Advertisement
Advertisement
Corporate Samachar
७ मंसिर २०८३, सोमबार
Advertisement
Advertisement

प्रहरी अनुसन्धानदेखि स्याटेलाइट सञ्चार नेटवर्क स्थापनासम्म भारतसँग नेपालको ८ समझदारी, कुन क्षेत्रमा के सहकार्य ?

प्रहरी अनुसन्धानदेखि स्याटेलाइट सञ्चार नेटवर्क स्थापनासम्म भारतसँग नेपालको ८ समझदारी, कुन क्षेत्रमा के सहकार्य ?
विज्ञापन
Advertisement

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको भारतको दुईदिने राजकीय भ्रमणका क्रममा नेपाल र भारतबीच विकास, व्यापार, ऊर्जा, पूर्वाधार, शिक्षा, सुरक्षा, स्वास्थ्य र प्रविधिसहितका विविध क्षेत्रमा सहकार्य विस्तार गर्ने महत्वपूर्ण समझदारी बनेका छन्।

विज्ञापन
Advertisement
Advertisement

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र प्रधानमन्त्री शाहबीच सोमबार नयाँ दिल्लीस्थित हैदरावाद हाउसमा भएको उच्चस्तरीय वार्तापछि भारतले नेपालका लागि विकास सहायता प्याकेजदेखि रणनीतिक पूर्वाधार निर्माणसम्मका विभिन्न घोषणा गरेको हो।

संयुक्त पत्रकार सम्मेलनमार्फत भारतीय प्रधानमन्त्री मोदीले नेपालको पुनर्निर्माण, आर्थिक विकास र समृद्धिका लागि भारतले सहकार्यलाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरे। गत भदौमा नेपालमा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित क्षेत्रको पुनर्निर्माण तथा विपद् जोखिम न्यूनीकरणका लागि २४ हजार करोड अर्थात् नेपाली रुपैयाँ २ खर्ब ४० अर्ब बराबरको विकास सहायता प्याकेज पनि मोदीले घोषणा गरेका छन् ।

यससँगै नेपालले तेस्रो मुलुकसँगको व्यापारका लागि भारतका थप दुई समुद्री बन्दरगाह प्रयोग गर्न पाउने गरी नयाँ जलविद्युत् तथा पेट्रोलियम पूर्वाधार विकास हुने, नेपालमै भारतीय प्रविधि संस्थान (आईआईटी) को क्याम्पस स्थापनाको पहल अघि बढ्ने र युवा उद्यमशीलतालाई प्रोत्साहन गर्ने कार्यक्रम सार्वजनिक भएका छन्। तर यस भ्रमणको महत्वपूर्ण पक्ष आर्थिक सहायता र पूर्वाधारसम्बन्धी घोषणा मात्रै होइन। दुई देशबीच विभिन्न आठ क्षेत्रमा समझदारीपत्रमा हस्ताक्षर हुनु पनि हो। यी समझदारीले तत्काल देखिने भौतिक पूर्वाधार निर्माणभन्दा पर गएर नेपालका संस्थागत क्षमता, जनशक्ति, अनुसन्धान, प्रविधि र सेवा प्रवाहको गुणस्तर सुधार गर्ने सम्भावना बोकेका छन्

यी हुन् नेपाल र भारतबीच हस्ताक्षर भएका आठ समझदारी

समझदारीलाई हेर्दा सहकार्यको दायरा परम्परागत पूर्वाधार र आर्थिक सहयोगमा मात्र सीमित नरहेको देखिन्छ। प्रहरी अनुसन्धान, सुरक्षा प्रशिक्षण, निजामती प्रशासन, स्वास्थ्य, परम्परागत चिकित्सा, अन्तरिक्ष प्रविधि, सहरी विकास तथा कृषि उत्पादनका क्षेत्रमा समेत सहकार्य विस्तार गर्ने लक्ष्य साझेदारीले राखेको देखिन्छ।

१.  फरेन्सिक विज्ञान र अपराध अनुसन्धानमा आधुनिकता

भारतको गुजरातस्थित गान्धीनगरमा रहेको राष्ट्रिय फरेन्सिक विज्ञान विश्वविद्यालय र नेपाल प्रहरीको अपराध अनुसन्धान विभागबीच शैक्षिक तथा अनुसन्धान सहकार्य गर्ने समझदारी भएको छ।अपराध अनुसन्धानमा वैज्ञानिक प्रमाणको भूमिका दिनप्रतिदिन महत्वपूर्ण बन्दै गएको छ। परम्परागत अनुसन्धान विधिबाट मात्रै जटिल तथा प्रविधिमा आधारित अपराधको तथ्य पत्ता लगाउन कठिन हुँदै गएको अवस्थामा फरेन्सिक विज्ञानको प्रयोग प्रभावकारी विकल्प बन्न सक्छ। यस सहकार्यले नेपाल प्रहरीका अनुसन्धानकर्तालाई आधुनिक फरेन्सिक प्रविधि, वैज्ञानिक परीक्षण, प्रमाण संकलन तथा विश्लेषणसम्बन्धी ज्ञान र सीप हासिल गर्ने अवसर दिन सक्छ। विशेषगरी डिजिटल अपराध, डीएनए परीक्षण, साइबर अपराध तथा घटनास्थलबाट प्राप्त प्रमाणको वैज्ञानिक विश्लेषणमा यस्तो सहकार्य उपयोगी हुन सक्छ। यसको दीर्घकालीन उपलब्धि अपराध अनुसन्धानलाई अनुमान र बयानमा मात्र निर्भर नराखी वैज्ञानिक प्रमाणमा आधारित बनाउनु हुनेछ। यद्यपि त्यसका लागि नेपालमा आवश्यक प्रयोगशाला, उपकरण, दक्ष जनशक्ति र संस्थागत लगानी पनि उत्तिकै आवश्यक हुनेछ।

२. सुरक्षा तथा प्रहरी प्रतिष्ठानबीच सहकार्य

भारतको राष्ट्रिय रक्षा विश्वविद्यालय (आरआरयू) र नेपालको राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानबीच सुरक्षा तथा प्रहरी प्रशिक्षणमा सहकार्य गर्ने समझदारी भएको छ। बदलिँदो सुरक्षा चुनौतीसँगै प्रहरी संगठनको भूमिका पनि विस्तार भइरहेको छ। संगठित अपराध, साइबर सुरक्षा, सीमा अपराध, आतंकवाद, भीड व्यवस्थापन तथा आन्तरिक सुरक्षाका चुनौती सामना गर्न प्रहरी जनशक्ति निरन्तर दक्ष र प्रविधिमैत्री हुनुपर्ने आवश्यकता छ। दुई संस्थाबीचको सहकार्यले प्रशिक्षण पद्धति आधुनिकीकरण, प्रशिक्षकको क्षमता अभिवृद्धि, अनुसन्धान तथा सुरक्षा व्यवस्थापनसम्बन्धी ज्ञान आदानप्रदान र नयाँ सुरक्षा चुनौतीसँग जुध्ने दक्षता विकासमा सहयोग पुर्‍याउन सक्छ। यसले नेपालको सुरक्षा संयन्त्रलाई संस्थागत रूपमा बलियो बनाउने सम्भावना राख्छ।

३. निजामती कर्मचारीको क्षमता अभिवृद्धि गर्न तालिम

भारतको राष्ट्रिय सुशासन केन्द्र र नेपालको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गतको नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानबीच नेपाली निजामती कर्मचारीको क्षमता अभिवृद्धिका लागि तालिम कार्यक्रम सञ्चालन गर्ने समझदारी भएको छ। सुशासन र प्रभावकारी सार्वजनिक सेवा प्रवाह कुनै पनि देशको विकासको आधार हो। नेपालमा संघीय शासन प्रणाली कार्यान्वयनसँगै तीन तहका सरकारबीच समन्वय, प्रशासनिक दक्षता, नीतिगत कार्यान्वयन र सेवा प्रवाहमा थप सुधारको आवश्यकता देखिँदै आएको छ।भारतसँगको यो सहकार्यले नेपाली कर्मचारीलाई सार्वजनिक प्रशासन, नेतृत्व विकास, नीति निर्माण, डिजिटल सुशासन, सेवा व्यवस्थापन तथा संस्थागत सुधारका विषयमा नयाँ अनुभव हासिल गर्ने अवसर दिन सक्छ।

