Advertisement
Advertisement
Corporate Samachar
१४ असार २०८३, आईतवार
Advertisement

प्रतिगमनविरुद्धको लडाइँ महत्त्वपूर्ण भयो पराजित गर्न वामपन्थी र लोकतान्त्रिक शक्ति एकजुट हुनुपर्छ : ओली

प्रतिगमनविरुद्धको लडाइँ महत्त्वपूर्ण भयो पराजित गर्न वामपन्थी र लोकतान्त्रिक शक्ति एकजुट हुनुपर्छ : ओली
विज्ञापन
Advertisement

काठमाडौं। नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको प्रमुख राजनीतिक कार्य समाजवाद निर्माणको बहसभन्दा पनि प्रतिगमनलाई पराजित गर्नु भएको बताएका छन्। उनले प्रतिगमनविरुद्ध सबै लोकतान्त्रिक तथा वामपन्थी शक्तिबीच कार्यगत एकता आवश्यक रहेकोमा जोड दिएका छन्।

विज्ञापन
Advertisement
Advertisement

जननेता मदन भण्डारीको ७५औँ जन्मजयन्तीका अवसरमा आयोजित ‘नेपालको कम्युनिस्ट आन्दोलन र जननेता मदन भण्डारी’ विषयक विचार गोष्ठीलाई आइतबार सम्बोधन गर्दै ओलीले वर्तमान राजनीतिक परिस्थितिमा लोकतान्त्रिक र वामपन्थी शक्तिहरू मिलेर अघि बढ्नुपर्ने बताए।

‘आजको मुख्य प्रश्न समाजवाद कसरी निर्माण गर्ने भन्नेभन्दा पनि प्रतिगमनलाई कसरी पराजित गर्ने भन्ने हो,’ उनले भने, ‘प्रतिगमनलाई पराजित गर्न सबै लोकतान्त्रिक र वामपन्थी शक्तिले कार्यगत एकताको माध्यमबाट अघि बढ्नुपर्छ।’

ओलीले देशविरुद्ध प्रतिक्रियावादी शक्तिहरू सक्रिय भएको आरोप लगाउँदै एमालेलाई कमजोर नठान्न चेतावनी दिए । ‘हामी मरेका छैनौं, फेरि उठ्छौं। धुलो टक्टक्याउँदै उठेर प्रतिक्रियावादी शक्तिलाई परास्त गर्छौं र अग्रगामी परिवर्तनतर्फ अघि बढ्छौं,’ उनले भने।

उनले वर्तमान सरकारका गतिविधिप्रति असन्तुष्टि व्यक्त गर्दै असंवैधानिक रूपमा संसद् विघटन गरी निर्वाचनमा गएको प्रसंग उल्लेख गरे। त्यसबेला सबै राजनीतिक शक्ति एकजुट हुन नसकेको भन्दै उनले भने, ‘हामीले चुनाव रोकौं भनेका थियौं, तर अरूले एमालेका लागि भिर र आफूहरूका लागि हाइवे ठाने। त्यो चुनाव वामपन्थी र लोकतान्त्रिक शक्तिका लागि थिएन, परिणाम पहिले नै तय थियो। अहिले पनि प्रतिगमनको सिलसिला जारी छ।’

एमालेका नीतिमाथि कुनै सम्झौता नहुने स्पष्ट पार्दै ओलीले पार्टीका वैचारिक आधार सही रहेको दाबी गरे। ‘नेकपा एमाले हाम्रा नीति सही छन् कि गलत छन् भनेर कुनै एकता वा एकीकरणका लागि छलफल गर्ने पक्षमा छैन। हाम्रा नीति एकदमै सही छन्,’ओलीले भने। उनले जनताको बहुदलीय जनवाद (जबज)लाई समयानुकूल परिमार्जन गर्दै एमाले अघि बढिरहेको पनि उल्लेख गरे।

वामपन्थी एकताबारे बोल्दै ओलीले सम्भावित एकता दिगो हुनुपर्नेमा जोड दिए। उनले नेपाली कांग्रेस विभाजित भइसकेको टिप्पणी गर्दै वामपन्थी शक्तिहरू एक भए फेरि विभाजन हुन नहुने बताए। ‘एकता गर्न ठूलो मिहिनेत लाग्छ, तर फुट्न सजिलो हुन्छ। त्यसैले हामी मिल्यौं भने फेरि फुट्नु हुँदैन,’ ओलीले भने। एमाले अहिले पनि एकताबद्ध रहेको दाबी गर्दै पछिल्लो निर्वाचनको परिणामलाई स्थायी पराजय नभई अस्थायी धक्का मात्र भएको उनको भनाइ छ । ‘हामी चुनावमा धक्का खाएका छौं, तर समाप्त भएका छैनौं।’

उनले वामपन्थी आन्दोलनलाई बलियो बनाउन संगठनात्मक एकता, वैचारिक स्पष्टता र दीर्घकालीन सहकार्य आवश्यक रहेको उल्लेख गर्दै एकतापछि विभाजन दोहोरिन नदिन सबै पक्ष जिम्मेवार हुनुपर्नेमा जोड दिए।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit