काँक्रेविहार (सुर्खेत) । पश्चिम जाजरकोटमा कर्णाली प्रदेश सरकारको लगानीमा निर्माणाधीन केही पक्की पुलको कामले गति लिएको छ भने केही आयोजना वर्षौँदेखि अलपत्र परेका छन् । करोडौँ रुपैयाँ लागतका पुल निर्माणले स्थानीयमा आशा जगाएको भए पनि अधुरा आयोजनाले भने सर्वसाधारणलाई सास्ती दिइरहेका छन् ।
छेडाचाँदे–जुम्ला सडकखण्डअन्तर्गत जाजरकोटको साल्मा खोलामा निर्माणाधीन पक्की पुल पाँच वर्षदेखि अलपत्र अवस्थामा छ । छेडागाड नगरपालिका–१ र ४ जोड्ने उक्त पुल निर्माणका लागि नेपाल मेघा सिस्ने जेभी नेपालगन्जसँग २०७८ असोज २९ गते सम्झौता भएको थियो । चार करोड ८८ लाख एक हजार रुपैयाँ लागतमा २०८० माघ २८ गतेभित्र काम सम्पन्न गर्ने लक्ष्य राखिएको भए पनि निर्माण कम्पनीले दुईवटा पिलर बनाएर काम बीचमै छाडेको छ ।
पूर्वाधार विकास कार्यालय, जाजरकोटका प्रमुख इन्जिनियर भूपेन्द्र जैसीका अनुसार ठेक्का तोडिएपछि निर्माण कम्पनी अदालत गएको छ । ‘म्याद थप भए पनि निर्माणले गति लिन सकेन,’ उनले भने । निर्माण व्यवसायी लालमाया चलाउने शाहीले भने कार्यालयले बैंक ग्यारेन्टी निकालेर म्याद थप नगरेपछि अदालत जानुपरेको दाबी गरे।
कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री राजीवविक्रम शाहले कामको जिम्मा लिएर बीचमै छाड्ने प्रवृत्तिका कारण प्रदेश सरकारको प्रगतिमा असर परेको बताए । उनका अनुसार वर्षेनि यस्ता आयोजनामा बजेट विनियोजन भए पनि काम सम्पन्न नहुँदा रकम ‘फ्रिज’ हुने गरेको छ ।
साल्मा खोलामा पुल नहुँदा छेडागाड नगरपालिका, जुनीचाँदे गाउँपालिका र कुसे गाउँपालिकाका बासिन्दाले आवतजावतमा समस्या भोग्दै आएका छन् । छेडागाड नगरपालिकाका इन्जिनियर प्रेम केसीका अनुसार नेपालगन्ज, सुर्खेत र काठमाडौं आवतजावत गर्नेदेखि स्थानीय तहको सेवा लिन आउँदाजाँदा नागरिकले सास्ती खेप्नुपरेको छ । विशेषगरी छेडागाड नगरपालिका–१ र २ का बासिन्दाले प्रशासनिक केन्द्र पुग्न वैकल्पिक बाटो नहुँदा खोलामै पस्नुपर्ने बाध्यता रहेको छ ।
यसअघि छेडागाड नगरपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत करिब ८० लाख रुपेयाँ खर्च गरेर साल्मा खोलामा कजवे निर्माण गरेको थियो । तर, असारमा बनाइएको उक्त कजवे साउनको भेलले बगाएपछि बर्खामा आवतजावत थप जोखिमपूर्ण बनेको थियो ।
यता, केही पुल निर्माणको काम भने तीव्र रूपमा अघि बढिरहेको छ । जाजरकोट–जुम्ला सडकखण्डअन्तर्गत छेडागाड नगरपालिका–१० र ११ को बीचमा पर्ने लम्तीखोलामा २५ मिटर लामो पक्की पुल निर्माण सुरु भएको छ । तीन करोड ४२ लाख १० हजार ६१२.२२ रुपैयाँ लागतमा बजरङ्गा ग्लोरियस एमबिएस जेभी काठमाडौंले ठेक्का लिएको उक्त पुल २०८५ वैशाख २ गतेभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।
छेडागाड नगरपालिका–१० का वडाध्यक्ष जयनाथ योगीका अनुसार पुल निर्माण हुने स्थानमा हालसम्म सात जनाले ज्यान गुमाइसकेका छन् । ‘अब पश्चिम जाजरकोटका पालिकासँग सिधा सम्पर्क जोडिने भएको छ,’ उनले भने, ‘पुल अभावमा अब मानिसले ज्यान गुमाउनुपर्ने अवस्था अन्त्य हुने अपेक्षा गरेका छौँ ।’
त्यसैगरी, छेडागाड नगरपालिका–६ सुवानाउली र जुनीचाँदे गाउँपालिका–५ लामातारा जोड्ने छेडाखोलामा ४२।७ मिटर लामो बेलिब्रिज निर्माण सम्पन्न भएको छ । गौरव हेन्ड्रिक इन्जिनियरिङ जेभी, भरतपुर–१६ चितवनले रु तीन करोड ८२ लाख २८ हजार ३७६।६० मा निर्माण गरेको उक्त पुल सम्झौता अवधिभन्दा अगावै सम्पन्न भएको हो ।
मन्त्री शाहले समयअगावै पुल निर्माण सम्पन्न गर्ने निर्माण व्यवसायीको प्रशंसा गर्दै धेरै ठेक्का भने बीचमै अलपत्र पर्ने गरेको बताए।
त्यसैगरी, शिवालय गाउँपालिका–२ र ८ जोड्ने दुई पीपल सडक पुल निर्माणको काम पनि सुरु भएको छ । २५ मिटर लामो उक्त पुल रु तीन करोड १५ लाख ७९ हजार ७८२ लागतमा निर्माण हुन लागेको हो । बजरङ्गा ग्लोरियस एमबिएस जेभी काठमाडौंले निर्माणको जिम्मा लिएको पुल २०८५ वैशाख २ गतेसम्म सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

















प्रतिक्रिया दिनुहोस्