काठमाडौं । सामसङ नेपालले ग्यालेक्सी एस२६ सिरिजअन्तर्गत नयाँ स्मार्टफोन ग्यालेक्सी एस२६ एफई सार्वजनिक गरेको छ। कम्पनीका अनुसार वन यूआई ९ सहित बजारमा आउने यो ग्यालेक्सी एस२६ सिरिजको पहिलो स्मार्टफोन हो ।
ग्यालेक्सी एस२६ एफईमा उच्चस्तरीय क्यामेरा, नयाँ ग्यालेक्सी एआई सुविधा तथा पातलो र हल्का डिजाइन समावेश गरिएको छ । दैनिक फोटो खिच्ने, सामग्री सिर्जना गर्ने तथा कनेक्ट हुने अनुभवलाई सहज बनाउने उद्देश्यले फोनमा विभिन्न सुविधा थप गरिएको सामसङले जनाएको छ ।
फोनमा सुधारिएको ट्रिपल रियर क्यामेरा र उन्नत इमेज प्रोसेसिङ प्रविधि रहेको छ। यसमा ३ गुणा अप्टिकल जुम, नाइटोग्राफी तथा सुपर स्टेडी भिडियो सुविधा उपलब्ध छ । सुपर स्टेडीले भिडियो खिच्दा तेर्सो अवस्थालाई स्थिर राख्न सहयोग गर्ने कम्पनीको भनाइ छ । ग्यालेक्सी एस२६ एफईमा ‘माई फ्यानक्याम’ सुविधा पनि समावेश गरिएको छ। यसले भिडियो खिच्दा छनोट गरिएको व्यक्तिलाई स्वचालित रूपमा ट्र्याक गरी फ्रेमको बीचमा राख्ने र दृश्यअनुसार फ्रेम मिलाउने बताइएको छ ।
वन यूआई ९ सहितको फोनमा विभिन्न ग्यालेक्सी एआई सुविधासमेत उपलब्ध छन्। ग्यालेक्सी एस२५ सिरिजमा प्रस्तुत गरिएको ‘नाउ ब्रीफ’ सुविधालाई थप व्यक्तिगत बनाइएको कम्पनीले जनाएको छ। प्रयोगकर्ताले मौसम, स्वास्थ्यलगायत आवश्यक जानकारीका कार्ड छनोट गर्न सक्नेछन् भने सामान्य निर्देशनमार्फत आफ्नै कार्डसमेत बनाउन सक्नेछन् । सामसङ नेपालका सिनियर डाइरेक्टर तथा हेड अफ एमएक्स प्रणय रत्न स्थापितले ग्यालेक्सी एस२६ एफई दैनिक जीवनमा उपयोगी हुने सुविधालाई प्राथमिकतामा राखेर तयार गरिएको बताए। उनका अनुसार यसले ग्यालेक्सी एस सिरिजका विशेष सुविधालाई थप ग्राहकसम्म पुर्याउनेछ ।
मूल्य तथा अफर
ग्यालेक्सी एस२६ एफई ८/२५६ जीबी भेरियन्टको मूल्य १ लाख १९ हजार ९९९ रुपैयाँ तोकिएको छ । फोन पिस्ताचियो, ग्राफाइट र ब्लुबेरी गरी तीन रंगमा उपलब्ध हुनेछ । सामसङका अनुसार ग्राहकले १२ महिनाको समान मासिक किस्तामा मासिक ६ हजार रुपैयाँ तथा २४ महिनाको समान मासिक किस्तामा मासिक ३ हजार २५६ रुपैयाँबाट फोन खरिद गर्न सक्नेछन् ।
फोन खरिदमा ग्राहकले साटफेरअन्तर्गत ८ हजार रुपैयाँसम्मको थप साटफेर बोनस पाउनेछन् । यसबाहेक १८ हजार ३५१ रुपैयाँ मूल्यको ६ महिनाको गुगल एआई प्रो सदस्यता निःशुल्क उपलब्ध गराइने कम्पनीले जनाएको छ । त्यस्तै, २४ महिनाको समान मासिक किस्ता सुविधा पनि उपलब्ध रहेको छ, जसको मासिक किस्ता ३ हजार २५६ रुपैयाँबाट सुरु हुने सामसङले जनाएको छ ।















प्रतिक्रिया दिनुहोस्