४. आयुर्वेद र परम्परागत चिकित्साको सम्भावना विस्तार गरिने

नेपाल र भारतबीच आयुर्वेद तथा अन्य परम्परागत चिकित्सा प्रणालीको क्षेत्रमा सहकार्य गर्ने समझदारी भएको छ। नेपाल र भारत दुवै देशमा आयुर्वेद, योग तथा परम्परागत उपचार पद्धतिको लामो इतिहास र सामाजिक स्वीकार्यता छ। तर यी क्षेत्रको वैज्ञानिक अनुसन्धान, औषधिको गुणस्तर, उत्पादन प्रविधि, मानकीकरण र अन्तर्राष्ट्रिय बजार विस्तारमा अझै धेरै काम गर्न बाँकी छ। दुई देशबीचको सहकार्यले औषधिजन्य वनस्पतिको अनुसन्धान, आयुर्वेदिक औषधिको गुणस्तर परीक्षण, चिकित्सक तथा अनुसन्धानकर्ताको क्षमता विकास र परम्परागत उपचार विधिको वैज्ञानिक प्रमाणीकरणमा सहयोग पुर्‍याउन सक्छ। नेपालका हिमाली तथा पहाडी क्षेत्रमा पाइने जडीबुटी र औषधिजन्य वनस्पतिलाई अनुसन्धान तथा व्यावसायिक उत्पादनसँग जोड्न सके यसले कृषि, उद्योग, रोजगारी र निर्यात व्यापारमा समेत योगदान दिन सक्छ।

५.स्याटेलाइट सञ्चार नेटवर्क स्थापना

भारतको अन्तरिक्ष अनुसन्धान संगठन (इसरो) र नेपाल सरकारको सूचना तथा सञ्चार मन्त्रालयबीच दक्षिण एसिया स्याटेलाइटको उपयोगका लागि स्याटेलाइट सञ्चार नेटवर्क स्थापना गर्ने समझदारी भएको छ।भौगोलिक विकटता नेपालको सञ्चार पूर्वाधार विकासको प्रमुख चुनौतीमध्ये एक हो। हिमाली तथा दुर्गम क्षेत्रका बस्तीमा गुणस्तरीय सञ्चार सेवा पुर्‍याउन परम्परागत दूरसञ्चार पूर्वाधार विस्तार महँगो र कठिन हुने गरेको छ। स्याटेलाइट सञ्चार नेटवर्कको उपयोगले यस्ता क्षेत्रमा सञ्चार पहुँच विस्तार गर्न, सरकारी सेवा प्रवाहलाई डिजिटल बनाउन तथा विपद्का समयमा वैकल्पिक सञ्चार प्रणाली उपलब्ध गराउन सहयोग पुर्‍याउन सक्छ। विशेषगरी भूकम्प, बाढीपहिरो तथा अन्य प्राकृतिक विपद्का बेला स्थलीय सञ्चार सञ्जाल अवरुद्ध हुँदा स्याटेलाइटमा आधारित सञ्चार प्रणाली महत्वपूर्ण बन्न सक्छ ।

६. दिगो सहरी विकास : अव्यवस्थित सहरीकरणको चुनौती सम्बोधन गर्ने अवसर

नेपाल र भारतबीच दिगो सहरी विकासका क्षेत्रमा प्राविधिक सहकार्य गर्ने समझदारी पनि भएको छ।
नेपालका प्रमुख सहरहरू तीव्र सहरीकरणको दबाबमा छन्।अव्यवस्थित बस्ती विस्तार, कमजोर ढल तथा फोहोर व्यवस्थापन, ट्राफिक जाम, वायु प्रदूषण, अपर्याप्त खानेपानी र जलवायु परिवर्तनका जोखिम सहरी विकासका प्रमुख चुनौती बनेका छन्।यस सन्दर्भमा भारतसँगको प्राविधिक सहकार्यले सहरी योजना निर्माण, पूर्वाधार व्यवस्थापन, फोहोर प्रशोधन, ढल निकास, सार्वजनिक यातायात तथा वातावरणमैत्री सहर विकासमा सहयोग पुर्‍याउन सक्छ।

७. स्वास्थ्य तथा चिकित्सा क्षेत्रमा सहकार्य

भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालय र नेपाल सरकारको स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालयबीच स्वास्थ्य तथा चिकित्साको क्षेत्रमा सहकार्य गर्ने समझदारी भएको छ। नेपालको स्वास्थ्य प्रणालीमा विशेषज्ञ जनशक्तिको अभाव, गुणस्तरीय स्वास्थ्य सेवामा असमान पहुँच, आधुनिक उपचार प्रविधिको आवश्यकता तथा स्वास्थ्य अनुसन्धानको सीमितता प्रमुख चुनौतीका रूपमा रहेका छन्।भारतसँगको सहकार्यले चिकित्सक तथा स्वास्थ्यकर्मीको क्षमता विकास, स्वास्थ्य अनुसन्धान, चिकित्सा प्रविधि, रोग नियन्त्रण र स्वास्थ्य सेवा व्यवस्थापनमा ज्ञान तथा अनुभव आदानप्रदानको अवसर सिर्जना गर्न सक्छ।विशेषगरी विशेषज्ञ उपचार, चिकित्सा शिक्षा, प्रयोगशाला सेवा तथा स्वास्थ्य संस्थाको प्राविधिक क्षमता अभिवृद्धिमा सहकार्य विस्तार गर्न सकिएमा यसको लाभ सर्वसाधारणसम्म पुग्न सक्छ। नेपालका लागि महत्वपूर्ण विषय भनेको यस्तो सहकार्यलाई उपचारका लागि विदेश जानुपर्ने बाध्यता घटाउने र स्वदेशमै गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने दिशामा उपयोग गर्नु हो।

