काठमाडौं । बुटवल पावर कम्पनी लिमिटेडले प्यूठानको दरिमचौरमा नेपालकै प्रारम्भिक ५० किलोवाट क्षमताको हरित हाइड्रोजन पाइलट परियोजना सञ्चालनमा ल्याएको छ।
यो प्लान्ट बीपीसीद्वारा सञ्चालित १२ मेगावाटको झिमरुक जलविद्युत आयोजनाको परिसरमा स्थापना गरिएको हो। विश्व बैंकको प्राविधिक सहयोग तथा बेलायत सरकारको विदेश, राष्ट्रमण्डल तथा विकास कार्यालय मार्फत प्राप्त आर्थिक सहयोगमा यो परियोजना सम्पन्न भएको हो।
प्लान्टमा ५० किलोवाट क्षमताको क्षारीय इलेक्ट्रोलाइजर प्रणाली प्रयोग गरिएको छ, जसले पानीलाई विद्युत् अपघटन प्रक्रियामार्फत विभाजन गरी ९९.९९ प्रतिशत शुद्ध हाइड्रोजन उत्पादन गर्छ। कम्पनीका अनुसार उत्पादित हाइड्रोजनलाई १५० बार ९दबच० को उच्च चापमा कम्प्रेस गरी सिलिण्डरहरूमा भण्डारण गरिनेछ।
यो प्लान्ट गत १३ अप्रिल २०२६ मा सफलतापूर्वक सञ्चालनमा आइसकेको भए पनि मंगलबार यसको औपचारिक उद्घाटन भएको हो ।
नेपालमा प्रचुर जलविद्युत्को सम्भावना रहेकाले बढी भएको नवीकरणीय ऊर्जालाई हाइड्रोजनमा रूपान्तरण गरी यातायात, मल उत्पादन, उद्योग तथा ऊर्जा भण्डारणमा प्रयोग गर्न सकिने सम्भावना छ। कम्पनीका अनुसार यो पाइलट परियोजनाले नेपालमा हाइड्रोजन उत्पादनको प्राविधिक, आर्थिक र सुरक्षा सम्बन्धी व्यावहारिक अनुभव र सिकाइ प्रदान गर्नेछ।
नेपाल सरकारले पनि हेटौँडामा २.५ मेगावाट क्षमताको अर्को हरित हाइड्रोजन परियोजना अघि बढाउने योजना बनाएको छ।

















प्रतिक्रिया दिनुहोस्