काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि शिक्षा तथा खेलकुद क्षेत्रमा दुई खर्ब १८ अर्ब ३० करोड ५० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ। कुल राष्ट्रिय बजेटको १०.२८ प्रतिशत बराबर रहेको यस बजेटमध्ये ६९.०७ प्रतिशत रकम स्थानीय तहमा वित्तीय हस्तान्तरण गरिएको शिक्षा, विज्ञान तथा खेलकुदमन्त्री सस्मित पोखरेलले बताएका छन्।
प्रतिनिधिसभा बैठकमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री पोखरेलले विद्यालय शिक्षाका अधिकांश कार्यक्रम स्थानीय तहबाट कार्यान्वयन हुने भएकाले बजेटको ठूलो हिस्सा स्थानीय तहमा पठाइएको बताएका हुन्। प्रदेश तहका लागि २.१२ प्रतिशत बजेट वित्तीय हस्तान्तरण गरिएको उनले जानकारी दिए। उनका अनुसार चालु आर्थिक वर्षको तुलनामा शिक्षा क्षेत्रको बजेट अनुपातगत रूपमा ०.४७ प्रतिशतले घटे पनि रकमका हिसाबले करिब सात अर्ब रुपैयाँले वृद्धि भएको छ। यसले शिक्षा क्षेत्र सरकारको प्राथमिकतामा रहेको देखाउने उनले बताए।
शिक्षा तथा खेलकुद क्षेत्रको कुल बजेटमध्ये एक खर्ब ५० अर्ब ५८ करोड ८९ लाख रुपैयाँ अर्थात् ६८.९८ प्रतिशत रकम तलब तथा पेन्सनमा खर्च हुने जनाइएको छ। उपक्षेत्रगत रूपमा विद्यालय शिक्षाका लागि सबैभन्दा बढी ६९.४९ प्रतिशत बजेट विनियोजन गरिएको छ। त्यसपछि उच्च शिक्षाका लागि ११.०४ प्रतिशत, प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिमका लागि २.५६ प्रतिशत तथा व्यवस्थापनतर्फ १५.१७ प्रतिशत बजेट छुट्याइएको छ।
विद्यालयको भौतिक पूर्वाधार विकासलाई पनि सरकारले प्राथमिकतामा राखेको छ। गोरखा भूकम्प र पश्चिम नेपालका भूकम्प प्रभावित १९ जिल्ला बाहेकका स्थानीय तहका विद्यालयमा विद्यार्थी सङ्ख्याका आधारमा २७ लाख ५० हजारदेखि ६५ लाख रुपैयाँसम्म उपलब्ध गराउने व्यवस्था गरिएको मन्त्री पोखरेलले बताए।
स्थानीय तहको साझेदारीमा विद्यालयको भौतिक संरचना निर्माण तथा सुधारका लागि गुरुयोजनाका आधारमा दुई अर्ब ३७ करोड दुई लाख रुपैयाँ विनियोजन गरिएको पनि उनले जानकारी दिए। सरकारले विद्यालय पूर्वाधार सुदृढीकरण र शैक्षिक गुणस्तर अभिवृद्धिका लागि आवश्यक स्रोत व्यवस्थापन गरेको मन्त्री पोखरेलको भनाइ छ।















प्रतिक्रिया दिनुहोस्