८.पशुपालन तथा मत्स्यपालन उत्पादन विकास

नेपाल र भारतबीच पशुपालन तथा मत्स्यपालन क्षेत्रको विकासका लागि पनि समझदारी भएको छ। नेपालको कृषि अर्थतन्त्रमा पशुपालन र मत्स्यपालनको महत्वपूर्ण योगदान छ। तर परम्परागत उत्पादन प्रणाली, उन्नत प्रविधिको अभाव, रोग नियन्त्रणमा चुनौती, गुणस्तरीय दाना तथा प्रजनन व्यवस्थापनको सीमितता र बजारसम्मको पहुँच कमजोर हुँदा यी क्षेत्रको सम्भावना पूर्ण रूपमा उपयोग हुन सकेको छैन। भारतसँगको सहकार्यले उन्नत पशु नश्ल, पशु स्वास्थ्य सेवा, रोग नियन्त्रण, मत्स्य उत्पादन प्रविधि, अनुसन्धान, तालिम तथा व्यावसायिक उत्पादन प्रणाली विकासमा सहयोग गर्न सक्छ।

आठ समझदारीबाहेक भारतका प्रमुख घोषणा र परियोजना

२ खर्ब ४० अर्ब रुपैयाँको विकास सहायता

गत अगस्टमा नेपालमा आएको बाढीपहिरोबाट भएको क्षतिको पुनर्निर्माण तथा प्रभावित परिवारको जीवनस्तर सुधारका लागि भारतले २४ हजार करोड भारतीय रुपैयाँ बराबरको विकास सहायता प्याकेज घोषणा गरेको छ। विपद् प्रभावित क्षेत्रको पुनर्निर्माणसँगै भविष्यमा यस्ता विपद् सामना गर्ने क्षमता अभिवृद्धि गर्नु यसको उद्देश्य रहेको बताइएको छ।

तेस्रो मुलुकसँगको व्यापारका लागि थप दुई बन्दरगाह

नेपालले अब भारतको ओडिशास्थित पारादीप र गुजरातस्थित काण्डला बन्दरगाह प्रयोग गर्न पाउने भएको छ। यसअघि नेपालले कोलकाता, हल्दिया र विशाखापट्टनम बन्दरगाह प्रयोग गर्दै आएको थियो।नेपालले यसअघि धाम्रा र मुन्द्रा बन्दरगाह प्रयोग गर्न माग गर्दै आएको भए पनि यसपटक पारादीप र काण्डलामा पहुँच उपलब्ध गराउने सहमति भएको हो। नयाँ बन्दरगाहको पहुँचले नेपालको आयात–निर्यातका लागि वैकल्पिक मार्ग थपिने र पारवहनमा निर्भरता घटाउने सम्भावना छ।

अयोध्या–जनकपुर रेल सेवा र सीमा पूर्वाधार

धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप मजबुत बनाउन अयोध्या र जनकपुर जोड्ने ‘सरयू–कमला एक्सप्रेस’ रेल सेवा सुरु गरिएको घोषणा गरिएको छ। यसले दुई देशबीच धार्मिक पर्यटन र जनस्तरको सम्बन्ध विस्तार गर्ने अपेक्षा गरिएको छ। त्यस्तै, उत्तराखण्ड र नेपालबीचको धार्चुला सडक पुल उद्घाटन तथा बनबासामा एकीकृत जाँच चौकी (आईसीपी) को शिलान्यास गरिएको छ। दोधारा–चाँदनी आईसीपी तथा नेपाल–भारत सीमा जोड्ने सडक र रेल पूर्वाधारलाई पनि गति दिने प्रतिबद्धता व्यक्त गरिएको छ।

जलविद्युत् र पेट्रोलियम पूर्वाधार

नेपालको जलविद्युत् उत्पादन क्षमता विस्तार गर्ने उद्देश्यले तल्लो अरुण जलविद्युत् आयोजनाको शिलान्यास गरिएको छ। अरुण तेस्रो आयोजना समयमै सम्पन्न गर्ने प्रतिबद्धता पनि भारतले जनाएको छ।यसैगरी, मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरणको उद्घाटन तथा झापामा ग्रिनफिल्ड पेट्रोलियम टर्मिनलको शिलान्यास गरिएको छ। यी परियोजनाले नेपालमा इन्धन आपूर्ति प्रणालीलाई थप व्यवस्थित र सुरक्षित बनाउने अपेक्षा गरिएको छ।

