रसुवा । गत वर्ष ल्हेन्दे खोलाको बाढीले क्षति पुर्याएर अवरुद्ध बनेको बेतेगौँडा सिँचाइ आयोजना लिफ्ट प्रणाली मार्फत पुनः सञ्चालनमा आएको छ। आयोजना पुनः सञ्चालन भएपछि उत्तरगया गाउँपालिकाका किसानले फेरि सिँचाइ सुविधा पाएका छन्।
उत्तरगया गाउँपालिका–५ स्थित त्रिशूली नदीबाट सञ्चालित उक्त सिँचाइ आयोजना बाढीले तीन सय मिटरभन्दा बढी संरचना बगाएपछि बन्द भएको थियो। त्यसपछि निर्माणाधीन ३७.३ मेगावाट क्षमताको माथिल्लो त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजनाले पानी तान्ने लिफ्ट उपकरण उपलब्ध गराएपछि आयोजना पुनः सञ्चालनमा आएको हो।
उत्तरगया गाउँपालिका–४ का वडाध्यक्ष अम्मरबहादुर बुलुनका अनुसार लिफ्ट प्रणालीमार्फत पहिरेबेँसी, कैदलटारलगायत क्षेत्रका हजारौँ रोपनी खेतीयोग्य जमिनमा सिँचाइ सुविधा पुगेको छ। स्थानीय किसान नवराज थापाले सिँचाइ सुविधा पुनः उपलब्ध भएपछि मकै, गहुँ, तोरी र धान खेती गर्न सहज भएको बताए। भरपर्दो सिँचाइ व्यवस्थाले कृषि उत्पादन बढ्नुका साथै किसानमा उत्साह थपिएको उनको भनाइ छ।
बेतेगौँडा सिँचाइ आयोजना तत्कालीन सार्वजनिक निर्माण शाखाअन्तर्गत रसुवा–नुवाकोट ग्रामीण विकास परियोजनामार्फत निर्माण गरिएको थियो। यसले विगतदेखि नै स्थानीय कृषकलाई सिँचाइ सुविधा उपलब्ध गराउँदै खाद्यान्न उत्पादनमा सहयोग पुर्याउँदै आएको थियो। बाढीपछि लामो समय अवरुद्ध रहेको आयोजना पुनः सञ्चालनमा आएपछि स्थानीयवासीले खुसी व्यक्त गरेका छन्।
ज्येष्ठ नागरिक तथा समाजसेवी दावाफिन्जो तामाङका अनुसार ग्रामीण क्षेत्रमा आधुनिक सिँचाइ प्रणालीको विकास विसं २०३० को दशकदेखि सरकारी तथा अन्तर्राष्ट्रिय सहयोगमा सुरु भएको हो। डिभिजन सिँचाइ कार्यालयका प्रमुख सुभाष बानियाँका अनुसार जिल्लामा ४ हजार ७३८।४० हेक्टर जमिनमा सिँचाइ सुविधा पुर्याउने लक्ष्य रहे पनि हालसम्म ३ हजार ७३१ हेक्टर क्षेत्रमा मात्रै सिँचाइ सेवा विस्तार भएको छ। हाल करिब ६ सय घरधुरीका ३ हजार नागरिक यस सेवाबाट लाभान्वित भइरहेका छन्।
चालु आर्थिक वर्षमा खेतबारीमा पर्याप्त पानीको पहुँच विस्तार गर्ने उद्देश्यसहित ४१ वटा सिँचाइ आयोजना सञ्चालनमा रहेका छन्।















प्रतिक्रिया दिनुहोस्