काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका–१ च्याम्राङबेँसीस्थित च्याम्राङबेँसी–झिङ्गे सडकखण्डको रतन खोलामा बेलीब्रिज निर्माण सम्पन्न भएको छ। पुल सञ्चालनमा आएपछि काभ्रेपलाञ्चोक र छिमेकी ललितपुरको महाङ्काल गाउँपालिकाबीचको आवागमन सहज भएको छ।
बागमती प्रदेश सरकार र बेथानचोक गाउँपालिकाको लागत साझेदारीमा १ करोड ७० लाख रुपैयाँ खर्चेर पुल निर्माण गरिएको हो।
बेथानचोक गाउँपालिका–१ का वडाध्यक्ष तथा गाउँपालिकाका प्रवक्ता मधुसुदन तिमल्सिनाका अनुसार वर्षायाममा रतन खोला तर्न कठिन हुने समस्या पुल निर्माणसँगै हटेको छ। पुलबाट सुकुमफेदी, च्याम्राङबेँसी, झिङ्गे, खानीखोला तथा ललितपुरको महाङ्काल गाउँपालिकाका स्थानीयवासी प्रत्यक्ष रूपमा लाभान्वित भएका छन्।
उनका अनुसार विसं २०८१ को असोजमा आएको बाढीपहिरोले झिङ्गेसहितका बस्तीमा पुग्न थप कठिनाइ भएपछि पुल निर्माणलाई प्राथमिकता दिइएको थियो।
गाउँपालिका अध्यक्ष भगवान् अधिकारीले पुल निर्माणले दुई जिल्लाका नागरिकलाई ठूलो राहत पुगेको बताउँदै स्थानीय सरकारले सडक, पुल, खानेपानी, शिक्षा र स्वास्थ्यजस्ता आधारभूत पूर्वाधारलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताए।
स्थानीय गोपालकृष्ण सापकोटाले पुल निर्माणसँगै यातायात पहुँचमा सुधार भएको, कृषि उत्पादनको बजारीकरण सहज बनेको तथा शिक्षा, स्वास्थ्यलगायतका सेवा लिन नागरिकलाई सुविधा पुगेको बताए। उनले ठूला पुल निर्माण सम्भव नभएका स्थानमा बेलीब्रिज निर्माणलाई प्राथमिकता दिन स्थानीय सरकारलाई सुझावसमेत दिए।















प्रतिक्रिया दिनुहोस्