वीरगन्ज (पर्सा) ।तथ्याङ्क समन्वय कार्यालय वीरगन्ज ले पर्साका ठूला औद्योगिक प्रतिष्ठानबाट आर्थिक गणनाका लागि आवश्यक तथ्याङ्क सङ्कलनमा समस्या भइरहेको जनाएको छ । कार्यालयका अनुसार कतिपय उद्योगले गणकलाई आवश्यक विवरण उपलब्ध नगराउँदा आर्थिक गणना प्रभावित बनेको छ ।
कार्यालय प्रमुख पुष्कर बिजुक्छेँका अनुसार आर्थिक गणनाका लागि पत्रसहित उद्योगहरूमा खटाइएका गणकले आवश्यक तथ्याङ्क प्राप्त गर्न कठिनाइ भोगिरहेका छन् । उनले जेठ ७ गते हुने समीक्षा बैठकमा तथ्याङ्क उपलब्ध नगराउने औद्योगिक प्रतिष्ठानहरूको सूचीबारे छलफल गर्ने तयारी रहेको जानकारी दिए ।
उनका अनुसार पर्साका ठूला उद्योगहरूमा आर्थिक गणनाका लागि आवश्यक विवरण मागिए पनि अपेक्षित सहयोग नपाइएको हो ।
यता वीरगन्ज उद्योग वाणिज्य सङ्घ का अध्यक्ष हरिप्रसाद गौतमले उद्योगी–व्यवसायी आर्थिक गणनामा सहयोग गर्न तयार रहेको दाबी गरे । उनले कुन–कुन उद्योगले तथ्याङ्क उपलब्ध नगराएको भन्ने विषयमा कार्यालयले सङ्घसँग समन्वय नगरेको बताए ।
सम्बन्धित कार्यालयले अनुरोध गरे सङ्घले उद्योगहरूलाई पत्राचार गरेर आर्थिक गणनामा सहभागी हुन आग्रह गर्न र आवश्यक समन्वय गर्न तयार रहेको उनले बताए ।
तथ्याङ्क समन्वय कार्यालय वीरगन्जले पर्साभर २३ हजार ३०० प्रतिष्ठानको आर्थिक गणना गर्ने लक्ष्य राखेको छ । सोमबारसम्म १४ हजार १५६ प्रतिष्ठानको गणना सम्पन्न भएको कार्यालयले जनाएको छ ।
आर्थिक गणनाका लागि हाल ६६ जना गणक र नौ जना सुपरीवेक्षक परिचालन गरिएको कार्यालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्