काठमाडौं । नेपाली मौलिक पेय पदार्थ ‘मही’ चारतारे होटलको मेनुमा समावेश गरिएको छ। होलिडे इन एक्सप्रेस होटल, नक्सालले आइतबारदेखि स्वदेशी तथा विदेशी पाहुनाका लागि आफ्नो मेनुमा मही समावेश गर्दै नेपाली मौलिक खानपान प्रवर्द्धनको अभियानलाई अघि बढाएको हो।
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा होटलका सञ्चालक नरेशलाल श्रेष्ठले यसअघि गरेको प्रतिबद्धताअनुसार होटलमा मही उपलब्ध गराउन सुरु गरिएको हो। नेपाल डेरी एसोसिएसनले आयोजना गरेको दही–चिउरा प्रवर्द्धन तथा उपभोग कार्यक्रममा उनले स्टार होटलहरूमा पनि मही उपलब्ध गराउने प्रतिबद्धता जनाएका थिए।
श्रेष्ठका अनुसार होटलको मेनुमा मही समावेश गर्नुको उद्देश्य नेपाली मौलिक उत्पादन, संस्कृति र परम्परालाई स्वदेशी तथा विदेशी पाहुनामाझ प्रवर्द्धन गर्नु हो। उनले नेपाली परिकार र पेय पदार्थ विदेशी पर्यटकसम्म पुग्दा पर्यटनसँगै कृषि र स्वदेशी उत्पादनको प्रवर्द्धनमा समेत योगदान पुग्ने बताए।
उनले मही स्वास्थ्यका लागि लाभदायक पेय भएकाले यसको व्यापक प्रचारप्रसार आवश्यक रहेको उल्लेख गर्दै नेपाल डेरी एसोसिएसनले यस क्षेत्रमा खेलेको भूमिकाको पनि प्रशंसा गरे।
नेपाल डेरी एसोसिएसनका अध्यक्ष प्रह्लाद दाहालले चारतारे होटलको मेनुमा मही समावेश हुनु नेपाली डेरी उद्योग र मौलिक खाद्य संस्कृतिको प्रवर्द्धनका लागि महत्वपूर्ण उपलब्धि भएको बताए। उनले यसले नेपाली मौलिक पेयलाई अन्तर्राष्ट्रिय पाहुनामाझ परिचित गराउन सहयोग पुग्ने विश्वास व्यक्त गर्दै अन्य स्टार होटलहरूले पनि यस्तै अभ्यास अपनाउने अपेक्षा गरेका छन्।















प्रतिक्रिया दिनुहोस्