काठमाडौं । कृषि, वन तथा वातावरण मन्त्रालयले बर्डफ्लुबाट प्रभावित किसानलाई क्षतिपूर्ति वितरण गर्न पशुसेवा विभागलाई ५० करोड रुपैयाँ निकासा गरेको छ।
मन्त्रालयले बर्डफ्लु पुष्टि भएका ११ जिल्लामा नष्ट गरिएका पन्छी, अण्डा तथा दानाको क्षतिपूर्ति उपलब्ध गराउन रकमान्तरमार्फत उक्त रकम विभागलाई उपलब्ध गराएको हो। विभागले प्रभावित किसानलाई राहतस्वरूप क्षतिपूर्ति वितरण गर्न मन्त्रालयसँग रकम माग गरेको थियो। पशुसेवा विभागका प्रवक्ता डा. मुकुल उपाध्यायका अनुसार निकासा भएको रकमबाट प्रमाणित क्षतिको आधारमा प्रभावित किसानलाई ७५ प्रतिशतसम्म क्षतिपूर्ति उपलब्ध गराइनेछ।
विभागका अनुसार काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक, झापा, मोरङ, सुनसरी, महोत्तरी, बारा, चितवन र नवलपरासी जिल्लामा बर्डफ्लु संक्रमण देखिएपछि करिब सात लाख पन्छी, ११ लाख अण्डा र तीन लाख किलो दाना नष्ट गरिएको थियो । यसबाट करिब ७० करोड रुपैयाँ बराबरको आर्थिक क्षति भएको अनुमान गरिएको छ ।
बर्डफ्लु रोग नियन्त्रण (चौथो संशोधन) निर्देशिका, २०७४ अनुसार प्रमाणित क्षतिको मूल्याङ्कनका आधारमा नष्ट गरिएका पन्छी, पन्छीजन्य पदार्थ तथा उत्पादन सामग्रीको ७५ प्रतिशतसम्म क्षतिपूर्ति दिने व्यवस्था छ।
गत चैतदेखि पूर्वी नेपालबाट फैलिन सुरु भएको बर्डफ्लु संक्रमण हाल ११ जिल्लामा फैलिएको छ। भाइरसको स्वरूप परिवर्तन हुनसक्ने जोखिमलाई ध्यानमा राख्दै रोग नियन्त्रणका लागि पन्छी, अण्डा तथा दाना नष्ट गरिएको विभागले जनाएको छ।
रोग नियन्त्रणका लागि विभागले उपमहानिर्देशकको नेतृत्वमा बर्डफ्लु रोग नियन्त्रणकक्ष स्थापना गरी संघ, प्रदेश र स्थानीय तहसँग समन्वय गर्दै नियन्त्रणका प्रयासलाई निरन्तरता दिएको छ।














प्रतिक्रिया दिनुहोस्