वीरगञ्ज । चालु आर्थिक वर्षको पहिलो १० महिनामा वीरगञ्ज नाका हुँदै नेपालमा ७ अर्ब ९७ करोड बराबरको दलहन (गेडागुडी) आयात भएको छ।
नेपालका प्रमुख व्यापारिक नाकाहरूमध्येको एक वीरगञ्जबाट यस अवधिमा विभिन्न सात प्रकारका दलहन आयात गरिएको भन्सार कार्यालयले जनाएको छ।
यद्यपि, गत आर्थिक वर्षको तुलनामा चालु वर्षमा दलहनको आयातमा उल्लेखनीय कमी आएको छ। गत आवको सोही अवधिमा यो नाकाबाट १० अर्ब २१ करोड मूल्यको दलहन आयात भएको थियो। यस हिसाबले गत वर्षको तुलनामा चालु आवको १० महिनामा वीरगञ्ज नाकाबाट हुने आयातमा मूल्यको आधारमा २ अर्ब २४ करोड अर्थात् २२ प्रतिशतले गिरावट आएको देखिन्छ।
वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टका अनुसार आयातको कुल मूल्य घटेसँगै प्रमुख गेडागुडीहरूको व्यक्तिगत आयात परिमाणमा पनि ह्रास आएको छ।
विष्टका अनुसार चालु आवको १० महिनामा ३ अर्ब २० करोड मूल्य पर्ने मुसुरोको दाल आयात भएको छ, जुन गत वर्षको सोही अवधिमा ४ अर्ब ५० करोड बराबरको थियो। यसैगरी, अवधिमा २ अर्ब ४ करोड मूल्य बराबरको सिमी र राजमा आयात भएको छ। गत वर्ष यसको आयात २ अर्ब ७४ करोड रहेको थियो। चालु आवको १० महिनामा चनाको आयात १ अर्ब ९२ करोड पुगेको छ। गत वर्षको सोही अवधिमा भने २ अर्ब १७ करोडको चना आयात भएको थियो।
सूचना अधिकारी विष्टका अनुसार अन्य विभिन्न प्रकारका गेडागुडी तथा दलहनको आयात ४२ करोडमा सीमित भएको छ, जुन गत वर्ष ४५ करोड ८८ लाख बराबरको थियो।

















प्रतिक्रिया दिनुहोस्