काठमाडौं। कुमारी बैंक लिमिटेडले बाजुरा जिल्लाको दुर्गम हिमाली क्षेत्र गौमुल गाउँपालिकाका छ वटा सामुदायिक माध्यमिक विद्यालयलाई स्मार्ट टेलिभिजन हस्तान्तरण गरेको छ।
संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकको गौमुल शाखामार्फत गाउँपालिकासँगको समन्वयमा गरिएको उक्त सहयोगले ग्रामीण क्षेत्रका विद्यालयमा सूचना तथा सञ्चार प्रविधिमा आधारित शिक्षण सिकाइलाई प्रवद्र्धन गर्ने, विद्यार्थीको डिजिटल शिक्षामा पहुँच विस्तार गर्ने तथा शिक्षाको गुणस्तर सुधार गर्ने उद्देश्य राखिएको बैंकले जनाएको छ ।
भौगोलिक कठिनाइका कारण आधुनिक शैक्षिक स्रोत–साधनको पहुँच सीमित रहेको गौमुल क्षेत्रका विद्यालयमा स्मार्ट टेलिभिजनको प्रयोगले शिक्षण सिकाइ प्रक्रियालाई थप प्रभावकारी, रोचक र प्रविधिमैत्री बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
यस सहयोगबाट लाभान्वित हुने विद्यालयहरूमा श्री मानाकोट माध्यमिक विद्यालय (गौमुल–५), श्री जनज्योति माध्यमिक विद्यालय (गौमुल–२), श्री अम्लिश माध्यमिक विद्यालय (गौमुल–१), श्री फूलपाता माध्यमिक विद्यालय (गौमुल–२), श्री किर्तिचौर माध्यमिक विद्यालय (गौमुल–६) र श्री बालविकास माध्यमिक विद्यालय (गौमुल–३) रहेका छन् ।
कुमारी बैंकले शिक्षा हरेक बालबालिकाको आधारभूत अधिकार भएको विश्वास गर्दै ग्रामीण तथा शहरी क्षेत्रबीच रहेको शैक्षिक अवसर र स्रोत–साधनको असमानता घटाउने उद्देश्यले यस्ता कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ ।
बैंकका अनुसार स्मार्ट टेलिभिजनमार्फत विद्यार्थीहरूले डिजिटल सामग्री, श्रव्य–दृश्य सामग्री तथा आधुनिक प्रविधिमा आधारित सिकाइको अवसर प्राप्त गर्नेछन् । यसले दुर्गम क्षेत्रका विद्यार्थीलाई पनि प्रविधिमैत्री शिक्षामा पहुँच विस्तार गर्न सहयोग पुग्ने विश्वास बैंकले लिएको छ ।
समुदायका लागि कुमारी बैंक भन्ने मूल भावनाअनुसार बैंकले शिक्षा, स्वास्थ्य, वित्तीय साक्षरता, वातावरण संरक्षण तथा सामुदायिक विकासका क्षेत्रमा विभिन्न सामाजिक उत्तरदायित्वका कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ।















प्रतिक्रिया दिनुहोस्