काठमाडौं । तेह्रथुम पावर कम्पनी लिमिटेडले लमजुङमा निर्माणाधीन २१.४ मेगावाट क्षमताको न्यादी फिदी जलविद्युत आयोजनामा १ लाख कित्ता संस्थापक शेयर खरिद गर्ने भएको छ।
कम्पनीको असार १७ गते बसेको सञ्चालक समिति (बोर्ड) बैठकले आयोजनाको प्रवर्द्धक कम्पनी नर्थ समिट हाइड्रो लिमिटेडको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका १ लाख कित्ता संस्थापक शेयर खरिद गर्ने निर्णय गरेको हो।
तेह्रथुम पावरले नेपाल स्टक एक्सचेञ्ज (नेप्से) लाई पत्रमार्फत उक्त निर्णयबारे जानकारी गराइसकेको जनाएको छ। कम्पनीका अनुसार आठौँ वार्षिक साधारण सभाबाट प्राप्त स्वीकृति तथा प्रबन्धपत्रको व्यवस्थाअनुसार बैंक खातामा रहेको लगानीयोग्य मौज्दात रकमबाट उक्त लगानी गरिनेछ।
कम्पनीले लमजुङको मर्स्याङ्दी गाउँपालिका–९ (साबिक बाहुनडाँडा र भुलभुले) मा निर्माणाधीन न्यादी फिदी जलविद्युत आयोजनाको निर्माण प्रगति सन्तोषजनक रहेको तथा बजटको हिसाबले आयोजना आकर्षक देखिएकाले लगानी गर्ने निर्णय गरिएको जनाएको छ।
विद्युत् विकास विभागबाट उत्पादन अनुमति प्राप्त गरिसकेको उक्त आयोजनाको प्रवर्द्धक कम्पनी नर्थ समिट हाइड्रो लिमिटेड हो। लगानीसम्बन्धी जानकारी तेह्रथुम पावरले नेपाल धितोपत्र बोर्ड (सेबोन) र सीडीएस एण्ड क्लियरिङ लिमिटेडलाई समेत बोधार्थ पठाएको जनाएको छ।















प्रतिक्रिया दिनुहोस्