जनकपुर । मधेश प्रदेशमा पछिल्लो पाँच आर्थिक वर्षमा सडक दुर्घटनाबाट दुई हजार ७४८ जनाको मृत्यु भएको छ। आर्थिक वर्ष २०७७/७८ देखि २०८१/८२ सम्म २९ हजार १८३ सडक दुर्घटना हुँदा १० हजार ८६६ जना गम्भीर र छ हजार १४२ जना सामान्य घाइते भएको तथ्याङ्क सार्वजनिक भएको छ।
बिहीबार जनकपुरधाममा आयोजित प्रदेशस्तरीय सडक सुरक्षासम्बन्धी कार्यशालामा सार्वजनिक तथ्याङ्कअनुसार पाँच वर्षमा ४१ हजार ६९७ सवारीसाधन दुर्घटनामा संलग्न भएका छन्। आर्थिक वर्ष २०८०/८१ को तुलनामा २०८१/८२ मा दुर्घटनाको संख्या २३ प्रतिशतले बढेको देखिएको छ।
तथ्याङ्कले सडक दुर्घटनाका ८५ प्रतिशत घटनामा चालककै लापरवाही मुख्य कारण रहेको देखाएको छ। दुर्घटनामा संलग्न सवारीसाधनमध्ये झण्डै ६७ प्रतिशत दुईपाङ्ग्रे अर्थात् मोटरसाइकल र स्कुटर रहेका छन्। अधिकांश दुर्घटना साँझ ६ बजेदेखि मध्यरातसम्म हुने गरेको पनि तथ्याङ्कमा उल्लेख छ।
पाँच वर्षको अवधिमा मृत्यु हुनेमध्ये अधिकांश पुरुष रहेका छन्। दुर्घटनामा हुने मानवीय क्षतिको अनुपात १:४:१३ रहेको तथ्याङ्कले देखाएको छ। अर्थात् प्रत्येक एक जनाको मृत्यु हुँदा औसतमा चार जना गम्भीर र १३ जना सामान्य घाइते हुने गरेका छन्।
प्रदेशका आठ जिल्लामध्ये धनुषा र बारा सडक दुर्घटना तथा मानवीय क्षतिको हिसाबले सबैभन्दा बढी प्रभावित छन्। धनुषामा पाँच वर्षमा चार हजार ८६८ दुर्घटनामा ४२८ जनाको मृत्यु भएको छ भने बारामा चार हजार ५४८ दुर्घटनामा ४१६ जनाले ज्यान गुमाएका छन्।
कार्यक्रममा मधेश प्रदेश प्रहरी कार्यालयका डिआईजी ओम अधिकारीले सडक दुर्घटना न्यूनीकरणका लागि सम्बन्धित निकायबीच प्रभावकारी समन्वय आवश्यक रहेको बताए। ट्राफिक व्यवस्थापनका लागि पर्याप्त बजेट अभाव रहेको उल्लेख गर्दै उनले पथलैयामा कारबाही गरिएका सवारीसाधनको जरिवाना बुझाउन वीरगञ्ज पुग्नुपर्ने व्यवस्था व्यावहारिक नभएको र कानुनी सुधार आवश्यक रहेको बताए।
उनले सडक संकेतचिन्ह खरिद गर्नसमेत पर्याप्त बजेट नहुँदा कतिपय अवस्थामा विभिन्न सङ्घसंस्थाको सहयोग लिनुपर्ने अवस्था रहेको उल्लेख गर्दै ट्राफिक व्यवस्थापनका लागि आवश्यक बजेट विनियोजन गर्न सरकारसँग आग्रह गरे गरेका छन्।















प्रतिक्रिया दिनुहोस्