काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफेक्चरर्स एसोसिएसन (नाइमा) ले साउन २६ देखि ३१ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा ‘नाइमा मोबिलिटी एक्स्पो २०२६’ आयोजना गर्ने भएको छ।
आयोजकका अनुसार ६ दिनसम्म चल्ने एक्स्पोमा ५३ भन्दा बढी ब्रान्ड सहभागी हुनेछन् भने ४० भन्दा बढी नयाँ दुई पाङ्ग्रे, चार पाङ्ग्रे, व्यावसायिक, विद्युतीय (ईभी) र हाइब्रिड सवारीसाधन नेपाली बजारमा पहिलोपटक सार्वजनिक (लन्च) गरिनेछ।

नाइमाकी अध्यक्ष ऋतुसिंह वैद्यले टिकट बिक्रीबाट संकलित रकमको १० प्रतिशत मोबिलिटी अनुसन्धान फेलोसिपमा खर्च गरिने जानकारी दिइन्। एक्स्पोमा ‘मोबिलिटी संवाद’ लगायतका ज्ञानमूलक कार्यक्रम पनि सञ्चालन हुनेछन्। आयोजकका अनुसार एक्स्पोका ५१ वटै स्टल बुक भइसकेका छन्। विद्यार्थीका लागि १०० रुपैयाँ र सर्वसाधारणका लागि २०० रुपैयाँ टिकट शुल्क तोकिएको छ।

सो अवसरमा अध्यक्ष वैद्यले नाइमा एक वर्षअघि नेपालका अटोमोबाइल आयातकर्ता तथा उत्पादकहरू समेट्ने २१ सदस्य कम्पनीबाट सुरु भएको र हाल ३६ प्रमुख सदस्य कम्पनीमा विस्तार भएको जानकारी दिइन् । उनका अनुसार, यो वृद्धि उद्योग क्षेत्रले नाइमाप्रति देखाएको विश्वास, एकीकृत मञ्चको आवश्यकता र नेपालको मोबिलिटी क्षेत्रको जिम्मेवार आवाजको स्पष्ट प्रतिविम्ब हो । ‘एक्स्पोलाई प्रदर्शनीमा सीमित नराखी नेपालमा आधुनिक, दिगो र सर्वसुलभ गतिशीलता प्रवर्द्धन गर्ने साझा मञ्चका रूपमा विकास गर्ने नाइमाको उद्देश्य रहेको छ’ अध्यक्ष वैद्यले भनिन्।

कार्यक्रममा नाइमा नेपाल मोबिलिटी एक्स्पो योजना समितिका संयोजक गौरव शारडाले सवारी ब्रान्डहरूमा टाटा, किया, डेन्जा, आमोडा, एमजी लगायतका चार पाङ्ग्रे, दुइपाङ्ग्रे विभिन्न ब्रान्ड सहभागी हुने जानकारी दिए । गत वर्षको तुलनामा यस वर्षको नाइमा एक्स्पो थप उत्साहपूर्ण हुने उनको भनाइ छ।















प्रतिक्रिया दिनुहोस्