आईआईटी क्याम्पस, स्टार्टअप र कृषि–औद्योगिक पार्क

नेपालमै भारतीय प्रविधि संस्थान (आईआईटी) को विदेशी क्याम्पस स्थापना गर्ने, स्टार्टअप इन्क्युबेटर र इनोभेसन हब विकास गर्ने घोषणा गरिएको छ। त्यस्तै, नेपाली विद्यार्थीलाई कानुन र प्रविधि विषयमा छात्रवृत्तिको अवसर विस्तार गर्ने तथा खाद्य प्रशोधन र कृषि उत्पादनको मूल्य अभिवृद्धिका लागि कृषि–औद्योगिक पार्क विकासमा सहयोग गर्ने भारतले जनाएको छ।

क्रिकेट, सिर्जनात्मक क्षेत्र र संयुक्त दृष्टिकोण पत्र

नेपालमा क्रिकेट पूर्वाधार निर्माण र खेलाडीको प्रशिक्षणमा भारतले सहयोग विस्तार गर्ने भएको छ। साथै, आगामी वेभ्स समिटमा नेपाली युवा सिर्जनाकर्ताको ठूलो प्रतिनिधिमण्डललाई सहभागी गराउने घोषणा गरिएको छ। दुवै देशले ‘विकसित भारत’ र ‘समुन्नत नेपाल’ को साझा लक्ष्यलाई अघि बढाउने उद्देश्यसहित संयुक्त दृष्टिकोण पत्रसमेत जारी गरेका छन्।

समझदारीको वास्तविक उपलब्धि कार्यान्वयनमा निर्भर

प्रधानमन्त्री शाहको भारत भ्रमणका क्रममा भएका विभिन्न पूर्वाधार निर्माण तथा विकासको घोषणा र आठ समझदारीलाई समग्रमा हेर्दा नेपाल–भारत सम्बन्धलाई परम्परागत सहायता र पूर्वाधार सहकार्यबाट संस्थागत, प्राविधिक र उत्पादनमुखी साझेदारीतर्फ विस्तार गर्ने प्रयास भएको देखिन्छ।आठ समझदारीमध्ये फरेन्सिक अनुसन्धान, सुरक्षा प्रशिक्षण र निजामती प्रशासनसम्बन्धी सहकार्यले राज्यका संस्थागत क्षमता बलियो बनाउन सक्छन्। स्वास्थ्य र आयुर्वेद क्षेत्रका समझदारीले सेवा तथा अनुसन्धानको गुणस्तर सुधार गर्ने अवसर दिने अपेक्षा गर्न सकिन्छ। त्यस्तै, स्याटेलाइट सञ्चार र दिगो सहरी विकासले प्रविधि तथा पूर्वाधारमा दीर्घकालीन परिवर्तनको सम्भावना बोकेका छन्। पशुपालन र मत्स्यपालनसम्बन्धी सहकार्यले भने ग्रामीण अर्थतन्त्र र उत्पादन प्रणालीलाई प्रत्यक्ष लाभ पुर्‍याउन सक्छ।तर, समझदारीपत्रमा हस्ताक्षर हुनु र त्यसबाट वास्तविक लाभ पाउनु फरक विषय हुन्। विगतमा पनि नेपाल र भारतबीच थुप्रै परियोजना तथा सहकार्यका घोषणा भएका छन्, तर कतिपयको कार्यान्वयनमा ढिलाइ र समन्वयको समस्या देखिँदै आएको छ।

नेपालले आफ्नो राष्ट्रिय हित, आवश्यकता र प्राथमिकतालाई केन्द्रमा राखेर यी सहकार्यको उपयोग गर्न सकेमा भारतको सहयोग घोषणाले तत्कालीन परियोजनाभन्दा पर पुगेर दीर्घकालीन आर्थिक तथा संस्थागत रूपान्तरणमा योगदान दिन सक्छ। अन्ततः यी घोषणा र सहकार्य गर्ने समझदारीको सफलता घोषणाको संख्या वा रकमले होइन, ती प्रतिबद्धता कति प्रभावकारी रूपमा कार्यान्वयन हुन्छन् र त्यसको लाभ नागरिकले कति पाउँछन् भन्ने कुराले निर्धारण गर्नेछ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement

Powered By: Nectar Digit