काठमाडौं । लगातारको वर्षापछि आएको लेदोसहितको पहिरोका कारण मेची राजमार्गअन्तर्गत इलामको गोलाखर्क–राजदुवाली सडकखण्ड अवरुद्ध भएको छ। सडक बन्द हुँदा इलाम, पाँचथर, ताप्लेजुङ र झापाबीचको आवागमन प्रभावित भएको छ भने यात्रु बीच बाटोमै अलपत्र परेका छन्।
इलाम नगरपालिका–९ स्थित माईखोलामा सडकमाथिबाट लेदोसहितको पहिरो खसेपछि गएरातिदेखि सडक पूर्ण रूपमा अवरुद्ध भएको हो। प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालका अनुसार साना सवारीसाधनलाई एकतर्फी रूपमा सञ्चालन गराउने उद्देश्यले बिहानदेखि पहिरो पन्छाउने काम भइरहेको छ। तर लगातार लेदो झरिरहेकाले ठूला सवारीसाधन सञ्चालन हुन भने केही समय लाग्ने उनले बताए।
उनका अनुसार उक्त सडकखण्ड विगतदेखि नै पहिरोको उच्च जोखिममा रहँदै आएको छ र वर्षायाममा लेदोसहितको पहिरो झर्दा पटक–पटक यातायात अवरुद्ध हुने गरेको छ। यता, मेची राजमार्गकै रोङ गाउँपालिका–४ स्थित इलाम–झापा सीमाक्षेत्रमा ढिस्को खस्नुका साथै दुई वटा रूख ढलेर अर्को सडकखण्ड पनि अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ।
प्रहरी उपरीक्षक कुलदीप चन्दका अनुसार उक्त स्थानमा पनि सडक खुलाउने प्रयास जारी छ। सडक अवरुद्ध भएपछि इलाम, पाँचथर र ताप्लेजुङबाट झापातर्फ तथा झापाबाट ती जिल्लातर्फ जाने सवारीसाधन बीच बाटोमै रोकिएका छन्। यात्रुले गन्तव्यमा पुग्न कठिनाइ भोगिरहेका छन्।















प्रतिक्रिया दिनुहोस्