म्याग्दी। म्याग्दीको रघुगंगा गाउँपालिका–४ दग्नाममा पहिरो र नदी कटान नियन्त्रण गर्न बस्ती संरक्षण योजना सम्पन्न भएको छ। सङ्घीय सरकारको तीन करोड रुपैयाँ बजेटमा निर्माण गरिएको योजनाबाट एक सयभन्दा बढी घरपरिवार प्रत्यक्ष लाभान्वित भएका छन्।
सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना कार्यालय पोखरामार्फत दग्नाम गाउँको फेदी, कान्छीगाउँको फेदी, पानाकोट र कुम्माखोलाको किनारमा ग्यावियन पर्खाल तथा तटबन्ध निर्माण गरिएको हो। वडाध्यक्ष पविन गर्बुजाका अनुसार योजना सम्पन्न भएपछि पहिरो, बाढी र नदी कटानको जोखिम उल्लेख्य रूपमा घटेको छ।
उनले दग्नाम बस्तीसँगै रघुगंगा गाउँपालिकाको केन्द्र मौवाफाँटदेखि दग्नाम, दर्मीजा, चिमखोला र कुइनेमङ्गले जोड्ने सडकसमेत सुरक्षित बनेको बताए।
सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजनाका इन्जिनियर नरजङ्ग गुरुङका अनुसार योजनाअन्तर्गत तीन हजार ७५३ घनमिटर ग्यावियन पर्खाल निर्माण गरिएको छ। निर्माण कम्पनीले ठेक्काको म्याद सकिनुअघि नै काम सम्पन्न गरेको आयोजना कार्यालयले जनाएको छ।
निर्माण कम्पनीका प्रतिनिधि रवीन्द्र कार्कीले इन्धन र निर्माण सामग्रीको मूल्यवृद्धिका बाबजुद समयमै निर्माण सामग्री, जनशक्ति र उपकरण परिचालन गरेर योजना निर्धारित समयभन्दा अगावै सम्पन्न गरिएको बताए। स्थानीय जनप्रतिनिधि, समुदाय र आयोजना कार्यालयको समन्वयले काम सहज भएको उनको भनाइ छ।
यसैबीच सङ्घीय सरकारको दुई करोड ३९ लाख रुपैयाँ लगानीमा मौवाफाँट–दग्नाम–दर्मीजा–चिमखोला–घ्यासीखर्क सडकको औरी, बुग्ल र दग्नाम खण्डमा ९०० मिटर सडक ढलान गरी पक्की बनाइएको छ। यसबाट दग्नाम, दर्मीजा, चिमखोला, घ्याँसीखर्क, मङ्गलेखानी, चौरखानी र पात्लेखर्कका बासिन्दा लाभान्वित भएका छन्।















प्रतिक्रिया दिनुहोस्