प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) को भारत भ्रमण नेपालका लागि आर्थिक सहायता प्राप्त गर्ने औपचारिक कूटनीतिक भ्रमणमा मात्र सीमित रहेन। लामो समयदेखि अड्किएका पूर्वाधारका मुद्दामा सहमति जुटाउने, ऊर्जा व्यापार र लगानीको सम्भावना विस्तार गर्ने तथा दुई देशबीचको आर्थिक अन्तरनिर्भरतालाई नयाँ उचाइमा पुर्याउने दृष्टिले भ्रमण महत्त्वपूर्ण देखिएको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बालेनको नेतृत्व र दूरदर्शिताको प्रशंसा गर्दै २ खर्ब ४० अर्ब रुपैयाँ बराबरको विकास सहायता घोषणा गर्नुले भ्रमणलाई थप अर्थपूर्ण बनाएको छ।
अर्थ प्राप्तिको हिसाबले भन्दा भ्रमणको सबैभन्दा ठूलो आर्थिक उपलब्धि भारतले घोषणा गरेको १५ हजार करोड भारतीय रुपैयाँ अर्थात् २ खर्ब ४० अर्ब नेपाली रुपैयाँ बराबरको विकास सहायता हो। यसमध्ये ५६ अर्ब नेपाली रुपैयाँ अनुदान र १ खर्ब ८४ अर्ब नेपाली रुपैयाँ बराबरको ऋण सुविधा उपलब्ध गराइनेछ। नेपालले भारतसँग १ खर्ब रुपैयाँ अनुदान र थप १ खर्ब रुपैयाँ ऋण सहयोग माग गरेको थियो। तर भारतले अनुदानको हिस्सा मागभन्दा कम राख्दै कुल सहायता रकम भने बढाएर दिने घोषणा गरेको छ।
यसले भारतको सहयोगको प्राथमिकता पुनर्निर्माण र सामान्य पूर्वाधार अनुदानमा मात्र नभई विशेषगरी ऊर्जा क्षेत्रमा ठूलो लगानी परिचालन गर्ने दिशामा रहेको देखाउँछ। ऋण सुविधाअन्तर्गत सञ्चालन हुने परियोजनाले नेपालको ऊर्जा उत्पादन र पूर्वाधार विस्तारमा योगदान पुर्याउन सक्छन्। यद्यपि, ऋणको लागत, सर्त, परियोजनाको प्रतिफल र भुक्तानी क्षमताको मूल्यांकन नेपालको आर्थिक हितका लागि उत्तिकै महत्त्वपूर्ण हुनेछ। यो सहायता परिचालन गर्ने प्रक्रिया र त्यसअन्तर्गतका परियोजना नेपाल र भारतबीचको आपसी परामर्शबाट टुंग्याइनेछ। तर, राजनीतिक अस्थिरताको कारण लामो समयदेखि भारतले नेपालप्रति गर्दै आएको अविस्वासको वातावरण भने अब सहज हुनेगरी सन्देश मोदीले दिएका छन् । मोदीले बालेनको नेतृत्व र स्पष्ट भिजनको प्रशंसा गर्दै दिएको राजनीतिक सन्देश र विकास सहायता घोषणाले भारत नयाँ नेपाली नेतृत्वसँग सहकार्य गर्न तयार रहेको देखाएको छ। दुई प्रधानमन्त्रीबीचको ‘वान टु वान’ भेटवार्ता र प्रधानमन्त्री मोदीले बालेनसामु गरेको उनको प्रशंसाले मोदीले बालेन सरकारप्रति भरोसा गरेको बुझिन्छ । प्रशंसामार्फत विश्वासको सन्देश दिएका छन् भने मोदीले आर्थिक प्याकेजमार्फत सहकार्यको संकेत गरेका छन् ।
भ्रमणको अर्को महत्त्वपूर्ण पक्ष ऊर्जा पूर्वाधार र जलस्रोतको उपयोगमा देखिएको सहमति हो। दुवै प्रधानमन्त्रीले ६६९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत् आयोजनासहित ५ वटा विकास परियोजनाको संयुक्त रूपमा शिलान्यास गरेका छन् । संखुवासभा र भोजपुर जिल्लामा निर्माण हुन लागेको तल्लो अरुणको अनुमानित निर्माण लागत ९२ अर्ब ६८ करोड रुपैयाँ रहेको छ। त्यस्तै, लामो समयदेखि अन्योलमा रहेको पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) शीघ्र अन्तिम रूप दिएर कार्यान्वयन अघि बढाउन सम्बन्धित निकायलाई निर्देशन दिइएको छ। सन् १९९६ को महाकाली सन्धिअन्तर्गत परिकल्पना गरिएको करिब ६ हजार ४८० मेगावाट क्षमताको पञ्चेश्वर आयोजना पानीको बाँडफाँट र लागत–लाभको हिस्सासम्बन्धी विवादका कारण झन्डै तीन दशकदेखि अघि बढ्न सकेको छैन। यसपटक उच्च राजनीतिक तहबाट डीपीआर टुंग्याउन दिइएको निर्देशनले आयोजना अघि बढ्ने अपेक्षा जगाएको छ।
त्यसैगरी, सप्तकोशी र सुनकोशी बहुउद्देश्यीय आयोजनाको डीपीआर अध्ययनलाई तीव्रता दिने सहमति पनि भएको छ। यी आयोजनाहरू विद्युत् उत्पादनसँगै सिँचाइ, जलस्रोत व्यवस्थापन र बाढी नियन्त्रणका दृष्टिले महत्त्वपूर्ण छन्। नेपालका जलस्रोतलाई उत्पादन र आम्दानीको आधार बनाउने तथा भारतको विशाल ऊर्जा बजारमा विद्युत् निर्यात गर्ने सम्भावनालाई यसले थप बल पुर्याउन सक्छ। भारतले नेपालबाट विद्युत् आयात गर्ने र नेपाली जलविद्युत् परियोजनामा लगानी गर्ने नीतिलाई निरन्तरता दिएमा ऊर्जा क्षेत्र दुई देशको आर्थिक साझेदारीको सबैभन्दा बलियो आधार बन्न सक्छ। तर, त्यसका लागि आयोजनाको निर्माण, प्रसारण लाइन, बजार सुनिश्चितता र विद्युत् व्यापारका सर्तमा स्पष्टता आवश्यक हुनेछ।
भ्रमणको अर्को उल्लेखनीय उपलब्धि लामो समयदेखि नेपालले उठाउँदै आएको अन्तर्राष्ट्रिय हवाई प्रवेश मार्गको विषयमा भएको सहमति हो। संयुक्त वक्तव्यअनुसार हाल एकतर्फी रूपमा सञ्चालनमा रहेको ‘बी३४५’ काठमाडौं–भैरहवा–लखनऊ हवाई मार्गलाई दुईतर्फी बनाउने कार्यविधि अन्तिम रूप दिन दुवै देशबीच प्राविधिक परामर्श गरिनेछ। सन् २००९ देखि नै नेपालले भारतसँग थप हवाई प्रवेश मार्गको माग गर्दै आएको थियो। तर, लामो समयसम्म सहमति नजुट्दा गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको व्यावसायिक सञ्चालनमा समेत चुनौती रहँदै आएको छ। भैरहवा हुँदै दुईतर्फी उडान सञ्चालनको बाटो खुलेमा पश्चिमबाट आउने र जाने अन्तर्राष्ट्रिय उडानका लागि सहजता थपिनेछ। यसले उडान दूरी, समय र इन्धन खर्च घटाउनुका साथै भैरहवा विमानस्थलको व्यावसायिक सम्भावना विस्तार गर्न सक्छ।
त्यस्तै, भारतको सहयोगमा निर्माणाधीन मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरणको उद्घाटन र झापामा नयाँ पेट्रोलियम टर्मिनलको शिलान्यास गरिएको छ। यसले नेपालमा पेट्रोलियम पदार्थको ढुवानी, भण्डारण र आपूर्ति प्रणालीलाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ। विशेषगरी, भारतबाट ट्यांकरमार्फत हुने ढुवानीमा निर्भरता घटाउँदै पाइपलाइनमार्फत इन्धन आपूर्ति विस्तार गर्न सकिनेछ। यातायात तथा व्यापारिक सम्पर्क विस्तारका लागि धार्चुला सडक पुलको उद्घाटन, वनबासा एकीकृत जाँच चौकीको शिलान्यास र दोधारा–चाँदनी एकीकृत जाँच चौकीको काम अघि बढाउने सहमति पनि भएको छ। नेपाललाई भारतका काण्डला र पारादीप बन्दरगाहसम्म पारवहन पहुँच उपलब्ध गराउने मोदीको घोषणा पनि महत्त्वपूर्ण छ। धार्मिक पर्यटन र जनस्तरको आवागमनलाई समेत ध्यानमा राखेर सुरु गरिएको सरयू–कमला एक्सप्रेस रेल सेवाले अयोध्या र जनकपुरबीचको सम्पर्कलाई सहज बनाउने अपेक्षा गरिएको छ। यी पहलले नेपाल–भारत सम्बन्धलाई सडक, रेल, हवाई, ऊर्जा र व्यापारिक पूर्वाधारमार्फत थप जोड्ने आधार तयार गरेका छन्।
बालेनको प्रशंसा र मोदीको बदलिँदो कूटनीतिक सन्देश
आर्थिक तथा पूर्वाधारसम्बन्धी उपलब्धिभन्दा पनि यस भ्रमणमा भारतीय प्रधानमन्त्री मोदीले समक्षी बालेनको नेतृत्वप्रति व्यक्त गरेको विस्वाससहितको प्रशंसाले विशेष राजनीतिक अर्थ राख्छ। मोदीले बालेनलाई नेपालका सबैभन्दा युवा प्रधानमन्त्रीका रूपमा मात्र प्रस्तुत गरेनन्, केही महिनाअघि संयुक्त राष्ट्रसंघमा गरेको सम्बोधनबाट उनको दूरदर्शिताको झलक पाएको र पछिल्लो द्विपक्षीय छलफलमा नेपालको भविष्य तथा भारत–नेपाल सम्बन्धप्रति उनको स्पष्ट दृष्टिकोण र प्रतिबद्धता महसुस गरेको बताए।‘नेपालको प्रधानमन्त्री बनेपछि आफ्नो पहिलो द्विपक्षीय भ्रमणमा भारत आउनुभएका प्रधानमन्त्री बालेन्द्र शाहजीलाई भारतमा स्वागत गर्न पाउँदा मलाई अत्यन्तै खुसी लागेको छ। केही महिनाअघि उहाँले विश्वकै सबैभन्दा युवा प्रधानमन्त्रीका रूपमा संयुक्त राष्ट्रसंघ (यूएन) लाई सम्बोधन गर्दा हामीले उहाँको दूरदर्शिताको स्पष्ट झलक देखेका थियौँ,’ मोदीले भनेका छन्, ‘आज पछिल्ला केही घण्टाको कुराकानीका क्रममा मैले नेपालको भविष्य र भारत–नेपाल सम्बन्धप्रति उहाँको स्पष्ट दृष्टिकोण र प्रतिबद्धता महसुस गरेको छु।’
त्यसैगरी, नेपाली जनताले बालेनलाई दिएको ऐतिहासिक जनादेशलाई नेपालको नयाँ पुस्ताको आकांक्षा र अपेक्षाको प्रतिबिम्बका रूपमा व्याख्या गरे। यो प्रशंसा औपचारिक कूटनीतिक शिष्टाचारमा मात्र सीमित छैन। नेपालमा नयाँ राजनीतिक नेतृत्व स्थापित भएको अवस्थामा भारतले त्यसलाई स्वीकार गर्दै सहकार्यको सम्बन्ध अघि बढाउन चाहेको सन्देश यसले दिन्छ। विशेषगरी, नेपालको नयाँ पुस्ताको जनादेशलाई मोदीले सम्बोधन गर्नुले भारतले नेपालको बदलिँदो राजनीतिक र सामाजिक मनोविज्ञानलाई बुझ्न खोजेको संकेत गर्छ। मोदीले बालेनको प्रशंसा गरेलगत्तै ठूलो विकास सहायता घोषणा गर्नुले राजनीतिक विश्वास र आर्थिक साझेदारीलाई एकैसाथ अघि बढाउन खोजेको देखिन्छ। नयाँ नेतृत्वसँगको सम्बन्धलाई व्यक्तिगत तहको सद्भावमा मात्र नराखी ठोस आर्थिक सहकार्यमा रूपान्तरण गर्ने भारतको चाहना यसमा देखिन्छ।
यसैगरी, मोदीको सम्बोधनमा एउटा अर्को महत्त्वपूर्ण पक्ष पनि छ। उनले भारत–नेपाल सम्बन्धलाई केवल छिमेकी मुलुकबीचको सम्बन्ध नभई आत्मीयता, अटुट विश्वास, साझा इतिहास, संस्कृति र जनस्तरको सम्बन्धका रूपमा खुरेर व्याख्या गरे। राम–सीताको धार्मिक तथा सांस्कृतिक सम्बन्ध, जनकपुर–अयोध्या रेल सम्पर्क, लुम्बिनी–बोधगयालगायतका धार्मिक स्थलबीच सम्पर्क विस्तार र नेपाली विद्यार्थीका लागि छात्रवृत्ति बढाउने घोषणाले यसलाई पुष्टि गर्छन्। हुन त नेपाल–भारत सम्बन्ध जनस्तरकै हो । तर, २०७२ सालमा भारतले नेपालमा लगाएको नाकाबन्दी, सीमा विवाद, नक्साङ्कनलगायतका विषयमा बढेको विवाद, अविस्वास जस्तापक्षले नेपालमा भारतीय प्रधानमन्त्रीको छवि समयक्रमसँगै उतारचढावपूर्ण रहँदै आएको थियो ।
यद्यपी, यसबाट मोदीले नेपालसँगको सम्बन्धलाई केवल सरकार र सरकारबीचको कूटनीतिक सम्बन्धमा सीमित नराखी नागरिकस्तरसम्म विस्तार गर्न चाहेको देखिन्छ। धार्मिक पर्यटन, शिक्षा, खेलकुद, प्रविधि र युवा सिर्जनशीलतामा सहकार्यका विषय उठाउनु यसको उदाहरण हो।
तर, जनस्तरको सम्बन्ध विस्तार गर्ने घोषणा र त्यसको वास्तविक उपलब्धि एउटै कुरा होइनन्। जनकपुर–अयोध्या रेल सेवाले नियमित र सहज आवागमन सुनिश्चित गर्नुपर्छ। सीमावर्ती पूर्वाधारले व्यापारसँगै सर्वसाधारणको आवतजावत सहज बनाउनुपर्छ। विद्यार्थी, व्यवसायी, पर्यटक र उद्यमीले सहकार्यका अवसर प्रत्यक्ष अनुभव गर्न सक्नुपर्छ।
मोदीको सम्बोधनमा नेपालको विकासलाई भारतसँग जोड्ने स्पष्ट आर्थिक दृष्टिकोण पनि देखिन्छ। भारतले नेपालको जलविद्युत् उत्पादनमा लगानी गर्ने, उत्पादित बिजुलीको बजार उपलब्ध गराउने, पारवहन पहुँच विस्तार गर्ने र पूर्वाधारमा सहकार्य गर्ने प्रस्ताव अघि सारेको छ। यसले नेपाललाई भारतको ऊर्जा, व्यापार र आपूर्ति सञ्जालसँग अझ नजिक जोड्नेछ। नेपालका प्रधानमन्त्रीले मोदीसामु उभिएर ‘हामीले आज गरेका समझदारीहरू र अघि बढाएका परियोजनाहरूको प्रतिफल किसानको खेतमा समृद्धिका रूपमा देखिनुपर्छ। युवाको हातमा रोजगारी र अवसरका रूपमा पुग्नुपर्छ। विद्यार्थीका सपना नयाँ सम्भावनाका रूपमा विस्तार हुनुपर्छ र उद्यमीले नयाँ बजार, लगानी तथा व्यावसायिक विस्तारका अवसरका रूपमा अनुभूत गर्न सक्नुपर्छ,’ भनेझै त्यसपछि मात्र सरकारस्तरको सहमति जनस्तरको सम्बन्धमा रूपान्तरण भएको मान्न सकिनेछ।
समग्रमा, बालेनको भारत भ्रमणलाई आर्थिक कूटनीतिको दृष्टिले उपलब्धिमूलक मान्न सकिन्छ। २ खर्ब ४० अर्ब रुपैयाँको विकास सहायता, ऊर्जा तथा जलस्रोतमा सहकार्य, हवाई प्रवेश मार्गको सहमति, पेट्रोलियम पूर्वाधार विस्तार, रेल तथा सडक सम्पर्क र व्यापारिक पारवहनमा भएका निर्णयले नेपाल–भारत सम्बन्धलाई नयाँ आर्थिक आधार दिने सम्भावना छ। मोदीले बालेनको नेतृत्वको प्रशंसा गर्दै दिएको राजनीतिक सन्देश र विकास सहायता घोषणाले भारत नयाँ नेपाली नेतृत्वसँग सहकार्य गर्न तयार रहेको देखाएको छ। तर, भ्रमणको वास्तविक सफलता घोषणाको रकममा होइन, त्यसको परिचालन, लामो समयदेखि रोकिएका आयोजनाको कार्यान्वयन र नेपाली जनताले प्रत्यक्ष अनुभूति गर्ने आर्थिक लाभमा मापन हुनेछ। नेपालका लागि अहिलेको मुख्य चुनौती यही अवसरलाई राष्ट्रिय हितअनुकूल उत्पादन, रोजगारी, व्यापार र दीर्घकालीन समृद्धिमा बदल्नु पनि हो।















प्रतिक्रिया दिनुहोस्