Advertisement
Advertisement
Corporate Samachar
२४ असार २०८३, बुधबार
Advertisement

विदेशी सम्बन्धन लिएका कलेजमा कडाइ, अब शीर्ष १ हजार विश्वविद्यालयसँग मात्रै सम्बन्धन लिन पाइने

विदेशी सम्बन्धन लिएका कलेजमा कडाइ, अब शीर्ष १ हजार विश्वविद्यालयसँग मात्रै सम्बन्धन लिन पाइने
विज्ञापन
Advertisement

काठमाडौं । सरकारले विदेशी विश्वविद्यालयसँग सम्बन्धन लिएर नेपालमा सञ्चालन भइरहेका कलेजको नियमन तथा गुणस्तर सुधारका लागि नयाँ मापदण्ड लागू गर्ने भएको छ ।

विज्ञापन
Advertisement
Advertisement

शिक्षा तथा खेलकुद मन्त्रालयले तयार पारेको विदेशी शैक्षिक कार्यक्रम (सञ्चालन तथा नियमन) नियमावली, २०८३ बुधबार मन्त्रिपरिषद्बाट स्वीकृत भएपछि विदेशी सम्बन्धन प्राप्त कलेजका लागि थप कडा व्यवस्था लागू हुने भएको छ।

उच्च शिक्षाको गुणस्तर, विश्वसनीयता र अन्तर्राष्ट्रिय प्रतिस्पर्धात्मकता बढाउने उद्देश्यले ल्याइएको नियमावलीले नेपालमा सञ्चालनमा रहेका तथा भविष्यमा सञ्चालन हुने विदेशी सम्बन्धनका कलेजलाई नयाँ मापदण्डभित्र ल्याउने व्यवस्था गरेको छ । नियमावलीअनुसार अब नेपालमा सम्बन्धन दिने विदेशी विश्वविद्यालय क्युएस वर्ल्ड युनिभर्सिटी ¥याङ्किङ्स वा टाइम्स हाइयर एजुकेसन वर्ल्ड युनिभर्सिटी ¥याङ्किङ्स को शीर्ष १ हजारभित्र परेको हुनुपर्नेछ। तोकिएको मापदण्ड पूरा नगरेका विदेशी विश्वविद्यालयको सम्बन्धन नेपालमा मान्य नहुने व्यवस्था गरिएको छ ।

त्यस्तै, विदेशी सम्बन्धन प्राप्त कलेजले विश्वविद्यालय अनुदान आयोग (यूजीसी) नेपालबाट क्वालिटी एस्योरेन्स एन्ड एक्रेडिटेसन प्राप्त गरेको हुनुपर्नेछ। साथै, सम्बन्धित विदेशी विश्वविद्यालय रहेको देशको मान्यता प्राप्त गुणस्तर सुनिश्चितता निकायबाट समेत क्यूएए वा सो सरहको मान्यता लिनुपर्ने व्यवस्था गरिएको छ ।

नयाँ नियमावलीले विद्यार्थी भर्नामा समेत सीमा तोकेको छ। प्रत्येक सेक्सनमा छात्रवृत्तिसहित अधिकतम ३५ जना विद्यार्थी मात्र भर्ना गर्न पाइने प्रस्ताव गरिएको छ भने एक शैक्षिक वर्षमा दुईभन्दा बढी इन्टेक सञ्चालन गर्न नपाइने व्यवस्था गरिएको छ। विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउने विषयमा पनि नयाँ व्यवस्था गरिएको छ। विदेशी लगानी भएका कलेजले कुल विद्यार्थी संख्याको २० प्रतिशत र स्वदेशी लगानी भएका कलेजले १० प्रतिशत विद्यार्थीलाई पूर्ण छात्रवृत्ति उपलब्ध गराउनुपर्नेछ ।

त्यसैगरी, स्नातकोत्तर तह सञ्चालन गर्ने कलेजमा कम्तीमा तीन जना पीएचडी उपाधि प्राप्त पूर्णकालीन प्राध्यापक अनिवार्य हुनुपर्ने व्यवस्था गरिएको छ । कुनै पनि कलेजले आठभन्दा बढी शैक्षिक कार्यक्रम सञ्चालन गर्न वा नयाँ भर्ना लिन नपाउने व्यवस्था पनि गरिएको छ । नयाँ नियमावलीले सम्बन्धन व्यवस्थापनमा समेत कडाइ गरेको मन्त्रालयले जनाएको छ। अब एउटा कलेजले एकभन्दा बढी विदेशी विश्वविद्यालयको सम्बन्धन लिन नपाउने भएको छ । हाल एकभन्दा बढी विदेशी विश्वविद्यालयसँग सम्बन्धन लिएका कलेजले तोकिएको समयभित्र कुनै एक विश्वविद्यालयको सम्बन्धन मात्र कायम राख्नुपर्नेछ। अन्य सम्बन्धन स्वतः खारेज हुने व्यवस्था गरिएको छ ।

शिक्षा मन्त्रालयका अनुसार नयाँ मापदण्ड हाल सञ्चालनमा रहेका विदेशी सम्बन्धन प्राप्त कलेजमा समेत लागू हुनेछ। तोकिएको समयभित्र मापदण्ड पूरा नगर्ने कलेजलाई सुधारका लागि समय दिइनेछ । त्यस अवधिमा पनि मापदण्ड पूरा गर्न नसकेमा सम्बन्धन नवीकरण रोक्ने, नयाँ विद्यार्थी भर्नामा प्रतिबन्ध लगाउने वा सञ्चालन अनुमति खारेज गर्न सकिने मन्त्रालयले जनाएको छ ।

सरकारले विदेशी विश्वविद्यालयको नाममा सञ्चालन भइरहेका शैक्षिक संस्थाको गुणस्तर, पारदर्शिता र जवाफदेहिता सुनिश्चित गर्न नयाँ नियमावली ल्याएको जनाएको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit