Advertisement
Advertisement
Corporate Samachar
१४ असार २०८३, आईतवार
Advertisement

एचआइभी सङ्क्रमितका लागि उपचारभन्दा ठूलो चुनौती सामाजिक विभेद

एचआइभी सङ्क्रमितका लागि उपचारभन्दा ठूलो चुनौती सामाजिक विभेद
विज्ञापन
Advertisement

काठमाडौं । समाजमा अझै पनि एचआइभी सङ्क्रमितप्रति विभेदपूर्ण व्यवहार कायम रहेकाले धेरै सङ्क्रमित आफ्नै क्षेत्रको अस्पतालमा उपचार गराउन नचाहेर पहिचान लुकाउन टाढाका एआरटी (एन्टिरेट्रोभाइरल थेरापी) केन्द्रमा पुग्ने गरेका छन्।

विज्ञापन
Advertisement
Advertisement

टीकापुर अस्पतालका अनुसार एआरटी सेवा लिन आउने अधिकांश बिरामी पहिचान खुल्ने डरका कारण आफ्नो पालिकाबाहिरबाट आउने गरेका छन्। त्यस्तै टीकापुरका केही बिरामी पनि उपचारका लागि धनगढी र लम्कीचुहास्थित एआरटी केन्द्र पुग्ने गरेका छन्।

लम्कीचुहा नगरपालिकाकी ७१ वर्षीया एक सङ्क्रमित महिलाले आफ्नै नगरमा एआरटी सेवा उपलब्ध भए पनि समाजमा आफ्नो पहिचान खुल्ने डरले नियमित रूपमा टीकापुर अस्पताल पुगेर औषधि लिने गरेको बताइन्। उनका अनुसार श्रीमान्को एचआइभीकै कारण मृत्यु भए पनि आफू सङ्क्रमित भएको कुरा परिवार र समाजबाट लुकाएर उपचार गराइरहेकी छन्।

टीकापुर अस्पतालको एआरटी केन्द्रबाट हाल ५३१ जना एचआइभी सङ्क्रमितले सेवा लिइरहेका छन्। तीमध्ये २०७ पुरुष, ३०४ महिला, ११ लैङ्गिक अल्पसङ्ख्यक र नौ बालबालिका रहेका छन्। अघिल्लो वर्षसम्म यो सङ्ख्या करिब ९०० पुगेको थियो। अन्य स्थानमा पनि एआरटी केन्द्र सञ्चालनमा आएपछि केही बिरामी नजिकका केन्द्रबाटै सेवा लिन थालेका छन्।

अस्पतालका अनुसार लम्कीचुहा नगरपालिकाबाट मात्रै १६२ जना, टीकापुरबाट १३९ जना, जानकीबाट ८१ जना, बर्दगोरियाबाट ५२ जना, मोहन्यालबाट ४४ जना, जोशीपुरबाट ३३ जना, भजनी र घोडाघोडीबाट १८–१८ जना तथा बर्दिया, सुर्खेत र धनगढीका बिरामीले पनि यहाँबाट उपचार सेवा लिइरहेका छन्।

टीकापुर अस्पतालमा सन् २०१२ देखि एड्स हेल्थ केयर फाउन्डेसन (एएचएफ) नेपालले एआरटी केन्द्र सञ्चालन गर्दै आएको छ। संस्थाले एचआइभी परीक्षण, उपचार, परामर्श र हेरचाहसँगै बिरामीलाई नियमित औषधि सेवन, भाइरल लोड परीक्षण तथा स्वास्थ्य बिमामा आबद्ध गराउन सहयोग गर्दै आएको जनाएको छ।

एएचएफ नेपालका काउन्सिलर मीनबहादुर बोहराका अनुसार चालु आर्थिक वर्षमा उपचारका लागि अन्यत्र जानुपर्ने ८३५ जना बिरामीलाई यातायात खर्च उपलब्ध गराइएको छ। यस्तै ३१६ जनालाई पोषण सहयोग, २०१ जनालाई स्वास्थ्य बिमाले नसमेट्ने औषधि खरिदमा सहयोग तथा १२ जनालाई आकस्मिक उपचारका लागि आर्थिक सहयोग गरिएको छ।

यद्यपि उपचारसँगै पोषण र नियमित आम्दानीको समस्या अझै गम्भीर रहेको सङ्क्रमितहरू बताउँछन्। मोहन्याल गाउँपालिकाकी ६८ वर्षीया एक महिलाले श्रीमान्को निधनपछि आयआर्जनको स्रोत नहुँदा दैनिक जीवनयापन र पोषण व्यवस्थापन गर्न कठिन भएको बताइन्।

इलाका प्रशासन कार्यालय टीकापुरका प्रमुख तारानाथ पनेरुले एचआइभी सङ्क्रमितको उपचार र अधिकार संरक्षणमा एआरटी केन्द्रले महत्त्वपूर्ण भूमिका खेले पनि समुदायमा रोगबारे सचेतना बढाउने, विभेद अन्त्य गर्ने र उपचारमा पहुँच विस्तार गर्न स्थानीय तह, सरोकारवाला निकाय तथा सङ्घसंस्थाबीच थप समन्वय आवश्यक रहेको बताए।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit