काठमाडौं। भारतले नेपाललाई २ खर्ब ४० अर्ब रुपैयाँ बराबरको विकास सहायता उपलब्ध गराउने घोषणा गरेको छ। भारत भ्रमणमा रहेका प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच सोमबार नयाँदिल्लीमा भएको द्विपक्षीय वार्तापछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा उक्त सहायता घोषणा गरिएको हो।
घोषित सहायतामध्ये ५६ अर्ब रुपैयाँ अनुदान र १ खर्ब ८४ अर्ब रुपैयाँ ऋण सुविधा रहेको छ। भारतले विपद्पछिको पुनर्निर्माण तथा नेपालमा नयाँ पूर्वाधार परियोजना सञ्चालनका लागि ५६ अर्ब रुपैयाँ अनुदान उपलब्ध गराउने जनाएको हो । त्यस्तै, ऊर्जा क्षेत्रका परियोजना विकासका लागि १ खर्ब ८४ अर्ब रुपैयाँ बराबरको भारतीय रुपैयाँमा आधारित ऋण सुविधा (लाइन अफ क्रेडिट) उपलब्ध गराउने घोषणा गरिएको छ । भारतले नेपालको विकास यात्रामा निकट मित्र तथा छिमेकीका रूपमा निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै उक्त सहायता घोषणा गरेको हो । यद्यपि, घोषित विकास सहायता कुन–कुन परियोजनामा र कसरी परिचालन गर्ने भन्ने विषय भने तत्काल टुंगिएको छैन। संयुक्त प्रेस विज्ञप्तिअनुसार सहायता परिचालनको कार्यविधि र त्यसअन्तर्गत सञ्चालन हुने विशिष्ट परियोजनाहरू दुवै देशबीचको आपसी परामर्शबाट अन्तिम रूप दिइनेछ ।
२५ बुँदामा हेर्नुहोस् नेपाल–भारतबीच भएका सम्झौता तथा समझदारी
१. भारतका प्रधानमन्त्री श्री नरेन्द्र मोदीको निमन्त्रणामा नेपालका प्रधानमन्त्री सम्माननीय श्री वालेन्द्र शाहले २२ देखि २३ नोभेम्बर २०२६ सम्म भारतको राजकीय भ्रमण गर्नुभयो। उहाँसँग उच्चस्तरीय सरकारी प्रतिनिधिमण्डल पनि सहभागी थियो। प्रधानमन्त्री पदको कार्यभार सम्हालेपछि प्रधानमन्त्री शाहको यो पहिलो भारत भ्रमण थियो।
२. प्रधानमन्त्री शाहलाई राष्ट्रपति भवनमा औपचारिक स्वागत गरिएको थियो। उहाँले राजघाटस्थित महात्मा गान्धीको समाधिमा पुगेर श्रद्धाञ्जली अर्पण गर्नुभयो। प्रधानमन्त्री शाहले भारतका सम्माननीय राष्ट्रपति श्रीमती द्रौपदी मुर्मूसँग शिष्टाचार भेट गर्नुभयो। भारतका विदेशमन्त्री डा. एस. जयशंकरले पनि प्रधानमन्त्री शाहसँग भेट गर्नुभयो।
३. भारतीय प्रधानमन्त्री मोदीले प्रधानमन्त्री शाहसँग द्विपक्षीय वार्ता गर्नुभयो र उहाँको सम्मानमा दिवाभोज आयोजना गर्नुभयो। दुई नेताबीचको छलफलमा द्विपक्षीय सहकार्यका प्रमुख क्षेत्र, आपसी हितका क्षेत्रीय विषय तथा विश्वव्यापी घटनाक्रम समेटिएका थिए।
४. प्रधानमन्त्री शाहले नेपालमा ठूलो जनधनको क्षति पुर्याएको विनाशकारी रसुवा–भोटेकोशी बाढीपछि भारतले प्रदान गरेको मानवीय तथा प्राविधिक सहयोग र ऐक्यबद्धताप्रति आभार व्यक्त गर्नुभयो।
५. प्रधानमन्त्री मोदीले निकट मित्र र छिमेकीका रूपमा नेपालको विकास यात्रामा भारतको अविचलित समर्थन रहने प्रतिबद्धता दोहोर्याउनुभयो।
भारतले नेपाललाई कुल १५ हजार करोड भारतीय रुपैयाँ ( २ खर्ब ४० अर्ब नेपाली रुपैयाँ ) बराबरको विकास सहायता उपलब्ध गराउनेछ। यसमध्ये नेपालमा विपद्पछिको पुनर्निर्माण तथा नयाँ पूर्वाधार परियोजनाका लागि ३ हजार ५ सय करोड भारतीय रुपैयाँ (५६ अर्ब नेपाली रुपैयाँ ) अनुदान सहायता र ऊर्जा क्षेत्रका परियोजनाका लागि ११ हजार ५ सय करोड भारतीय रुपैयाँ (१ खर्ब ८४ अर्ब नेपाली रुपैयाँ ) भारतीय रुपैयाँमा आधारित ऋण सुविधा (लाइन अफ क्रेडिट ) उपलब्ध गराइनेछ।विकास सहायता उपलब्ध गराउने प्रक्रिया तथा त्यसअन्तर्गत सञ्चालन हुने विशिष्ट परियोजनाहरू आपसी परामर्शबाट अन्तिम रूप दिइनेछन्।
६. दुवै नेताले नेपालमा सञ्चालन भइरहेका विकास परियोजनाहरू, विशेषगरी उच्च प्रभाव सामुदायिक विकास परियोजना (एचआईसीडीपी) को कार्यान्वयनमा भइरहेको प्रगतिप्रति सन्तुष्टि व्यक्त गर्नुभयो। भारत सरकारको सहयोगमा निर्माण भइरहेको नेपालको राष्ट्रिय प्रहरी प्रतिष्ठानको प्रगतिलाई पनि उहाँहरूले उल्लेख गर्नुभयो। साथै, भारतको अनुदान सहयोगमा चितवनमा कृषि–औद्योगिक पार्क स्थापना गर्ने घोषणाको दुवै नेताले स्वागत गर्नुभयो।
७. दुवै नेताले ‘विकसित भारत र समुन्नत नेपाल’ सम्बन्धी संयुक्त दृष्टिकोणपत्र (ज्वाइन्ट भिजन) स्वीकार गर्नुभयो। उक्त दृष्टिकोणपत्रले भारत र नेपालबीचको महत्त्वाकांक्षी तथा भविष्यकेन्द्रित साझेदारीको मार्गचित्र प्रस्तुत गरेको छ। यसमा आर्थिक तथा विकास साझेदारी, सम्पर्क सञ्जाल, ऊर्जा तथा जलस्रोत र जनस्तरको सम्बन्धजस्ता परम्परागत रूपमा बलिया द्विपक्षीय सहकार्यका क्षेत्रलाई थप विस्तार गर्ने पहल समेटिएका छन्। साथै, जलवायु उत्थानशीलता, विपद् न्यूनीकरण तथा व्यवस्थापन, खेलकुद, स्टार्टअप, डिजिटल सेवा, अन्तरिक्ष तथा नवप्रवर्तनका क्षेत्रमा नयाँ सहकार्यका सम्भावनालाई पनि समेटिएको छ।
८. दुवै नेताले हवाई सम्पर्क विस्तार तथा द्विपक्षीय आर्थिक सम्बन्धलाई थप गति दिने उद्देश्यले नागरिक उड्डयनसम्बन्धी विषयमा जारी छलफललाई उल्लेख गर्नुभयो। दुवै पक्षले हाल एकतर्फी रूपमा सञ्चालनमा रहेको बी३४५ काठमाडौं–भैरहवा–लखनउ हवाई मार्गलाई दुवैतर्फी बनाउने सहमति गरेका छन्। यससम्बन्धी कार्यविधि अन्तिम रूप दिन तथा छलफलमा रहेका दुवै पक्षका अन्य नागरिक उड्डयनसम्बन्धी प्रस्तावलाई सम्बोधन गर्न प्राविधिक परामर्श गरिनेछ।
९. प्रधानमन्त्री मोदीले नेपालको पारवहन व्यापारका लागि गुजरातस्थित दीनदयाल बन्दरगाह (कान्डला) मार्फत नयाँ सम्पर्क सुविधा उपलब्ध गराउने घोषणा गर्नुभयो। आवश्यक पूर्वाधार तयार भएपछि ओडिसास्थित पारादीप बन्दरगाहसम्म पनि पहुँच उपलब्ध गराइनेछ।
१०. दुवै नेताले नयाँ रेलमार्ग, पुल, एकीकृत जाँच चौकी (आईसीपी) तथा पेट्रोलियम पाइपलाइन निर्माणमार्फत सीमापार सम्पर्क सञ्जाल र सीमा पूर्वाधार सुधार गर्नुको महत्त्वमा जोड दिनुभयो।
११. दुवै प्रधानमन्त्रीले भारतको अयोध्या र नेपालको जनकपुरबीच सञ्चालन हुने सरयू–कमला एक्सप्रेस रेल सेवाको उद्घाटन गर्नुभयो। यो रेल सेवाले दुई देशबीचको सम्पर्क सञ्जाल सुधार गर्नुका साथै रामायण सर्किटअन्तर्गत धार्मिक तथा सांस्कृतिक पर्यटनलाई प्रवर्द्धन गर्ने र भारत–नेपालबीचको सभ्यतागत सम्बन्धलाई थप मजबुत बनाउनेछ। दुवै नेताले बौद्ध तथा शिव–शक्ति धार्मिक पर्यटन सर्किट विकास गर्न यस्तै प्रकारका अन्य सम्पर्क सेवा विस्तार गर्ने सम्भावनाबारे पनि छलफल गर्न सहमति जनाउनुभयो।
१२. प्रस्तावित रक्सौल–काठमाडौं विद्युतीय ब्रोडगेज रेलमार्गको फिल्ड लोकेसन सर्भे (स्थलगत स्थान सर्वेक्षण) सम्पन्न भएको दुवै नेताले घोषणा गर्नुभयो। साथै, नेपालमा पूर्व–पश्चिम रेलमार्ग विकासका लागि दुवै पक्षले सहकार्य गर्ने घोषणा पनि गर्नुभयो।
१३. दुवै नेताले बनबासामा नयाँ एकीकृत जाँच चौकी (आईसीपी) निर्माणको भर्चुअल रूपमा शिलान्यास गर्नुभयो। भैरहवा, सुनौली र दोधारा–चाँदनीमा आईसीपी निर्माणमा भइरहेको प्रगतिको पनि स्वागत गर्नुभयो। भारत र नेपालबीच हालसम्म तीनवटा एकीकृत जाँच चौकी सञ्चालनमा छन्।
१४. भारतको धार्चुला र नेपालको दार्चुलाबीच निर्माण गरिएको नयाँ सीमापार मोटर चल्ने पुलको दुवै नेताले उद्घाटन गर्नुभयो। यसले नेपालको सुदूरपश्चिम क्षेत्र र भारतबीचको प्रत्यक्ष सम्पर्कलाई थप सहज बनाउनेछ।
१५. दुवै नेताले सीमा स्तम्भहरूको मर्मत तथा सम्भारसम्बन्धी संयुक्त स्थलगत कार्यमा भइरहेको प्रगतिप्रति सन्तुष्टि व्यक्त गर्नुभयो। बाँकी रहेका सीमा विवादका विषयमा काम गर्न दुवै देशका परराष्ट्र सचिवलाई निर्देशन दिनुभयो।
१६. भारत र नेपालबीच सीमापार पेट्रोलियम पूर्वाधार विस्तार गर्ने क्रममा दुवै नेताले मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण नेपालका जनतामा समर्पण गर्नुभयो। दुवै नेताले नेपालमा झापास्थित पेट्रोलियम टर्मिनल निर्माणको भर्चुअल रूपमा शिलान्यास गर्नुभयो। साथै, सिलिगुडी–झापा पेट्रोलियम पाइपलाइन निर्माण कार्य यथाशीघ्र सुरु गर्नुको महत्त्वमा जोड दिनुभयो।भारत र नेपालबीच ग्यास पाइपलाइन निर्माणमा पनि सहकार्य गर्ने सम्भावना खोज्ने सहमति दुवै पक्षले गरेका छन्।
१७. भारत–नेपाल विद्युत् क्षेत्र सहकार्यसम्बन्धी संयुक्त दृष्टिकोणपत्र र दीर्घकालीन विद्युत् व्यापार सम्झौताअनुरूप जलविद्युत् क्षेत्रमा भइरहेको द्विपक्षीय प्रगतिप्रति दुवै पक्षले सन्तुष्टि व्यक्त गरेका छन्। नेपालमा भारतीय कम्पनीहरूको सक्रिय सहभागिताको दुवै पक्षले स्वागत गरेका छन्। भारतीय कम्पनीहरूले नेपालमा विकास गरिरहेका विभिन्न जलविद्युत् परियोजना शीघ्र सम्पन्न गर्न आवश्यक पहल गर्ने सहमति पनि भएको छ। यस अवसरमा दुवै नेताले ६६९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत् परियोजनाको भर्चुअल रूपमा शिलान्यास गर्नुभयो।
१८. दुवै नेताले पञ्चेश्वर विकास प्राधिकरण र संयुक्त जलस्रोत समितिलाई पञ्चेश्वर बहुउद्देश्यीय परियोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) शीघ्र अन्तिम रूप दिन र परियोजना कार्यान्वयनको काम सुरु गर्न निर्देशन दिनुभयो। दुवै नेताले आपसी लाभका लागि जलस्रोतको उपयोग गर्न तथा बाढीको प्रभाव न्यूनीकरण गर्न सप्तकोशी र सुनकोशी बहुउद्देश्यीय परियोजनाको डीपीआर निर्माण कार्यलाई पनि तीव्रता दिनुपर्ने आवश्यकता औँल्याउनुभयो।
१९. इनरुवा नेपाल–न्यू पूर्णिया भारत र दोधारा, नेपाल–बरेली भारतबीच निर्माण गरिने उच्च क्षमताका दुई सीमापार विद्युत् प्रसारण लाइनका लागि संयुक्त लगानी कम्पनी (जेभी) गठन गर्ने प्रक्रियामा भइरहेको प्रगतिप्रति दुवै पक्षले सन्तुष्टि व्यक्त गरेका छन्।
२०. नेपाललाई भारतले प्रदान गर्दै आएको विकास तथा क्षमता अभिवृद्धिसम्बन्धी सहयोग विस्तार गर्ने क्रममा दुवै नेताले नेपालमा भारतीय प्रविधि संस्थान (आईआईटी) को अफसोर क्याम्पस स्थापना गर्ने सहमति गर्नुभयो। यसले नेपालको शिक्षा क्षेत्रमा ठूलो योगदान पुर्याउनुका साथै रोजगारी सिर्जना गर्न पनि सहयोग गर्नेछ। दुवै नेताले स्टार्टअप, डिजिटल तथा वित्तीय सम्पर्क सञ्जालसहित प्रविधिको क्षेत्रमा भारत र नेपालबीच विस्तार भइरहेको सहकार्यको स्वागत गर्नुभयो।
२१. एक देशमा बसोबास गर्ने अर्को देशका नागरिकलाई बैंकिङ तथा दूरसञ्चारलगायतका सेवामा सहज पहुँच उपलब्ध गराउन दुवै पक्षले आपसी सहजीकरण गर्नुपर्ने आवश्यकता स्वीकार गरेका छन्।
२२. भ्रमणका क्रममा दुवै पक्षबीच निम्न समझदारीपत्र (एमओयू) आदानप्रदान भएका छन् :
– भारतको गुजरातस्थित गान्धीनगरको राष्ट्रिय न्यायिक विज्ञान विश्वविद्यालय र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान विभागबीच शैक्षिक तथा अनुसन्धान सहकार्यसम्बन्धी समझदारीपत्र।
– भारतको राष्ट्रिय रक्षा विश्वविद्यालय (आरआरयू) र नेपालको राष्ट्रिय प्रहरी प्रतिष्ठान (एनपीए) बीच समझदारीपत्र।
– भारत सरकारको प्रशासनिक सुधार तथा सार्वजनिक गुनासो विभागअन्तर्गतको सुशासनसम्बन्धी राष्ट्रिय केन्द्र र नेपाल सरकारको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गतको नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानबीच नेपाली निजामती कर्मचारीका लागि क्षमता अभिवृद्धि तथा तालिम कार्यक्रम सञ्चालनसम्बन्धी समझदारीपत्र।
– आयुर्वेद तथा अन्य परम्परागत चिकित्सा प्रणालीको क्षेत्रमा सहकार्यम्बन्धी भारत सरकार र नेपाल सरकारबीच समझदारीपत्र।
– दक्षिण एसिया भू–उपग्रहको उपयोगका लागि भू–उपग्रह सञ्चार (स्याटकम) सञ्जाल स्थापना गर्ने सम्बन्धमा भारत सरकारको भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो) र नेपाल सरकारको सूचना तथा सञ्चार मन्त्रालयबीच समझदारीपत्र।
– दिगो सहरी विकासको क्षेत्रमा प्राविधिक सहकार्यम्बन्धी भारत सरकार र नेपाल सरकारबीच समझदारीपत्र।
– स्वास्थ्य तथा चिकित्साको क्षेत्रमा सहकार्यम्बन्धी भारत सरकारको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालय र नेपाल सरकारको स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालयबीच समझदारीपत्र।
– पशुधन तथा मत्स्य विकासको क्षेत्रमा सहकार्यम्बन्धी भारत सरकार र नेपाल सरकारबीच समझदारीपत्र।
२३. नेपालका प्रधानमन्त्रीले आफू र आफ्नो प्रतिनिधिमण्डललाई प्रदान गरिएको न्यानो आतिथ्यका लागि भारतीय प्रधानमन्त्रीप्रति आभार व्यक्त गर्नुभयो। साथै, उहाँलाई नेपाल भ्रमणका लागि औपचारिक निमन्त्रणा दिनुभयो। भारतीय प्रधानमन्त्रीले निमन्त्रणा स्वीकार गर्नुभएको छ। उहाँको नेपाल भ्रमणको औपचारिक मिति कूटनीतिक माध्यमबाट तय गरिनेछ।
२४. भारत–नेपाल साझेदारी गहिरो विश्वास, मित्रता, आपसी सम्मान र समझदारीमा आधारित छ। दुवै देशका जनताबीचको बलियो सम्बन्ध तथा निकट आर्थिक र विकास सहकार्यले यस साझेदारीलाई थप मजबुत बनाएको छ। यस भ्रमणले दुई देशबीच नियमित रूपमा हुँदै आएका उच्चस्तरीय भ्रमणको परम्परालाई पुनः पुष्टि गरेको छ। साथै, यसलाई आगामी दिनमा अझ अगाडि बढाउने दुवै पक्षको प्रतिबद्धतालाई पनि उजागर गरेको छ।















प्रतिक्रिया दिनुहोस्