झापा । आर्थिक सङ्कट र बजार अभावका कारण कोशी प्रदेशका ४४ वटा एफएम रेडियो स्टेशन सञ्चालन बन्द भएका छन्।
नेपाल पत्रकार महासङ्घ कोशी प्रदेशले आयोजना गरेको मिडिया सम्मेलनमा प्रस्तुत कार्यपत्रअनुसार प्रदेशमा दर्ता भएका १२९ एफएम रेडियोमध्ये हाल ८५ वटा मात्र सञ्चालनमा छन् भने ४४ वटा बन्द भइसकेका छन्। तीमध्ये १६ वटा सामुदायिक एफएम रेडियो पनि रहेका छन्।
नेपाल पत्रकार महासङ्घका पूर्वकेन्द्रीय सदस्य मोहन काजीले आर्थिक अस्थिरता र विज्ञापन बजारको अभावका कारण रेडियोसहित अन्य सञ्चारमाध्यमसमेत संकटमा पर्दै गएको बताए। उनले आदिवासी, जनजाति तथा लोपोन्मुख समुदायले मातृभाषामा सञ्चालन गरेका सञ्चारमाध्यमलाई कोशी प्रदेश सरकारले नीति, कार्यक्रम र बजेटमार्फत विशेष सहयोग गर्नुपर्ने आवश्यकता औँल्याए।
काजीका अनुसार कोशी प्रदेशको पत्रकारिता क्षेत्र अहिले अवसर र चुनौतीको दोबाटोमा रहेको छ। पेसागत असुरक्षा तथा प्रविधिगत चुनौतीलाई उपयुक्त नीति र प्रभावकारी कार्यान्वयनमार्फत सम्बोधन गर्न सके मोफसल पत्रकारिता थप सशक्त र आत्मनिर्भर बन्न सक्ने उनले बताए। प्रतिवेदनअनुसार प्रदेशमा ९६ वटा पत्रपत्रिका, सात वटा टेलिभिजन, ३९७ वटा अनलाइन सञ्चारमाध्यम सञ्चालनमा छन्। स्थानीय तहमा दर्ता भएको एफएम रेडियो भने आठराई एफएम मात्र रहेको उल्लेख गरिएको छ।















प्रतिक्रिया दिनुहोस्