हेटौँडा । मकवानपुरको राक्सिराङ गाउँपालिकाका चेपाङ समुदायले बागमती प्रदेशसभा सदस्य भारती पाठकमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई उपहारस्वरुप ‘चिउरी’ प्रदान गरेका छन् । यहाँका चेपाङ समुदायले परम्परागत रूपमा प्रयोग गर्दै आएको पेरुङ्गो (बाँसको टोकरी)मा राखेर चिउरी पठाएका हुन् ।
आज उपहार ग्रहण गर्दै प्रधानमन्त्री ओलीले पेरुङ्गोमा चिउरीसँगै चेपाङ समुदायले आफ्नो आशा र भरोसा पनि पठाएको उल्लेख गरे । उपहारका लागि धन्यवाद दिँदै प्रधानमन्त्रीले भने, “चेपाङ समुदायको जीवनशैली, परम्परा, संस्कृति र जीविकोपार्जनसँग गहिरो सम्बन्ध राख्ने वनउपज चिउरीबाट म उक्त समुदायमा समृद्धी ल्याउने परिकल्पना गरिरहेको छु।”
प्रधानमन्त्री ओलीले चिउरीको उत्पादन बढाउन र यसैमार्फत समुदायमा आर्थिक गतिविधि बढाउनका लागि कार्यक्रम ल्याउने बताए । उनले भने, “परम्परागत सीप, जैविक विविधता, आदिवासी तथा सीमान्तकृत समुदायका जीवनशैलीप्रति म सम्मान व्यक्त गर्दै चिउरी प्रवर्द्धनका कार्यक्रम ल्याउने प्रतिबद्धता ब्यक्त गर्दछु ।”
वन स्रोतको प्रयोगलाई केवल सालका रूख कटानमा सीमित नगरी दीगो वन व्यवस्थापन, जैविक विविधता संरक्षण र स्थानीय स्तरमा रोजगारी सिर्जना गर्ने दिशामा लैजानुपर्ने धारणा प्रधानमन्त्री ओलीको छ । प्रधानमन्त्री ओलीले चेपाङ समुदायको परम्परागत ज्ञान, जीवनशैली र चिउरीसँगको सम्बन्धप्रति सम्मान व्यक्त गर्दै यस्तो बहुआयामिक वन उत्पादको संरक्षण र प्रवर्द्धन गर्नुपर्नेमा जोड दिए ।
बागमती प्रदेशसभा सदस्य भारती पाठकले प्रधानमन्त्रीसँग भेटगर्ने क्रममा आदिवासी जनजातिको परम्परागत सीप, ज्ञान र जैविक विविधतालाई कायम राख्दै वनमा आधारित उद्यम विकास गर्नुपर्नेमा जोड दिइन् । सामुदायिक वन उपभोक्ता महासङ्घकी अन्तरराष्ट्रिय अध्यक्ष समेत रहेकी पाठकले मकवानपुर, चितवन र धादिङमा रहेका चेपाङ समुदायलाई आर्थिक गतिविधिमा जाड्ने उपयुक्त स्रोत चिउरी हुनसक्ने धारणा राखिन ।
राक्सिराङ गाउँपालिका अध्यक्ष राजकुमार मल्लले आफूहरुले जनप्रतिनिधिमार्फत प्रधानमन्त्रीलाई उपहार पठाएको बताए । उनले भने, “प्रधानमन्त्रीका लागि पठाइएको चिउरी चेपाङ समुदायको पहिचानसँग पनि जोडिएको छ, उहाँले खुसीका साथ ग्रहण गरिदिनुभएकाले हामी हर्षित छौँ ।”
चेपाङ समुदायमा छोरीलाई विवाहमा चिउरीको बोट दाइजो दिने चलन छ । वनमा आधारित जीवनशैली अपनाउने र प्रकृतिका पुजारी चेपाङ समुदायले चिउरीको रूखलाई पनि सम्पत्ति मानेर दाइजो दिने गर्दछ ।







कर्पोरेट समाचार 





















प्रतिक्रिया दिनुहोस्