दमौली (तनहुँ), १९ जेठ । जिल्लामा सञ्चालन भइरहेको आर्थिक गणनाअन्तर्गत हालसम्म करिब ८६ प्रतिशत प्रतिष्ठानको विवरण सङ्कलन सम्पन्न भएको छ। जिल्ला आर्थिक गणना कार्यालय तनहुँका अनुसार १७ हजार ३६६ लक्ष्यमध्ये १४ हजार ९२३ प्रतिष्ठानको गणना पूरा गरिएको हो।
कार्यालयले वैशाख २ गतेदेखि सुरु गरेको गणनामा हालसम्म करिब १५ हजार प्रतिष्ठान समेटिएका छन्। गणनाका लागि ४९ गणक र ७ जना सुपरिवेक्षक परिचालन गरिएको कार्यालय प्रमुख ऋषिराम अधिकारीले जानकारी दिएका छन्। उनका अनुसार आर्थिक गणनाबाट प्राप्त तथ्याङ्क नीति निर्माण, योजना तर्जुमा, कुल गार्हस्थ्य उत्पादन (GDP) अनुमान तथा राष्ट्रिय लेखा प्रणालीमा महत्त्वपूर्ण आधारका रूपमा प्रयोग गरिनेछ।
गणनामा कृषि, उद्योग, व्यापार, सेवा, निर्माण, वित्तीय क्षेत्रलगायत विभिन्न आर्थिक क्रियाकलापमा संलग्न प्रतिष्ठानहरूको विवरण सङ्कलन भइरहेको छ। साथै दर्ता स्थिति, रोजगारी, आम्दानी–खर्च, ऋण तथा लगानीसम्बन्धी विवरण पनि समेटिएको छ। कार्यालयले सङ्कलित विवरण पूर्ण रूपमा गोप्य रहने र तथ्याङ्कीय प्रयोजनका लागि मात्र प्रयोग गरिने जनाएको छ।
यसअघि विसं २०७५ मा गरिएको गणनामा जिल्लामा १२ हजार ४३३ प्रतिष्ठान रहेका थिए। यसैबीच सोमबार बसेको सरोकारवालाको बैठकले बाँकी गणना अवधिमा थप प्रचारप्रसार गर्ने निर्णय गरेको छ। प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीले आर्थिक गणनामा सबैलाई सहयोग गर्न आग्रह गरेका छन्।

















प्रतिक्रिया दिनुहोस्