काठमाडौं । नेपालमा स्मार्टफोन आयात उल्लेख्य रूपमा बढेको देखिएको छ। भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको ११ महिनामा नेपालमा ४३ अर्ब ४५ करोड रुपैयाँभन्दा बढी मूल्यका स्मार्टफोन आयात भएका छन्।
विभागको तथ्यांकअनुसार जेठ मसान्तसम्म २० लाख ४१ हजार १९९ थान स्मार्टफोन नेपाल भित्रिएका छन्। गत आर्थिक वर्षको सोही अवधिमा ३२ अर्ब ८ करोड ७८ लाख रुपैयाँ बराबरका १९ लाख ७५ हजार ५१३ थान स्मार्टफोन आयात भएका थिए। यसरी मूल्यका आधारमा आयात करिब ३५ प्रतिशतले वृद्धि भएको देखिन्छ।
जेठ महिनामा मात्रै ४ अर्ब ६ करोड ३४ लाख रुपैयाँ बराबरका १ लाख ७७ हजार ३३० थान स्मार्टफोन आयात भएको विभागले जनाएको छ। नेपाल आयात भएका स्मार्टफोनहरु चीन धेरै आउने गरेका छन् । विभागका अनुसार चीनबाट मात्रै ३२ अर्ब ८४ करोड रुपैयाँभन्दा बढी मूल्यका १७ लाख १० हजार ९१० थान स्मार्टफोन नेपालमा भित्रिएका छन्।
कुल आयातमध्ये ठूलो हिस्सा चिनियाँ उत्पादन तथा ब्रान्डका स्मार्टफोनले ओगटेको छ। आयात वृद्धिसँगै सरकारको राजस्व संकलन पनि बढेको छ। चालु आर्थिक वर्षको ११ महिनामा स्मार्टफोन आयातबाट ८ अर्ब १० करोड ५२ लाख रुपैयाँ राजस्व संकलन भएको छ, जुन गत वर्षको ५ अर्ब ९८ करोड रुपैयाँभन्दा उल्लेखनीय वृद्धि हो।
बजारमा नयाँ मोडेलका स्मार्टफोनको माग निरन्तर बढिरहेकाले नेपालमा आयात बढ्दै गैरहेको छ।















प्रतिक्रिया दिनुहोस्