युतीय सवारी क्षेत्रको दीर्घकालीन विकास प्रक्रियामा असर पार्न सक्ने चेतावनी दिएको छ।

नाइमाले सरकार तथा सम्बन्धित निकायहरूसँग समन्वय र सहकार्यलाई निरन्तर सुदृढ गर्दै स्पष्ट, पारदर्शी तथा व्यवहारिक प्राविधिक प्रणाली विकासका लागि रचनात्मक भूमिका निर्वाह गरिरहने प्रतिबद्धता समेत जनाएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit