Advertisement
Advertisement
Corporate Samachar
२२ असार २०८३, सोमबार
Advertisement

एसियाली राजमार्गमा पाँच अर्बको ठेक्कामा स्टिल आर्क प्रविधिका पुल बन्दै

एसियाली राजमार्गमा पाँच अर्बको ठेक्कामा स्टिल आर्क प्रविधिका पुल बन्दै
विज्ञापन
Advertisement

झापा । काँकरभिट्टा–लौकही सडक योजना अन्तर्गत झापा र मोरङमा आधुनिक ‘स्टिल आर्क’ प्रविधिका तीन ठूला पुल निर्माण द्रुतगतिमा अघि बढेको छ । आयोजनाका अनुसार हालसम्म पुल निर्माणतर्फ ४० प्रतिशत भौतिक प्रगति हासिल भएको छ ।

विज्ञापन
Advertisement
Advertisement

एसियाली राजमार्ग (एसियन हाइवे) अन्तर्गत पर्ने पाँचौँ प्याकेजमा झापाको रतुवा तथा मोरङको लोहन्द्रा र बक्राहा नदीमा आधुनिक प्रविधिका पुल निर्माण भइरहेका हुन् । आयोजना प्रमुख जगत प्रजापतिका अनुसार सम्झौताअनुसार आगामी २०८३ माघ १ गतेभित्र निर्माण सम्पन्न गर्नुपर्ने लक्ष्य छ ।

काँकरभिट्टादेखि सुनसरीको लौकहीसम्मको ९५ किलोमिटर सडकखण्डलाई विभिन्न प्याकेजमा विभाजन गरिएको छ । झापाको सीतापुरीदेखि पश्चिम खण्डमा पर्ने २० पुलमध्ये रतुवा, लोहन्द्रा र बक्राहा सबैभन्दा ठूला पुल हुन् ।

रतुवा नदीमा ५८५ मिटर, लोहन्द्रा नदीमा ३८५ मिटर र बक्राहा नदीमा ३१८ मिटर लामो पुल निर्माण भइरहेको छ । तीनवटै पुलमा आधुनिक र आकर्षक देखिने ‘स्टिल आर्क’ प्रविधि प्रयोग गरिएको आयोजना प्रमुख प्रजापतिले बताए ।

तीनवटा पुल निर्माणको ठेक्का कोभेक–सिआरइजिसी–चाइना स्टेट सेभेन्थ जेभीले पाँच अर्ब रुपैयाँमा लिएको छ । स्टिल संरचनासम्बन्धी उच्च प्राविधिक काम चिनियाँ कम्पनीले गरिरहेको छ भने बाँकी सिभिल निर्माण नेपाली साझेदार कम्पनीले सम्हालिरहेको जनाइएको छ ।

रतुवा नदीमा बन्ने ५८५ मिटर लामो ‘सिग्नेचर’ पुलमध्ये २६४ मिटर भाग स्टिल आर्क र बाँकी भाग कङ्क्रिट संरचनामा आधारित हुनेछ । यस पुलमा तीनवटा स्पान रहनेछन् । लोहन्द्रा नदीको ३८५ मिटर लामो पुलमा ८०–८० मिटरका दुई स्टिल स्पान रहनेछन् भने बक्राहा पुलमा पनि दुई स्पान रहने आयोजनाले जनाएको छ ।

मोरङको उर्लाबारी क्षेत्रमा स्टिलका पाटपुर्जा जडानको काम भइरहेको छ । त्यहाँ तयार गरिएका संरचनालाई पुलको मुख्य भागमा ल्याएर जडान गर्ने काम जारी रहेको आयोजना कार्यालयले जनाएको छ ।

वर्षायाममा पनि निर्माण प्रभावित नहुने गरी प्राविधिक तयारी मिलाइएको छ । हाल रतुवा पुललाई प्राथमिकतामा राखेर निर्माण कार्य अघि बढाइएको छ । रतुवामा तीनवटा स्पानको काम सकिएर अर्को आर्क जडानको तयारी भइरहेको आयोजनाले जनाएको छ ।

रतुवा पुलको पूर्वी भागबाट स्टिल आर्क विस्तार भइरहेको र स्टिलतर्फको अधिकांश काम सकिएको आयोजना प्रमुख प्रजापतिले बताए । उनका अनुसार अब मुख्य रूपमा कङ्क्रिटको काम बाँकी रहेकाले तोकिएकै समयमा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

यद्यपि प्राविधिक कारणले निर्धारित समयभन्दा करिब पाँच महिना थप लाग्न सक्ने आयोजनाको अनुमान छ । आयोजना कार्यालय र निर्माण कम्पनीका प्राविधिक टोली साइटमै निरन्तर खटिएको जनाइएको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit