Advertisement
Advertisement
Corporate Samachar
२३ असार २०८३, मंगलवार
Advertisement

थला पर्‍यो शेयर बजार, लगानीकर्तामा छैन उत्साह

थला पर्‍यो शेयर बजार, लगानीकर्तामा छैन उत्साह
विज्ञापन
Advertisement

काठमाडौं । दुई तिहाइको बलियो र स्थिर सरकार बनेपछि शेयर बजारले नयाँ उचाइ समाउने अपेक्षा गरिएको थियो। आम लगानीकर्तामा उत्साह थियो । नयाँ राजनीतिक शक्ति, नयाँ सोच र अर्थतन्त्रलाई गति दिने नयाँ योजनासहित पुँजी बजार पनि चलायमान हुने विश्वास गरिएको थियो।

विज्ञापन
Advertisement
Advertisement

त्यसमाथि खुला तथा उदार अर्थतन्त्रका जानकार मानिने डा. स्वर्णिम वाग्ले अर्थमन्त्री बनेपछि बजारप्रति झन् आशा बढेको थियो। यसअघि एमाले नेता विष्णु पौडेल अर्थमन्त्री हुँदा शेयर बजारले सकारात्मक प्रतिक्रिया दिएको अनुभवका आधारमा लगानीकर्ताले वाग्ले नेतृत्वको अर्थ मन्त्रालयबाट पनि त्यस्तै सकारात्मक वातावरणको अपेक्षा गरेका थिए।

तर, करिब ६ वर्षदेखि सुस्त गतिमा रहेको शेयर बजारले अपेक्षाअनुसार गति लिन सकेन। बरु, विस्तारै ओरालो लाग्दै बजार लगानीकर्ताको मनोबल कमजोर बनाउने दिशातर्फ धकेलिएको देखिन्छ।

सरकार फेरिनेबित्तिकै शेयर बजार सुधारका योजना र प्रतिबद्धता दोहोरिने गरेका छन्। पुँजी बजार सुधारसम्बन्धी सुझावहरू अर्थमन्त्रीको टेबुलसम्म पनि पुग्ने गरेका छन्। तर, व्यवहारमा भने बजारले अपेक्षित लय समाउन सकेको छैन।

अहिले बैंकिङ प्रणालीमा पर्याप्त तरलता छ, ब्याजदर पनि घट्दो क्रममा छ। यस्तो अवस्थामा पनि लगानीकर्ता किन बजारप्रति अनुदार देखिएका छन् भन्ने प्रश्न उठिरहेको छ। केही समयअघिसम्म दैनिक औसत ५ अर्ब रुपैयाँभन्दा बढी कारोबार हुने बजार अहिले २ अर्ब रुपैयाँ हाराहारीमा सीमित हुन थालेको छ।

सीडीएस एण्ड क्लियरिङका अनुसार हाल सक्रिय मेरो सेयर प्रयोगकर्ताको संख्या ५ लाख ५२ हजार नाघेको छ भने डिम्याट खाताको संख्या ७८ लाख पुगेको छ। यति ठूलो संख्यामा शेयरधनी भए पनि बजारमा उत्साहभन्दा निराशा बढी देखिन थालेको छ।

२०७८ सालको भदौमा उच्च विन्दुमा पुगेको नेप्से त्यसयता स्पष्ट ‘बुलिस ट्रेन्ड’ समात्न असफल देखिएको छ । एक समय लगानीकर्ताको कुल सम्पत्ति नेपालको कुल गार्हस्थ उत्पादन नजिक पुगेको अवस्था थियो। तर अहिले त्यो सम्पत्ति घटेर करिब ४६ खर्ब ५९ अर्ब रुपैयाँमा सीमित भएको छ।

धेरै लगानीकर्ताको बुझाइमा बजारमा सुधार गर्नुपर्ने आधारभूत समस्या त्यति गम्भीर छैन। एक पुँजी बजार विश्लेषक भन्छन्, ‘यो सरकारले पुँजी बजारका लागि खासै केही गरेको पनि छैन, विगारेको पनि छैन। तर पनि बजार घटिरहेको छ भने त्यसको अर्थ लगानीकर्ता सन्तुष्ट छैनन् भन्ने हो।’

विश्लेषकहरूका अनुसार सरकारले कार्यकालको सुरुवाती चरणलाई ‘हनिमुन पिरियड’का रूपमा उपयोग गर्दै लगानीकर्ताको मनोबल बढाउने र बजारलाई सकारात्मक संकेत दिने काम गर्नुपथ्र्यो। तर सरकार सुरुमै ‘शुद्धीकरण अभियान’तर्फ केन्द्रित भयो। निजी क्षेत्र र वित्तीय प्रणालीप्रति कठोर सन्देश जानेगरी भएका गतिविधिले लगानीकर्तामा झनै त्रास सिर्जना ग¥यो।

ठूला कम्पनी र तिनका नेतृत्वमाथि आएका नकारात्मक टिप्पणी तथा कारबाहीले बजार नै असुरक्षित भएको सन्देश फैलियो। परिणामतः लगानीकर्ताहरू ‘पर्ख र हेर’को अवस्थामा पुगेका छन्। लगानी गर्न तयार समूहसमेत अहिले सतर्क देखिन्छ।

अर्थमन्त्रीले नै शेयर बजार ‘ठूलो चलखेलबाट जोगिएको’ अभिव्यक्ति दिँदा बजारमा थप मनोवैज्ञानिक दबाब परेको विश्लेषण गरिन्छ। निजी क्षेत्रले सरकारको कार्यशैलीलाई ‘पहिला कारबाही गर्ने, पछि सुन्ने’ प्रवृत्तिका रूपमा बुझ्न थालेको छ ।

नेपाल इन्भेष्टमेन्ट बैंकका कार्यकारी निर्देशकविरुद्धको धरपकडलाई पनि धेरैले यही मनोवृत्तिको परिणामका रूपमा हेरेका छन्। पछिल्ला दिनमा सर्वोच्च अदालतले विभिन्न व्यक्तिलाई रिहा गर्दै गएको अवस्थाले बलियो अनुसन्धानभन्दा दबाब सिर्जना गर्ने प्रवृत्ति हावी भएको सन्देश गएको टिप्पणी हुन थालेको छ।

यद्यपि, अघिल्लो साताको तुलनामा यो साता नेप्सेमा सामान्य सुधार देखिएको छ। साताभरिमा नेप्से परिसूचक १३.७१ अंकले घटेर २ हजार ७३१.९४ विन्दुमा बन्द भयो। अघिल्लो साता सूचक २ हजार ७४५.६५ विन्दुमा बन्द भएको थियो।

यो साता नेप्सेले २ हजार ८०२.३८ को उच्चतम र २ हजार ७३१.९४ को न्यूनतम विन्दु छोएको थियो। यसअनुसार बजारमा ७०.४४ अंकको उतारचढाव देखियो, जबकि अघिल्लो साता ६१.१७ अंकको अस्थिरता थियो।

बजारमा अझै स्पष्ट दिशा देखिएको छैन। लगानीकर्ताको मनोबल फर्काउने ठोस नीति, स्थिर सन्देश र विश्वासिलो वातावरण निर्माण नगरेसम्म शेयर बजारमा पुरानै उत्साह फर्किन कठिन देखिन्छ।

साझा: Facebook X WhatsApp Telegram
भाेजराज भण्डारी

भाेजराज भण्डारी

संचालक सम्पादक

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit