Advertisement
Advertisement
Corporate Samachar
९ मंसिर २०८३, बुधबार
Advertisement
Advertisement

सरकारले समस्या सुन्थ्यो कार्यान्वयन हुँदैनथ्यो, यसपटक प्रधनमन्त्रीबाट फरक संकेत मिल्यो :  महासंघ अध्यक्ष शाक्य

सरकारले समस्या सुन्थ्यो कार्यान्वयन हुँदैनथ्यो, यसपटक प्रधनमन्त्रीबाट फरक संकेत मिल्यो :  महासंघ अध्यक्ष शाक्य
विज्ञापन
Advertisement

काठमाडौं। सरकार र नेपाल हस्तकला व्यवसायी महासंघबीच बुधबार भएको छलफलले हस्तकला क्षेत्रलाई नयाँ दिशातर्फ लैजाने संकेत दिएको भन्दै व्यवसायी उत्साहित बनेका छन् ।

विज्ञापन
Advertisement
Advertisement

हस्तकला क्षेत्रका वर्षौंदेखिका नीतिगत र संरचनागत समस्यालाई समाधान गर्ने उद्देश्यसहित प्रधानमन्त्री बालेन्द्र शाह र महासंघका पदाधिकारीबीच आज भएको छलफलमा हस्तकला विकास बोर्ड गठन, राष्ट्रिय हस्तकला दिवस घोषणा, निर्यात प्रोत्साहन, नगद अनुदान (क्यास इन्सेन्टिभ), भ्याट, सार्क हस्तकला विकास केन्द्र सञ्चालनदेखि सातै प्रदेशमा हस्तकला ग्राम स्थापना र सीप प्रशिक्षण केन्द्र विस्तारसम्मका विषयमा सरकार सकारात्मक देखिएको छ।

महासंघका अध्यक्ष रविन्द्र शाक्यले प्रधानमन्त्रीसँगको भेटलाई विगतका भेटभन्दा फरक अनुभव भएको बताउँदै यसपटक सरकारबाट कार्यान्वयनमुखी प्रतिबद्धता देखिएको दाबी गरे। उनले भने, ‘अहिलेसम्म हामीले जति पनि उच्च तहका भेट गरेका छौं, यो जस्तो सरल, देश विकासप्रति हुटहुटी भएको र हस्तकला पुस्तान्तरण तथा रोजगार सिर्जनाबारे यति गम्भीर चिन्ता व्यक्त गर्ने प्रधानमन्त्री हामीले भेटेका थिएनौं भन्ने अनुभूति भएको छ।’

हस्तकला विकास बोर्ड गठनमा सहमति

उनका अनुसार छलफलको सबैभन्दा महत्वपूर्ण उपलब्धिका रूपमा सरकार र निजी क्षेत्रको साझेदारीमा हस्तकला विकास बोर्ड स्थापना गर्ने अवधारणामा सहमति जुटेको छ। शाक्यले भने, ‘हस्तकला क्षेत्रमा रहेका समस्या, चुनौती र अवसरहरूको समष्टिगत मूल्यांकन गरेर समाधान खोज्न हस्तकला विकास बोर्ड स्थापना गर्ने अवधारणामा हामी संयुक्त रूपमा सहमत भयौं। यो नै सबैभन्दा ठूलो कुरा जस्तो हामीलाई लागेको छ।’ उनका अनुसार बोर्डले हस्तकला क्षेत्रसँग सम्बन्धित नीति निर्माण, निर्यात, कलाकार संरक्षण, सीप विकास र समन्वयकारी निकायको भूमिका निर्वाह गर्ने अपेक्षा छ।

राष्ट्रिय हस्तकला दिवस घोषणाको प्रस्ताव

महासंघले विगत १५ वर्षदेखि आफ्नै पहलमा मनाउँदै आएको हस्तकला दिवसलाई राष्ट्रिय दिवसका रूपमा घोषणा गर्न प्रधानमन्त्रीसमक्ष प्रस्ताव राखेको थियो। शाक्यका अनुसार प्रधानमन्त्रीले सम्बन्धित निकायसँग समन्वय गरेर सकारात्मक निर्णय गर्ने प्रतिबद्धता जनाएका छन्। प्रधानमन्त्रीले तत्काल गृह मन्त्रालयसँग आवश्यक प्रक्रिया अघि बढाउन आफ्ना अधिकारीलाई निर्देशनसमेत दिएको उनको भनाइ छ।

क्यास इन्सेन्टिभ, भ्याट र निर्यातका विषयमा सकारात्मक संकेत

बैठकमा हस्तकला सामग्री निर्यात गर्दा तीन वर्षदेखि रोकिएको ५ प्रतिशत निर्यात प्रोत्साहन (क्यास इन्सेन्टिभ) पुनः सञ्चालन गर्ने विषय पनि उठाइएको थियो। अध्यक्ष शाक्यले भने, ‘अहिले सबैले उठाइरहेको क्यास इन्सेन्टिभ र भ्याटको विषयमा कार्यविधि बनिरहेको छ। समन्वय गरेर यसलाई सकारात्मक रूपमा समाधान गर्ने कुरा भएको छ।’ यस्तै, हालसम्म स्वघोषणाको आधारमा भइरहेको हस्तकला सामग्री निर्यातलाई बिजक मूल्यांकन प्रणाली मार्फत व्यवस्थित गर्ने व्यवसायीको सुझावप्रति पनि प्रधानमन्त्री सकारात्मक देखिएको उनले जानकारी दिए।

सार्क हस्तकला विकास केन्द्र सञ्चालनमा जोड

उद्योग विभाग परिसरमा भवन तयार भए पनि सञ्चालनमा आउन नसकेको सार्क हस्तकला विकास केन्द्रलाई तत्काल सञ्चालनमा ल्याउनुपर्ने विषय पनि छलफलको प्रमुख एजेन्डा बनेको छ। ‘विगत केही वर्षदेखि थाती रहेको सार्क हस्तकला विकास केन्द्रलाई यथाशीघ्र सम्बन्धित निकायसँग समन्वय गरेर सञ्चालनमा ल्याउनुपर्छ भन्ने अवधारणा प्रधानमन्त्रीले अघि सार्नुभएको छ,’ शाक्यले प्रधानमन्त्रीसँग भएको छलफलबारे जानकारी दिँदै भने ।

हस्तकलाका लागि छुट्टै नीति आवश्यक

अध्यक्ष शाक्यका अनुसार हाल हस्तकलालाई अन्य उत्पादनसँगै एउटै नीतिमा समेट्ने प्रवृत्तिले समस्या सिर्जना गरेको छ। उनले भने, ‘अब हस्तकलालाई छुट्टै क्षेत्रका रूपमा हेर्ने नीति बनाउन सकिन्छ कि भन्ने विषयमा पनि छलफल भयो।’

कलाकारको परिचयपत्रदेखि हस्तकला ग्रामसम्म

बैठकमा हस्तकलाकर्मी तथा कलाकारलाई परिचयपत्र उपलब्ध गराउने, उपत्यकासहित सातै प्रदेशमा हस्तकला ग्राम स्थापना गर्ने, सीप प्रशिक्षण केन्द्र विस्तार गर्ने तथा सरकारी र सार्वजनिक संरचनामा नेपाली हस्तकलाको प्रयोग बढाउने विषयमा पनि छलफल भएको थियो। शाक्यका अनुसार प्रधानमन्त्री शाहले सातै प्रदेशमा हस्तकला ग्राम स्थापना गरेर रोजगारी सिर्जना गर्ने योजनामा विशेष चासो व्यक्त गरेका छन्। उनले भने, ‘सरकार र महासंघको सहकार्यमा सातै प्रदेशमा हस्तकला ग्राम स्थापना गरेर ठूलो मात्रामा रोजगार सिर्जना गर्न सकिन्छ भन्ने प्रधानमन्त्रीको स्पष्ट सोच देखियो।’

यसैगरी, छलफलमा महासंघले सरकारी तथा गैरसरकारी संरचना निर्माणमा नेपाली हस्तकलाको प्रयोग बढाउन निर्माण व्यवसायीसँग सहकार्य गर्ने प्रस्ताव पनि राखेको छ । शाक्यका अनुसार प्रधानमन्त्रीले यसमा सरकारको पूर्ण सहयोग रहने आश्वासन दिएका छन्।

अध्यक्ष शाक्यले आज सरकारसँग हस्तकला क्षेत्रका बारेमा सकारात्मक छलफल भएको र सरकारबाट आएका प्रतिबद्धता कार्यान्वयन पक्ष नै अहिलेको सबैभन्दा महत्वपूर्ण विषय हुने बताए । उनका अनुसार विगतका सरकारसँग हुने छलफल र प्रधानमन्त्री वालेन्द्रसँग भएको छलफलको ठूलो अन्तर पनि वालेनले हस्तकला क्षेत्रको विकासमा देखाएको चासो हो। उनले भने, ‘सुन्नलाई त हाम्रा कुरा सबै सरकारले सुने। तर कार्यान्वयनमा तदारुकता देखिएन। आज प्रधानमन्त्रीले बैठकमै सम्बन्धित निकायलाई ‘के गर्न सकिन्छ, गरिहाल्नु’ भनेर निर्देशन दिनुभयो। त्यसले साँच्चै परिवर्तन सम्भव छ भन्ने अनुभूति दिलाएको छ।’

उनले थपे, ‘हामीलाई आज एउटा पारिवारिक वातावरणमा बसेर देशको हस्तकला कसरी प्रवर्द्धन गर्ने, रोजगारी कसरी सिर्जना गर्ने, हस्तकलाको पहिचान कसरी स्थापित गर्ने र निर्यातमार्फत राजस्व कसरी बढाउने भन्ने साझा सोच बनेको महसुस भयो।’ प्रधानमन्त्री शाहले हस्तकला संरक्षण, पुस्तान्तरण, रोजगार सिर्जना तथा निर्यात विस्तारलाई सरकारले प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाएका छन्। साथै, हस्तकला विकास बोर्ड गठन, राष्ट्रिय हस्तकला दिवस, सार्क हस्तकला विकास केन्द्र सञ्चालन, हस्तकलाकर्मीको परिचयपत्र, हस्तकला ग्राम स्थापना तथा सार्वजनिक संरचनामा नेपाली हस्तकलाको प्रयोग बढाउने विषयमा आवश्यक नीतिगत तथा प्रशासनिक पहल गर्ने आश्वासन दिएका थिए ।

वार्षिक झण्डै २८अर्बको हस्तकला सामग्री निर्यात

नेपालको हस्तकला उद्योगबाट वार्षिक करिब २७–२८ अर्ब रुपैयाँ बराबरको निर्यात हुने गरेको छ भने ८२ प्रकारका हस्तकला सामग्री ६० देशमा निर्यात भइरहेको महासंघले जनाएको छ। यस्तो अवस्थामा छलफलमा उठेका विषयहरू कार्यान्वयनमा गए हस्तकला क्षेत्रको संरक्षण, रोजगारी विस्तार, निर्यात वृद्धि र राजस्व अभिवृद्धिमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको महासंघ अध्यक्षको भनाइ छ।

 

साझा: Facebook X WhatsApp Telegram

समय समीक्षा

editor

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement

Powered By: Nectar Digit